काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा कार्यालयको व्यवस्थापन सुरु गरिएको छ ।
सिंहदरबारमा भएको ठूलो आक्रमणपछि नयाँ अन्तरिम प्रधानमन्त्रीका लागि गृह मन्त्रालयको नयाँ भवनमा कार्यालय व्यवस्थापन सुरु गरिएको छ।
गत सोमबार र मंगलबारको प्रदर्शनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार,प्रधानमन्त्री निवास बालुवाटार,शीर्ष नेताहरूका घर,पार्टी कार्यालयहरू र केही निजी सम्पत्तिमा आगजनी एवं तोडफोड गरेका थिए । नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाशीध सुशीला कार्कीको नाम चर्चामा छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारी साधनमा व्यापक क्षति पुर्याइएको छ ।
मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ ? कहाँ ? कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।
अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ । गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ।
प्रधानमन्त्री कार्यालय र हालको गृहमन्त्रालय जलाएर ध्वस्त पारिएपछि अन्तरिम व्यवस्था गर्न लागिएको हो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी गरिएको त्यहाँ पुगेका हाम्रा सहकर्मीले बताएका छन् ।
अहिले यहाँ प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू धमाधम व्यवस्थापन गरिँदैछ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृहमन्त्रालयको भवन बनेको छ।



