काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि मन्त्रालयमै आवासको व्यवस्थापन गरिएको छ ।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री पुनले आफ्नो लागि मन्त्रालयमै ओछ्यानको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । ‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस्, मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैँ पकाएर खान्छु,’ उनले भनेका थिए ।
मन्त्रीको निर्देशनअनुसार मन्त्रालयमै आवासको व्यवस्था गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । ‘मन्त्रीज्यूले मन्त्रालयमै आवासको व्यवस्था गर्न भन्नुभएको थियो । मन्त्रालयले व्यवस्थापन गरेको छ,’ उनले भने, ‘अब मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुन्छ ।’ उनका अनुसार मन्त्रालयको पहिलो तलामा मन्त्रीकै कार्यकक्षकै छेउमा सुत्ने कोठा तयार गरिएको छ । बेडहरू राखिएको छ । ओछ्यान तयार पारिएको छ ।
भान्साका लागि भने मन्त्रालयकै पुरानै भान्सा प्रयोग हुने भएको छ । भान्सामा दाल–चामल, भाँडाकुँडालगायत आवश्यक सामान प्रबन्ध भइसकेको छ । ‘कार्यकक्षसँगै सुत्ने बेड तयार भएको छ । भवनकै किचेनमा उहाँले भान्सा प्रयोग गर्नुहुन्छ । यो पनि कोठानजिकै छ,’ सापकोटाले भने । मन्त्री पुनले आफैँ पकाउने घोषणा गरिसकेका छन् । उनले भान्से लिएका छैनन् । मन्त्रीको सचिवालयका अनुसार पुनले राति अबेरसम्म विज्ञसँग परामर्श गर्ने र दिउँसो कार्यान्वयन गर्ने रणनीति बनाएका छन् ।
शिक्षामन्त्री पुनले दिए तीन निर्देशन
१. हरेक सामुदायिक माविमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य
सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले हरेक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन् ।
२. तीन महिनाभित्र परीक्षाफल नदिने विश्वविद्यालयको अनुदान रोक्का
केही विश्वविद्यालयले परीक्षा लिएको आठ महिनादेखि एक वर्षसम्म पनि परीक्षाफल सार्वजनिक नगर्दा विद्यार्थीलाई अपूरणीय क्षति पुगेको भन्दै बढीमा तीन महिनाभित्र अनिवार्य परीक्षाफल निकाल्न निर्देशन दिएका छन् । यो निर्देशन पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी पनि दिएका छन् ।
३. त्रिवि कीर्तिपुर हाताभित्र बगैँचासहित फुटपाथ बनाउने
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित फुटपाथ निर्माण गरी आकर्षक बनाउने पनि मन्त्री पुनले बताएका छन् ।