काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले वाग्मती प्रदेशस्तरीय भेला डाकेको छ । आइतबारका लागि डाकिएको भेला आनन्दभूमि पार्टी भेन्युमा हुनेगरी छलफल अघि बढेको छ । 
भेलामा वाग्मती प्रदेशका विभिन्न जिल्लाका हस्ताक्षरकर्ता, महाधिवेशन प्रतिनिधिका साथै देशैभरका अन्य जिल्लाका हस्ताक्षरकर्ताहरू पनि सहभागी गराउनेगरी गृहकार्य भएको छ । 
तर, विशेष महाधिवेशनका लागि दबाब दिने अथवा नियमित महाधिवेशन कार्यसमितिको नियमित अवधिभित्रै भन्ने निर्णय हुन बाँकी छ ।
“हस्ताक्षरकर्ताहरूको भेला राखिएको छ । भेलामा वाग्मती प्रदेशका प्रतिनिधिहरू त सहभागी हुने नै छन् । त्यसबाहेक काठमाडौंमा उपलब्ध सबै जिल्लाका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ,” हस्ताक्षर अभियानतामध्येका नेता गुरुराज घिमिरेले बाह्रखरीसँग भने, “हामीले आज र भोलिको केन्द्रीय समिति बैठकका छलफल र निर्णय पनि हेर्नेछौँ । त्यसका आधारमा भेलाले गर्ने निर्णयसम्बन्धी अवधारणा तयार हुनेछ ।” 
उनले हस्ताक्षरकर्ताहरूले पनि पहिलो प्राथमिकतामा नियमित महाधिवेशन भनेकाले त्यसकै सुनिश्चितताका पक्षमा दबाब हुने बताए । नियमित महाधिवेशनलाई केन्द्रीय समितिले अस्वीकृत गरेको अवस्थामा भने दोस्रो विकल्प स्वतः सुरु हुने बताए ।
गगन थापानिकट एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय समितिले हस्ताक्षरको ‘स्पिरिट’मा काम नगरे त्यसपछि विकल्पका लागि महाधिवेशन प्रतिनिधिहरूसँग परामर्शमा अघि बढ्ने बताए । उनका अुनसार १६ गतेको भेलापछि केन्द्रीय समितिको बहुमतले महाधिवेशन नगर्ने निर्णय गरेमा प्रदेशगत भेला हुँदै जाने बताए ।
“केन्द्रीय समिति बैठक टुंगिएलगत्तै प्रदेशस्तरीय भेलाबाट महाधिवेशन प्रतिनिधिको सुझाव लिइन्छ,” ती केन्द्रीय सदस्यले भने, “अहिलेसम्म हस्ताक्षरमा केन्द्रीय सदस्यहरू सहभागी छैनौँ । त्यसपछि भने केन्द्रीय पदाधिकारी र सदस्यसहित विशेष महाधिवेशनको गृहकार्यमा जुट्छौँ । बहुमत महाधिवेशन प्रतिनिधि भेला भएर नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्छ ।” 
त्यसरी हुने भेलाले बनाउने पार्टी नयाँ नभएर अहिलेकै नेपाली कांग्रेसको पुनर्गठन हुने उनको दाबी छ । 
 
                            
                            
                            
                                
                                    प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १३:५०