काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो ।
उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् ।
प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादीलगायत दलका नेताहरू पनि निर्वाचनप्रति सकारात्मक देखिएका छन् ।
उनीहरूका पछिल्ला वक्तव्य र नेताहरूका अभिव्यक्तिले दलहरू तोकिएकै समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा देखिएको प्रस्टै बुझ्न सकिन्छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार धारणा सार्वजनिक गर्दै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा जिम्मेवार र लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
‘अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ’, महामन्त्री थापाले भनेका छन् ।
एमालेले पनि तोकिएको समयमा निर्वाचन भए सघाउन तयार रहेको जनाएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय अनुगमनपछि महासचिव शंकर पोखरेलले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढेमा सहयोग गर्न तयार रहेको बताए ।
‘यो सरकार अन्तरिम सरकार भएकाले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने काममा सरकारको ध्यान जाओस्’, महासचिव पोखरेलले भने ।
यस्तै नेकपा माओवादी केन्द्र पनि निर्वाचनप्रति सकारात्मक नै देखिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकार बनेको र चुनावको मिति घोषणा भइसकेकाले घोषित मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए ।
‘अन्तरिम सरकार बनिसकेको र चुनावको मिति समेत घोषणा भइसकेको अवस्थामा हामीले अब घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आजको आवश्यकता हो’, श्रेष्ठले भने ।
अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पनि ताजा जनादेशमा जानुपर्ने बताएको छ । समयमै निर्वाचन गरेर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्नेमा रास्वपाको जोड छ ।
रास्वपाका प्रवक्ता मनिष झाले समयमै ताजा जनादेशमा गएर लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउनुपर्ने बताए ।
प्रमुख चार दल लगायतका नेताहरू निर्वाचनप्रति सकारात्मक देखिएपनि उनीहरुले पार्टी बैठकबाट यससम्बन्धी औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ २२:२६