काठमाडौं । मंगलबार बेलुका १० बजेदेखि नेपाली सेना देशभर परिचालन भएको छ।
शान्ति, सुरक्षा कायम गर्न सेनाको टोली ठाउँठाउँमा परिचालन भएको हो।
सेनाले राति १० बजेदेखि शान्ति, सुरक्षा कायम गर्न र नेपाली जनताको रक्षाका लागि खटिने जानकारी केही समयअघि विज्ञप्तिमार्फत दिएको थियो।
'यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।
सोमबारको आन्दोलनमा डेढ दर्जन बढी युवाहरूको ज्यान गएपछि मंगलबार आन्दोलन थप चर्किएको हो।
उक्त आन्दोलनमा शीर्ष नेताहरूको घरदेखि विभिन्न संवैधानिक निकाय, सरकारी कार्यालय, निजी व्यावसायिक भवनहरूसम्म आगजनी र लुटपाट भएको छ।
यस्ता गतिविधि मंगलबार अबेर रातिसम्म पनि रोकिएका थिएनन्।
यी हुन् सेनाले जारी गरेका हटलाइन नम्बर
नेपाली सेनाले दुईवटा हटलाइन नम्बर जारी गरेको छ। मंगलबार राति १० बजेदेखि देशभरि सेना खटिसकेको छ। यसबीच आपराधिक तथा अपराजक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुईवटा हटलाइन नम्बर जारी गरेको हो।
सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
नेपाली सेनाले अहिले देशका विभिन्न स्थानमा अराजक गतिविधि रोक्न चेतावनी दिइसकेको छ। सेनाले अब शान्ति सुरक्षा र जनताको सुरक्षाका लागि खटिने बताएको छ।