जेठ २७, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण गहुँको पिठो (आटा) मा किलोको ६ रुपैयाँसम्म बढ्न सक्ने व्यवसायीले बताएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि आटामा कर लाग्ने गरी बजेट ल्याएपछि स्वदेशी उद्योगले मूल्य वृद्धि गर्न बाध्य भएको नेपाल मैदा उद्योग संघले जनाएको छ।
सरकारले नयाँ बजेटमार्फत ल्याएको उक्त नीतिका कारण आमउपभोक्तामा सिधै असर पर्ने भएकाले यसमा पुनर्विचार गर्न संघले अनुरोधसमेत गरेको छ। कर लगाएका कारण मुलुकभर सञ्चालनमा रहेका उद्योग जोखिममा परेको व्यापारीहरुको भनाई छ।
मुलुकमा वर्षेनि भारतबाट बैध तथा अबैध मैदा र आटा भित्रिरहेकाले स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्नसमेत नसक्ने परिस्थिति सिर्जना भएको संघले जनाएको छ। भारतीय आटामा जिएसटी नलाग्ने हुँदा अहिले पनि नेपालीभन्दा भारतीय मैदा धेरै सस्तो छ।
भारतीय सीमा क्षेत्रमा नेपाली बजार लक्ष्य गरी खोलिएका अत्याधुनिक ठूला मैदा मिललाई नेपाल सरकारको यो निर्णयले धेरै फाइदा पुगेको छ। तराईमा भारतीय मैदा÷आटा बिक्री हुन थालिसकेको संघले जनाएको छ।
हाल मुलुकमा अर्बौं लगानीमा ३८ मैदा उद्योग सचालित छन्। मूल्य वृद्धि हुँदा भारत लगायतबाट आयात हुने मैदासँग प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरूको ठहर छ।
‘सरकारी नीतिका कारण केही वर्षमा खाद्य–उद्योग धमाधम बन्द गर्नुको विकल्प छैन,’ संघले जारी गरेको विज्ञप्तिमा छ, ‘करोडौंको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनुभन्दा ट्रेड व्यापारले प्रोत्साहन पाउने भएको छ।’
करको भार सिधै उपभोक्तामा पर्ने हुँदा बेलैमा सोच्न सरकारलाई संघले आग्रह गरेको छ। विगतमा सरकारले भ्याट छुट दिएकै कारण आत्मनिर्भर भएकोे भन्दै अहिले आटामा समेत कर लगाएकाले उद्योग पुनः समस्यामा पर्ने संघले जनाएको छ।