काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज पनि मानिन्छ ।
झ्याउरे लयमा बुनिएको वियोगान्त प्रेमकथा यति बेला नाटकको रूपमा हेर्न पाइने भएको छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बुधबारदेखि उक्त नाटकको नियमित मञ्चन सुरु भएको छ । विराटनगरको विराट आदर्श साहित्य मञ्च नाटकलाई मञ्चनमा ल्याएको हो ।
यसअघि गीति नाटकका रूपमा धेरै चर्चा पाएको ‘मुनामदन’ शिल्पीमा भने कथानक रूपमा प्रस्तुत छ । पछिल्लोपटक सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले गीति नाटकका रूपमा यसलाई देश–विदेशमा लगेको थियो । झयाउरे लय टिपेर लेखिएको खण्डकाव्यको नाटय रूपान्तरणले दर्शकको मन छुन्छ । विषयवस्तुको गम्भीरतालाई भने प्रस्तुतिले सघाएको छैन ।
नाटकले दर्शकलाई पुरानो समाजमा लैजान्छ । चरम गरिबीका कारण घर चलाउन धौधौ भएपछि पत्नी मुना र आमालाई छोडेर मदन पैसा कमाउन ल्हासा जान्छ । बाटोमा फर्किने क्रममा झाडापखाला लागेर थला पर्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर साथीहरू घर फर्किन्छन् र घरमा आमा र मुनालाई मदनको निधन भएको खबर सुनाइदिन्छन् । यो कुराले मुना शोकमा पर्छिन् र उनको निधन हुन्छ । उता बिरामी परेको मदनलाई एक तिब्बतीले स्याहार गरी बचाउँछ । निको भएर घर फर्किएपछि न मदनले मुनालाई भेट्छ, न आमालाई । उनकी दिदीले यसको बेलीविस्तार लगाउँछिन् । कथा यत्ति हो ।
सविन कट्टेल निर्देशित ‘मुनामदन’ लाई निम्नमध्यम वर्गीय परिवारको प्रतिनिधिमूलक नाटक मान्न सकिन्छ । नाटकमा ‘मुनामदन’ को सारलाई देखाउने प्रयास गरिएको छ । मदनलाई साथीहरूले अलपत्र पारेर छोडेको दृश्य, जातभात छाडेर भोटे (तिब्बती) को खुट्टा समाउँदाका दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् । घर आइपुगेपछि मुना र आमाको निधनले मर्माहत मदनको बिलौना र खण्डकाव्यका अंशहरूको तालमेल राम्रो लाग्छ । यसले दर्शकलाई रुवाउँछ । भोट जाने क्रममा पार गर्नुपरेका उकाला–ओराला, सुरुङका बाटाहरू देखाउन मदन र उनका साथीहरूले स्टेजमा एकले अर्कालाई प्रप्सबिना नै गरेको प्रस्तुति पनि प्रशंसनीय लाग्छ ।
‘मुनामदन’ विछोडको कथा मात्रै हैन, यो आदर्श प्रेमकथा पनि हो । तर नाटकमा प्रेमको पृष्ठभूमि छैन, सिधै विछोड भएको देखाइएको छ, जसले गर्दा मुनामदनको आदर्श प्रेमको पाटो दर्शकलाई खडकिन्छ । नाटकलाई समसामयिक बनाउने ठाउँ पनि प्रशस्तै देखिन्छ । अहिले पनि नेपाली समाजमा निम्न वर्गीय परिवारको कथा उस्तै छ । स्थान र आवश्यकताका प्रकृतिहरू बदिलएका छन् । अहिलेका मदनहरू ल्हासाका सट्टा कतार मलेसिया जान्छन् ।
कटवाल दीपकले नाटय रूपान्तरणकै क्रममा यस्ता सामयिकता जोड्न सकेको भए यो नयाँ र मौलिक बन्न सक्थ्यो । उनले खण्डकाव्यका हरफमा लुकेका कथानक मात्रै प्रस्तुत गरे छन् । यस हिसाबबाट हेर्दा मुना असल र कोमल स्वभावकी हुनुपर्ने हो, तर मुना बनेकी दीपा पोखरेलको अभिनय र हाउभाउ मुनाको स्वभावसँग मेल खाँदैन । मदन बनेका सविन र आमा बनेकी सुषमा निरौलाको पनि संवाद र अभिनय माझिन सकेको छैन । तर भोटे बन्ने मानहाङ लावती, लावा बन्ने जिना राई, फुच्चा बन्ने सञ्जीव राई र नैनी बन्ने सरिता ढुंगानाको छोटो भूमिका भए पनि उनीहरूको अभिनय र संवाद प्रस्तुतिले दर्शकलाई भावुक बनाउनुका साथै हँसाउँछ ।
राम्रा प्रप्सहरूको प्रयोग गरे पनि तिनको उचित व्यवस्थापन नहुँदा नाटकको कलात्मक पक्ष कमजोर भएको महसुस हुन्छ । संगीत र प्रकाश परिचालनमा पनि मिहिनेत पुगेको देखिँदैन ।
नाटकमा पवित्रा खडका, लकेश राई, सञ्जन पौडेल, सरिता ढुंगानाको पनि अभिनय छ । नाटकको संयोजन कमल पोखरेलले गरेका छन् भने मञ्च परिकल्पना र निर्माण जीवन बराल, निर्मल साउद, आर्यन सुर्देले र प्रकाश परिचालन मनोज तामाङले गरेका छन् ।
नाटक भदौ २६ सम्म नियमित मञ्चन हुनेछ ।