काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ देखि १८ गतेसम्म (अगस्ट ३० देखि सेप्टेम्बर ३) चीन भ्रमणमा हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा चीनको थियानजिन शहरमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनुभयो। सो क्रममा नेपाललाई पूर्ण सदस्यका रूपमा समावेश गर्नुपर्ने धारणा राख्दै उहाँले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन र दिगो विकासका विषयमा सम्बोधन गर्नुभएको प्रधानमन्त्री स्वदेश फर्कनु भएपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित समस्या रहित सम्बन्धलाई अझ सुदृढ बनाउन चर्चा गर्नुभयो। उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू छिट्टै कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तन तथा जनस्तरको सम्बन्धमा सहयोगका लागि आग्रह गर्नुभयो। साथै, भारत–चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने समझदारीमा असन्तुष्टि जनाउँदै उक्त सम्झौता कार्यान्वयन नगर्न चीनलाई आग्रह गर्नुभएको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीन सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालसँग बीआरआई परियोजनामार्फत विकासमा सहकार्य गर्ने र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई निरन्तरता दिने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एससीओ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, लाओसका राष्ट्रपति थोंग्लुन सिसौलिथ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। ती भेटवार्तामा द्विपक्षीय सहयोग, व्यापार, लगानी, शिक्षा, पर्यटन, संस्कृति तथा जलवायु परिवर्तनका मुद्दाहरूमा सहकार्य गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थियानजिनस्थित धान उत्पादन क्षेत्र तथा ऐतिहासिक संग्रहालयहरूको अवलोकन गर्नुभयो। उहाँले बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग पनि भेटवार्ता गर्नुभयो र उपराष्ट्रपतिले उहाँको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको थियो।
यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ (भदौ १८) मा बेइजिङमा चीन सरकारद्वारा आयोजित ‘जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवादविरुद्धको विजयको ८०औं वार्षिकोत्सव समारोह’ मा समेत सहभागिता जनाउनुभयो।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्मा, आर्थिक सल्लाहकार युवराज खतिवडा लगायतको टोली सहभागी थियो।
नेपाल सरकारद्वारा जारी विज्ञप्तिमा भ्रमण सफल तथा सार्थक भएको उल्लेख गर्दै चीन सरकारलाई न्यानो आतिथ्यका लागि धन्यवाद व्यक्त गरिएको छ। साथै, भ्रमणबारे निरन्तर समाचार सम्प्रेषण गरेका सञ्चारकर्मीलाई पनि आभार प्रकट गरिएको छ। 'सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा उहाँले हार्दिक आभार व्यक्त गर्नु भएको छु', प्रेस नोटमा उल्लेख छ ।




