काठमाडौं । १ पुस २०१७ मा राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकार अपदस्थ गर्दै शासनसत्ता हातमा लिँदा नेपालका पुराना नेता विश्वबन्धु थापा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदै थिए। नेपाली प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका अर्का नेता अच्युतराज रेग्मी पनि सहभागी थिए।
राजा महेन्द्रले ‘कू’ गर्नुअघि महासंघको बैठकमा सोभियत संघ (हाल रुस)का तत्कालीन प्रधानमन्त्री निकिता ख्रुस्चेभले एउटा गम्भीर प्रश्न उठाए– के नेपालमा पनि संसद् छ ?
ख्रुस्चेभको यो भनाइले संयुक्त राष्ट्रसंघको महासभा मात्र होइन, नेपालमा पनि ठूलो तरंग पैदा भयो। तर, ख्रुस्चेभको भनाइप्रति कडा आपत्ति जनाउँदै विश्वबन्धुले महासंघको बैठकमा भने, ‘आफैँ पनि संसद्को एक सदस्य भएकाले म यस सभालाई यो कुरा बताउने स्थितिमा छु– नेपालमा बालिग मताधिकारको आधारमा निर्वाचित संसद् छ। एकभन्दा बढी राजनीतिक दलहरूको त्यसमा प्रतिनिधित्व छ। हामीकहाँ स्वतन्त्र रूपले छलफल हुन सक्छ र १०९ सदस्यहरू भएको सदनमा चार कम्युनिस्ट सदस्यहरू पनि छन्। हामी समान रूपले लागु हुने नियम र कार्यप्रणालीको अनुसरण गर्दछौँ। यस विश्वसभामा विगत दुई दिनदेखि भइरहेको कुराले हामीलाई साँच्चै आश्चर्य लागेको छ।’
ख्रुस्चेभले राष्ट्रसंघको महासभामा त्यो प्रश्न उठाउनु र नेपालमा प्रजातन्त्रको हत्या हुनु केवल संयोग मात्र थिएन। नेपालमा एउटा उखान निकै चर्चित छ– बाघ कराउनु र बाख्रो हराउनु। उसो भए के नेपालमा त्यही भएको हो ?
नभन्दै दुई दिनपछि न्युयोर्क टाइम्समा खबर प्रकाशित भयो– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएका विश्वबन्धु थापा पक्राउ परे। त्यस खबरले अर्जेललाई विचलित तुल्यायो। उनले तुरुन्त फोन गरेर ऋषिकेशलाई जानकारी गराए। यतिबेला पनि ऋषिकेश फोनमा हाँस्दै भनिरहेका थिए– हेर्दै जानुस् न।
यस विषयमा बुद्धिजीवीहरूको तर्क आआफ्नै छन्। तर, अमेरिकाका लागि नेपालका प्रथम सचिव नारायणप्रसाद अर्जेल भन्छन्, “त्यो योजना फ्रान्सको पेरिसमा बुनिएको थियो।”
विश्वबन्धु अमेरिकामा हुँदा अर्जेल त्यहीँ कार्यरत थिए। विश्वबन्धुसँग उनको पुरानै चिनजान हो। नेपाल फर्किने बेला उनले विश्वबन्धुलाई भनेका रहेछन्– तपाईं बीपीको नजिक हुनुहुन्छ। सीधै काठमाडौँ नजानुहोला। भारत बसेर केही समय परिस्थितिलाई नियालेपछि मात्र नेपाल फर्किनुहोला।
अर्जेलको सुझावमा विश्वबन्धुले टाउको हल्लाई मात्र रहे। कुनै प्रतिक्रिया दिएनन्। बीपीका बहिनीज्वाइँ (विजया लक्ष्मीका श्रीमान्) त्यतिबेला भारतका लागि पाकिस्तानी दूतावासमा द्वितीय सचिव पदमा कार्यरत थिए। बीपीसँग विश्वबन्धुको घरेलु सम्बन्ध। त्यसैले अर्जेलको सुझाव थियो– दिल्लीमै बुनु (विजया लक्ष्मी)को घरमा बस्नु।
संयुक्त राष्ट्रसंघको महासभा सम्पन्न भएपछि नेपाली दललाई विमानस्थलसम्म छोड्न उनीसँगै अमेरिकाका लागि नेपाली राजदूत ऋषिकेश शाह पनि गएका थिए।
फर्किने बेला अर्जेलले ऋषिकेशसँग चासो राखेछन्– मैले उहाँलाई नेपाल जान उपयुक्त हुँदैन भनेको छु। हेरौँ, के गर्नुहुन्छरु
त्यतिबेला ऋषिकेशले हाँस्दै भनेछन्– हेर्दै जानुस्, उहाँ मन्त्री बन्नुहुन्छ।
अर्जेललाई ऋषिकेशको त्यो उत्तर मन परेन। उनले कहाँ हुन्छ भन्दै प्रतिवाद गरे।
नभन्दै दुई दिनपछि न्युयोर्क टाइम्समा खबर प्रकाशित भयो– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएका विश्वबन्धु थापा पक्राउ परे। त्यस खबरले अर्जेललाई विचलित तुल्यायो। उनले तुरुन्त फोन गरेर ऋषिकेशलाई जानकारी गराए। यतिबेला पनि ऋषिकेश फोनमा हाँस्दै भनिरहेका थिए– हेर्दै जानुस् न।
नभन्दै केही दिनपछि अर्को खबर आयो– विश्वबन्धु थापा नेपालको नयाँ गृहमन्त्री।
“त्यतिबेला म छाँगाबाट खसेझैँ भएँ। पहिले नै सेटिङ भइसकेको रहेछ। बित्थामा चिन्ता गरेर सुझाव दिएछु,” अर्जेलले सुनाए।
अर्जेलको सुझावविपरीत विश्वबन्धु सीधै काठमाडौँ विमानस्थल उत्रिएका थिए। अच्युतराज भने नयाँ दिल्लीमा। “बीपीको घरपरिवारभित्रकै मान्छे भएकाले विश्वबन्धु दिल्ली उत्रिनुहुन्छ भन्ने लागेको थियो। अच्युतराज चाहिँ काठमाडौँ फर्किनुहोला भन्ने थियो। तर, भयो उल्टो,” ९४ वर्षको उमेरमा अर्जेललाई पुरानो कुराको राम्रो सम्झना छ।
राजाको मन्त्रिमण्डलमा ऋषिकेश पनि अर्थमन्त्री नियुक्त भए। राजा महेन्द्रले पछि उनलाई परराष्ट्रमन्त्री हुँदै रोमिङ राजदूतको भूमिका प्रदान गरे। परराष्ट्रमन्त्री भएर अमेरिका आउँदा अर्जेलले त्यस घटनाका विषयमा ऋषिकेशसँग विस्तृत जान्ने मौका पाएका थिए।
त्यतिबेला भएको के थियो भने, १६ वैशाख २०१७ मा राजा महेन्द्रले अमेरिकाको पहिलो राजकीय भ्रमण गर्दा चीनका प्रधानमन्त्री चाउ एन–लाई नेपाल भ्रमणमा थिए। चिनियाँ प्रधानमन्त्रीका लागि बीपी कोइरालाले दिवाभोजको आयोजना गरिरहँदा राति १० बजेर ४० मिनेटमा राजा महेन्द्रलाई स्वागत गर्न वासिङ्टनको हवाईअड्डामा अमेरिकी राष्ट्रपति आइजनहावर प्रतीक्षारत थिए।
तीनदिने उक्त राजकीय भ्रमणमा राजा महेन्द्रसँगै बीपी मन्त्रिमण्डलका उपप्रधानमन्त्री सुवर्णशमशेर राणा पनि उपस्थित थिए। आइजनहावरसँगको भेटमा राजाले यतिसम्म भन्न भ्याए, ‘अहिलेको प्रधानमन्त्रीले मलाई काम नै गर्न दिँदैनन्।’
आइजनहावरसँग राजाको भेटमा राजदूत भएको नाताले ऋषिकेश पनि संलग्न थिए। राजा अमेरिकाबाट फर्किएको करिब चार महिनापछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बीपी पनि अमेरिका पुगे।
अमेरिकी राष्ट्रपति आइजनहावरसँग बीपीको भेट ८ असोजमा भएको थियो। न्युयोर्कस्थित होटल वाल्डोफ एस्टोरियामा ३५ मिनेट नेपाली प्रधानमन्त्रीसँग गफिने क्रममा अमेरिकी राष्ट्रपतिले फ्याट्ट भनेछन्, ‘किन पीएम, तिमी राजालाई काम गर्न दिँदैनौ रेरु’
यस भेटमा पनि ऋषिकेश सँगै थिए। उनको अनुहार रातोपिरो भयो। तर, माहोल सहज बनाउँदै बीपीले भने, ‘राजा र रानीको बेलायतको राजकीय भ्रमण तय भइसकेको छ। उहाँहरू बेलायत प्रस्थान गर्नुअघि ६ अक्टोबर ९२१ असोज०सम्म म काठमाडौँ फर्किसक्नुपर्नेछ।’ त्यतिबेला अमेरिकी राष्ट्रपतिले अमेरिकाको विकासक्रम बुझ्न केही समय अमेरिका बस्न सुझाएका थिए।
बीपी स्वदेश फर्किएको केही दिनपछि नै राजा महेन्द्रले बेलायतको भ्रमण सुरु गरे। त्यहाँबाट फ्रान्सको पेरिस जाने कार्यक्रम तय भयो। यसपछि दरबारबाट ऋषिकेशलाई एउटा पत्र प्राप्त भयो, जसमा उल्लेख थियो– राजाको पेरिस भ्रमणको कार्यक्रम तय भइसकेको छ। तपाईं त्यहाँ पुग्नुहोला।
चिठी पाएपछि ऋषिकेश केही थाहा नभएजस्तै गरी अर्जेललाई भेट्न गएका थिए। अर्जेल भन्छन, “मलाई अझै सम्झना छ, उहाँले सोध्नुभयो– अर्जेलजी दरबारबाट अर्जेन्ट पेरिस पुग्नुपर्ने पत्र प्राप्त भएको छ। के गर्ने होलारु”
त्यतिबेला ऋषिकेश नै दूतावासको सर्वेसर्वा थिए। राजदूतले प्रथम सचिवलाई सोध्नुपर्ने कुनै कारण थिएन। तर, उनी आफूलाई गाल नपरोस् भन्ने चाहन्थे। अर्जेल भन्छन्, “मेरो सुझाव प्रधानमन्त्रीलाई जानकारी दिनुपर्छ भन्ने थियो।”
उनले त्यसै गरे। स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा पत्र पठाए। केही दिनपछि नेपालबाट स्वीकृति आयो– जाँदा हुन्छ।
बेलायतमा राजा महेन्द्रले राम्रो आतिथ्य पाए। बेलायतले शासन गरिरहेका अफ्रिकालगायत अन्य देशहरू स्वतन्त्र हुन चाहिरहेका थिए। त्यसबेला बेलायतलाई थप सैन्य सहायता आवश्यक थियो। बेलायती महारानी एलिजाबेथले राजासँग सहयोगको अपिल गरिन्। राजाले सहर्ष स्वीकार गरे। बेलायतसँग थप गोर्खाली सेना उपलब्ध गराउने सार्थक वार्ता गरेर फर्किएका राजा पेरिस पुग्दा निकै आत्मविश्वासी देखिन्थे। यहीँ ऋषिकेशलगायत सबैसँग ‘कू’ को योजना बन्यो। “पेरिसबाट फर्किएपछि उहाँ मुसुमुसु हाँसिरहनुहुन्थ्यो,” अर्जेल भन्छन्।
यसैले होला, विश्वबन्धु पक्राउ परेपछि ऋषिकेशले भनेका थिए– दुई दिनमा मन्त्री भइहाल्छन् नि। नभन्दै ऋषिकेशले जे भने, नेपाली सत्तामा त्यही भयो।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ ०९:२४