काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ।
हिमालयन एयरलाइन्सको विमानमार्फत राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ अवतरण गर्नुभएको हो। यसअघि उहाँलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय साँझ ६ बजे उच्चस्तरीय सम्मानसहित बिदाइ गरिएको थियो।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा १४ भदौमा चीन प्रस्थान गर्नुभएको थियो। उहाँले चीनको तियानजिनमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो भने मंगलबार बेइजिङमा उपराष्ट्रपति हान झेङसँग भेट गर्नुभएको थियो।
भ्रमणको मुख्य उद्देश्यका रूपमा प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाउनुभएको थियो। सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बहुपक्षीयता, आपसी सहयोग र क्षेत्रीय शान्ति स्थापनामा नेपालले निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सन् २००१ मा स्थापना भएको एससिओ अहिले विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक मानिन्छ। यसमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स यस संगठनका संवाद साझेदार ९डायलग पार्टनर० हुन्।
शिखर सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब २५ मिनेट लामो भेटवार्ता गर्नुभएको थियो। भेटमा दुबै नेताले एकअर्कालाई भ्रमणको निम्तो आदान–प्रदान गर्नुभएको थियो। यस्तै उहाँले भारतका प्रधानमन्त्री नरेद्र मोदी, मालदिभ्सका राष्ट्रपति, कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी तथा पत्रकारसहित २३ सदस्यीय प्रतिनिधि मण्डल सहभागी थियो।
ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री आरजु देउवा राणा लगायतले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।


