काठमाडौं । नेकपा (एमाले)ले जेन जी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने माग गरेको छ ।
पछिल्लो घटना पछि पहिलो पटक औचारिक धारणा सार्वजनिक गर्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
महासचिव शंकर पोखरेलले एक विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । ‘सार्थक संवाद सुरु गर्न एवं परिणामुखी संवादकै माध्यमबाट सुशासन,सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत् रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानआकर्षण गराँउछौं ।’
पोखरेलले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन दिन नहुने बताउनुभएको छ । ‘समस्या समाधानका प्रत्येक प्रयासले लोकतन्त्र थप सुदृढ गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ ’ पोखरेलले लेख्नु भएको छ ‘असामान्य स्थितीको लाभ उठाउँदै देशभरी भइरहेको लुटपाट,आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जीउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अंगहरुलाई आह्वान गर्दछौं ।’
महासचिव शंकर पोखरेलले आन्दोलनका क्रममा १९ जनाको निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले एमाले दुखित भएको भन्दै मृतकप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ‘घटनाको निष्पक्ष छानविन हुनुपर्दछ र दोषी माथी कानुन बमोजिम कारबाही हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ’ पोखरेलले लेख्नु भएको छ ।
महासचिव पोखरेलले पार्टी पंक्तीलाई कतिपनि बिचलित नहुन,एकताबद्ध हुन र भविष्यप्रति आशावादी भएर अगाडी बढ्न आग्रह गर्नुभएको छ । उहाँले एमाले निरङ्कुशतन्त्र,सशस्त्र द्वन्द्व,सामाजिक विद्वेशको चरम अवस्था एवं प्राकृतिक एवं मानव निर्मित विपत्ति जस्ता असामान्य चुनौतिसँग जुभ्mदै र तिनीहरु माथी विजयी हासिल गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउनु भएको छ । उहाँले पार्टी नेता,कार्यकर्ता सबैलाई आपसी सम्पर्कमा रहन,समस्याको सामुहिक समाधानको प्रयास गर्न,प्रशासनसँगको समन्वय सार्वजनिक तथा निजी सम्पतीको रक्षा गर्न,शान्ती सुरक्षा कायम राख्न र जनतालाई परेको पिरमर्कामा आवश्यक राहात प्रदान गर्न आवश्यक समन्वय गर्न पोखरेलले पार्टींपंक्तीलाई निर्देशन गर्नुभएको छ ।
विज्ञप्तीको पूर्ण पाठ
प्रिय कमरेडहरु,
मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ । भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ । मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ । सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।
प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।
यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ । हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ । सङ्कटको यस घडीमा सबै कमरेडहरुलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयाश गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ । समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ । तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गंभीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ ।
प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई हार्दिक आह्वान गर्दछौँ ।
शंकर पोखरेल
महासचिव
प्रदीप ज्ञवाली
उपमहासचिव
२५ भदौ २०८
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १९:१५