काठमाडौं । एमालेको भावी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग्गै अवधारणा(पत्र तयार पारेका छन् ।
यही २७-२९ को महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् ।
उनले आफ्नो दस्ताबेजमा ‘जेन-जी’ आन्दोलन र भदौ २४ को विध्वंसको समीक्षा गरेका छन् । एमाले पार्टी कार्यालय, नेताका घर, सिंहदरबार र संसद भवनमा समेत सुनियोजित रूपमा भएको आक्रमण भएको उल्लेख छ ।
युवा पुस्तासँग पार्टीको सम्बन्ध टुट्नु, उनीहरूको भावना बुझ्न नसक्नु र सत्तामा हुँदा डेलिभरी दिन नसक्नुलाई कमजोरीका रूपमा स्वीकार गरिएको छ ।
पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउन औपचारिक प्रस्ताव गरेका छन् । भनिएको छ, ‘विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्काएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो ।”
भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिँदा पार्टीलाई घाटा हुने भन्दै उनलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने पोखरेलले बताएका छन् ।
आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा होमिन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका बाहिर जान रोक लगाइएको र एमालेका गतिविधिमाथि सडकबाट नियन्त्रण गर्ने दुष्प्रयास भइरहेको भन्दै निर्वाचनबाट अहिलेको राजनीतिक निकासको विकल्प खोज्नुपर्ने धारणा अघि सारेका छन् ।
एमालेको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था अनिवार्य लागू गरिनुपर्ने, नेतृत्व विकासको सहज प्रणालीका लागि ७० वर्ष उमेर हद लाउनुपर्ने, ४० वर्षमुनिका युवालाई सबै कमिटीमा अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने तथा ३० वर्षमुनिकालाई विशेष प्रोत्साहन नीति ल्याउनुपर्ने पोखरेलको धारणा छ ।
मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई समयअनुकूल परिष्कृत गर्दै लैजाने भन्दै उनले एमालेको नेतृत्वमा सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
विगतको नेकपा एकता हतारमा गरिएको स्वीकार गर्दै अब विचार र विधिका आधारमा एकता खोजिने पोखरेलको दस्ताबेजमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ १७:०२