काठमाडौँ । नेपालको निर्वाचन इतिहाँसलाई ब्रेक गरेर दुइतिहाई बहुमत नजिक जीत हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डल गठन भएको छ ।
नेपालको ४७ औं प्रधानमन्त्रीका रुपमा शपथको तयारी भैरहेको बेला नयाँ मन्त्रीमण्डल गठन भएको हो ।
नेपालवोटलाई प्राप्त जानकारी अनुसरा मन्त्रीमण्डलमा सहभागी हुनेहरुको सूची प्राप्त गरेको हो । स्रोतहरुमध्ये मन्त्रीमण्डलमा सहभागी हुनेहरु पनि थिए ।
रास्वपाका धेरै नेताहरुको दाबी रहेका मन्त्रालयमा विषयगत विज्ञले नै विभागिय मन्त्रीको जिम्मा प्राप्त गर्ने भएका छन् ।
यस्तो छ, नयाँ मन्त्री मण्डलका सदस्यहरुको विवरण
इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् ।

फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा नै विरलै प्राप्त हुने करिब दुई तिहाइको एक बहुमतको सरकारको नेतृत्व गर्दैछन् । संविधानको धारा ७६ को १ अनुसार बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।
३६ वर्षीय बालेन पेशाले इन्जिनियर थिए । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।
२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो । मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका विभिन्न स्थान पुगेका छन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि–लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
विकासको ‘भिजन’
चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए ।
मेयरको उम्मेदवार बन्दा शाह डिग्रीले भन्दा सिपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे । उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गरिरहेका छन् ।
रास्वपा प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भनेका थिए , ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?’
संवादात्मक शैलीमा थोरै मात्रै बोल्ने शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउनेदेखि काठमाडौं महानगरले २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाइरहेको विषयलाई देशव्यापी बनाउन चाहेको सुनाए ।
राजनीतिक मुद्दालाई नागरिकसँग जोड्न माहिर शाहले संघीयताप्रतिको प्रतिबद्धता राख्दै उनले भनेका थिए, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्यो ? यहीँबाट किन हुँदैन ?’
उनले थपेका थिए, ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।’
जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्ने प्रस्ताव शाहले स्वीकारेनन् र सन्देश दिए– मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन । अझ उनले सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न चाहे । त्यो प्रतिस्पर्धा उनले जिते ।
वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन बालेन परे । व्यक्ति र पार्टीको पक्षमा देखिएको यही चुनावी लहर उनको मुख्य अनुकूलता बन्यो ।
स्वर्णिम वाग्ले – अर्थमन्त्री
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन् ।
वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधि गरेका छन् ।
वाग्लेसँग राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए ।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा सक्रिय हुनुअघि नेपाली कांग्रेसमा आबद्ध थिए। उनलाई शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका थिए ।
वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन् । २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा उनले भूमिका खेलेका छन् ।
उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन् । सन् २०२२ मा उनले क्याम्ब्रिज युनिभर्सिटीको 'द ग्रेट अपहिभेल' को सह-सम्पादकका रूपमा काम गरेका थिए।
वाग्लेले नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका छन् । उनले आउँदो पाँच(सात वर्षभित्रै नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक सय अर्ब रूपैयाँ बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
फागुन २१ को निर्वाचनअघि नै वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेले भावी अर्थमन्त्रीका रूपमा प्रचार गरेका थिए । साथै, बजेट लेख्न तयारी गर्न निर्देशन दिएका थिए । उनले विगतमा प्रतिनिधिसभाका बैठकहरूमा विकृत निर्माण व्यवसायी र खराब राजनीतिज्ञको 'नेक्सस' तोड्नुपर्ने तर्क गर्दै आएका छन् । निजी क्षेत्रलाई खुम्च्याइएको र उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने पुँजी सरकारले सोसेर अनुत्पादक क्षेत्रमा प्रयोग गरेको बताउने गरेका छन् ।
२०७५ सालको सार्वजनिक क्षेत्र पुनरवलोकन गर्ने आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । यसमा विकास समिति ऐन र परिषदहरू खारेज वा मर्जर गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।
गृहमन्त्रीमा गुरूङ
राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन् ।
३८ वर्षीय उनी गोरखाको चुमनुब्री गाउँपालिका३ सिर्दिवासस्थित पाङसिङ गाउँका हुन् । उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो ।
उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए।
सुधनले 'हामी नेपाल' का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए । २०७२ सालको भुइँचालो बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए ।
भदौ २३ को जेनजी आन्दोलन क्रममा पनि सुधन सहभागी थिए । त्यसपछि उनको नाम चर्चामा आएको थियो। उनले त्यस बेला आफूले 'पानी बाँड्ने, ब्यानरहरू बनाउने र एम्बुलेन्स व्यवस्थापन'को काम गरेको बताएका थिए।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार नबनुन्जेलसम्म सुधनले समन्वयकारी भूमिका खेलेका थिए ।
उनले पटक पटक राष्ट्रपति कार्यालय पुगेर छिटो प्रधानमन्त्री नियुक्त गर्न भनेका थिए । प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले सुधनलाई 'जेठो छोरा'समेत भनेकी थिइन् ।
सुधन २०४४ साल असार २५ गते जन्मिएका हुन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समयकै बेला रास्वपामा सक्रिय भएका थिए ।
त्यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच संवाद गराउने भूमिकामा उनी पनि सक्रिय थिए ।
ललितपुरस्थित कुमार बेनको घरमा रवि र बालेनलाई छलफलमा राखेर गुरूङले 'कुरा नमिल्दासम्म बाहिर निस्कन नदिन आफू सेन्ट्री' बसेकोसमेत भनेका थिए।
पछि तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङ र उनीनिकट दल उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने भूमिकामा पनि सुधनको सक्रिय भूमिका थियो। यद्यपि कुलमान रास्वपामा बसेनन्, उज्यालो नेपाल पार्टी अध्यक्ष बने र चुनाव लडे।
सुधनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि सेवा सुविधा नलिने बताएका थिए। रास्वपाले राखेको अभिमुखीकरणमा सहभागी भएका बेला उनले सेवा सुविधा नलिने बताएका हुन्।
‘म त (तलब) खान्नँ नि ! किन तलब खानु र ‘नखाने, किन तलब खानु जरूरी छ ? सक्षम छौं,’ उनले भनेका थिए।
चुनावी प्रचार गर्दा सुधनले गोरखाका कतिपय ठाउँहरूमा बोल्ने क्रममा आफू गृहमन्त्री बन्नेसमेत बताएका थिए। गृहमन्त्री हुने सर्तमा आफू रास्वपाको घन्टी चिह्नमा चुनाव लडेको उनको जिकिर थियो।
शिशिर खनाल – परराष्ट्र मन्त्री
प्रधानमन्त्री बालेन शाहले काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।
यसअघि २०७९ सालको चुनावपछि सरकारमा पुगेको रास्वपाले त्यति बेला खनाललाई शिक्षामन्त्री बनाएको थियो । काठमाडौंको गोंगबु घर भएका खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए । त्यसपछि त्रिचन्द्र कलेजबाट आइएसी पढेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरे ।
अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरूमा सर्वोदय अभियानमा काम गरेका थिए ।
उनले सन् २०१२ मा 'टिच फर नेपाल' स्थापना गरे। यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँ गाउँ पठाउने काम गरेको थियो । त्यसबाहेक शिक्षकहरूलाई आवश्यक पर्ने तालिम दिने लगायतका काम पनि यो संस्थाले गथ्र्यो ।
अमेरिकामा पढ्दा अन्तर्राष्ट्रिय विद्यार्थीबाट कलेज सिनेटर भएका उनले कनेक्टिकट राज्यसभा (प्रदेश संसद) का सिनेटरसँग काम गरेका थिए । सिनेटरको निर्वाचन क्षेत्रका मुद्दा पहिचान र नीति बनाउन सहयोग गरेको अनुभव उनीसँग छ ।
नेपाल फर्केर शिक्षाक्षेत्रमा काम गरेका खनालले २०७९ सालको स्थानीय निर्वाचन क्रममा नेपाली कांग्रेसको घोषणापत्र बनाउने कार्यदलमा थिए ।
२०७९ सालमा काठमाडौं ६ बाट संसदीय चुनाव लड्ने तय गरेका खनाल पछि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिए । पहिलो पटक लडेको संसदीय चुनावमै उनी आफ्ना प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले जितेका थिए ।
त्यति बेला उनको पार्टी रास्वपाले २१ सिट जितेको थियो । चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भयो । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री भएर सरकारमा जाँदा शिक्षा क्षेत्र सुधारका लागि काम गरेको अनुभव भएका खनाल शिक्षामन्त्री भएका थिए ।
उनले सांसदको तीनवर्षे कार्यकालमा अन्तर्राष्ट्रिय समिति सदस्यका रूपमा पनि काम गरेका थिए। उनी तत्कालीन समयमा उठेका समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाबारे संसदको शून्य समयमा उठेर प्रश्न गरिरहने सांसदमा पर्छन् ।
उनले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागेपछि त्यसको छानबिन गर्न बनेको समितिमा बसेर पनि काम गरेका थिए ।
ऊर्जामन्त्री; विराजभक्त श्रेष्ठ
नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
२०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराज २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए । उनी रास्वपा सरकारमा सहभागी भएका बेला युवा तथा खेलकुद मन्त्री भएका थिए । यसपटक उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन् ।
श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन् । उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए। उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए ।
विराज जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीको ज्वाइँसमेत हुन् ।
विराजसँग अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ । उनी तिकिझ्या रेस्टुरेन्ट, मुनस्टे लज, लिटल विंग्ज लज, ग्रीन भेन्चर्ज प्रालि, बर्दिबास होप हस्पिटल लगायत संस्थामा आबद्ध छन् ।
स्वास्थ्यकर्मी निशालाई स्वास्थ्यमन्त्री
स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् ।
स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् ।
अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् भने बन्न सकिनन् ।
यसपटक उनी समानुपातिक सूचीबाट सांसद बनिनन् । मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ एक वर्ष हस्पिटलमा काम गरिन् ।
पुर्वाधार एवं वातावरणविज्ञ लम्साललाई भौतिक मन्त्रालय
बालेन शाह नेतृत्वको सरकारमा सुनिल लम्साल पनि मन्त्री बन्ने भएका छन् । रास्वपा महामन्त्री समेत रहेका उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।
२१ फागुनको निर्वाचनमा उनी रूपन्देहीको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । ३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।
२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्। भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे। एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भएका लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनले हाल काठमाडौं विश्वविद्यालयबाट ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दैछन् ।
२०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका लम्सालले इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम समेत गरिसकेका छन ्।
सोबिता गौतम – कानुनमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहालाई हराएकी गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लड्दा गौतम काठमाडौं २ मा उम्मेदवार थिइन्। पहिलो पटकमै चुनाव जितेकी गौतमले त्यतिखेर पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् ।
राजनीतिमा आउनुअघि उनी सञ्चार क्षेत्रमा काम गर्थिन्। उनले नेपाल टेलिभिजनमा 'स्वास्थ्य सरोकार' जस्तो स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउँथिन् ।
गौतम कानुनकी विद्यार्थी हुन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल कलेजबाट बिए एलएलबी गरेकी छन् । तीनवर्षे संसदको कार्यकालमा सोबिताले संसदको कानुन, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन् ।
नेपालबाट इन्टर पार्लियामेन्टरी युनियन सदस्य बनेकी उनी स्वास्थ्य समिति सदस्यमा निर्वाचित भएकी थिइन्। उक्त युनियनमा स्वास्थ्य र समावेशी नीति निर्माणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
तीनवर्षे कार्यकालमा उनले भूमि, अर्थ, शिक्षा, स्वास्थ्य लगायत विभिन्न कानुन सुधार गर्न विधेयकहरूमा संशोधन प्रस्ताव हालेकी थिइन् ।
बिक्रम तिमल्सिना – सूचना तथा सञ्चार मन्त्री
बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन् । तिमल्सिनाले २२ हजार ६०९ मत ल्याएका थिए ।
उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन् ।
पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय उनले विधावारिधी (पिएचडी) गरेका छन् । उनले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट पिएचडी गरेका हुन् । उनले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका थिए।
त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट उनले अंग्रेजीमा पनि स्नातकोत्तर गरेका छन् ।
तीन वर्षदेखि उनले त्रिविअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा सशस्त्र प्रहरी अधिकृतहरूको लागि पोस्ट ग्र्याजुएट डिप्लोमा अन्तर्गत सुरक्षा व्यवस्थापन अध्यापन गराउँथे ।
उनले पछिल्लो समय त्रिविको मानविकी संकाय अन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि अध्यापन गराउँथे ।
एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको उनको अनुभव छ । उनले नेपालमा अपांगता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी प्रोजेक्टमा प्रमुख अनुसन्धानकर्तारलेखकका रूपमा काम गरेका थिए ।
उनले सञ्चारकर्मीका रूपमा पनि काम गरिसकेका छन्। उनले रेडियो सगरमाथामा सञ्चारकर्मीका रूपमा काम गरेका थिए ।

सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने बादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन् । उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ ।
२९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन् । उनी २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी थिइन्। छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्यो । भूमिहीन वादी समुदायका लागि शिक्षा पाउनु अधिकार नभई ठूलो संघर्ष र उपलब्धिको विषय थियो। अहिले पनि छँदै छ ।
१२ वर्षको किशोर वयमा एक सामाजिक संस्थाको सहयोगमा विद्यालय टेक्ने अवसर पाएकी उनले हातमुख जोड्ने कि पढ्ने भन्ने द्वन्द्व र दुबिधाबीच आफ्नो अध्ययनलाई अघि बढाएकी थिइन् ।
आफ्नो समुदाय सधैं किन पछाडि पारिन्छ र संविधान अनुसारको समानता व्यवहारमा किन लागू गरिँदै भन्ने प्रश्नको उत्तर खोज्न उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छन् ।
‘मैले राजनीतिशास्त्र पढ्नु संयोग मात्र थिएन, यो मेरो समुदायको अस्तित्व खोज्ने असल प्रयास थियो,’ उनले भन्ने गरेकी छन् ।
पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै उनी रास्वपाको राजनीतिमा जोडिएकी हुन् । मन्त्री बनेसँगै आफ्नो समुदायको उत्थान र विकासका लागि प्रयत्नशील रहनु त छँदैछ, देशका महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था सुधार्न कम्मर कस्नुपर्ने अभिभारा छ ।
सस्मित पोखरेल – शिक्षा, युवा तथा खेलकुदमन्त्री
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
उनी कांग्रेस-एमालेका हेभीवेट उम्मेदवारहरूलाई पराजित गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन् उनले काठमाडौं ५ मा उम्मेदवार रहेका कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई पराजित गरेका थिए ।
रास्वपामा बालेन शाह जाँदा उनी केन्द्रीय सदस्य भएका थिए। कानुन तथा नीति निर्माणमा विशेष चासो राख्ने २९ वर्षीय सस्मितले काठमाडौं विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापनमा स्नातक गरेका छन् । हाल उनी त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर गरिरहेका छन् ।
उनी १८ वर्ष उमेरमा उज्ज्वल थापा नेतृत्वको विवेकशील अभियानसँग जोडिएका थिए ।
‘म पहिलेदेखि नै राजनीतिक दल र नेताहरूलाई फलो गर्थेँ। उनीहरूबारे सैद्धान्तिक कुरा धेरै हुन्थ्यो। अरू पार्टीका पनि कैयन नेता मलाई राम्रै लाग्थ्यो। विवेकशीलले भने मूल्य–मान्यता, पारदर्शिता र उत्कृष्ट पद्धतिको कुरा गरेको पाएँ। मलाई त्यो राम्रो लाग्यो,ु सस्मितले भनेका थिए, ुत्यतिखेर उज्ज्वल दाइले नै हो, एकदमै प्रेरणा दिएको ।’
२०७४ सालको स्थानीय चुनावमा रञ्जु दर्शना विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी थिइन्। सस्मितले रञ्जुको चुनावी प्रचार टोलीमा संलग्न भएर काम गरेका थिए ।
स्थानीय चुनावपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग विवेकशीलको एकता भयो। त्यति बेला सस्मित केन्द्रीय सदस्य भए। त्यसै वर्ष भएको संसदीय निर्वाचनमा उनले थापा र मिश्र दुवैको चुनावी अभियान टिममा बसेर काम गरे।
२०७६ सालमा कोभिड महामारीमा परेर उज्ज्वल थापाको निधन भएपछि विवेकशील साझा पार्टीभित्र आन्तरिक समस्या सुरू भयो। त्यसैबीच रवीन्द्र मिश्र राजनीतिक मार्ग परिवर्तन गरेर राप्रपामा गए। विवेकशील छुट्टै दल बन्यो। सस्मित भने यी दुवैतिर लागेनन् ।
उनले २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन शाहलाई सघाए। उनको घोषणापत्र लेखनदेखि चुनावी अभियानमा समेत काम गरे ।
त्यसपछिको संसदीय चुनावमा सस्मितले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिए। त्यतिखेर उनले १०५२ मत पाएका थिए ।
प्रदेशसभाको चुनावपछि उनले काठमाडौं महानगरपालिकामा बालेनको टिममा सहरी योजनासम्बन्धी सहायक विज्ञका रूपमा काम गरे ।
महानगरमा हुँदा उनले शिक्षासम्बन्धी नीति निर्माणमा पनि काम गरेका थिए। काठमाडौं महानगरले दिँदै आएको छात्रवृत्ति कार्यक्रममा पनि उनी लगायतको टिमले नै काम गरेको थियो ।
प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन् । रास्वपाबाट समानुपातिक सांसद बनेकी रावल पहिलो प्रयासमै कार्यपालिका पुगेकी हुन् ।
यसअघि उनको नाम सभामुखमा चर्चामा थियो । तर पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत नेताहरूको सहमतिमा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी हुन् ।
रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिइन् । पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी सचिवालयमा थिइन्। उनीसँग निकट रहेर कार्यसम्पादन गरेकी थिइन् ।
कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिकी हुन् । नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन् । उनीसँग साउथ एसिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ ।
रास्वपा गठनको सुरूआतदेखि नै उनी पार्टीमा आबद्ध थिइन् ।
पर्यटन तथा संस्कृति मन्त्री;गनेश पौडेल
पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की १ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरीपाटनका बासिन्दा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
उनका दुई किताब प्रकाशित छन् — पैताला र मुसा मानुस। ुपैतालाु उनको आफ्नै उपन्यास हो भने ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृति ‘अफ माइक एन्ड मेन’ को अनुवाद हो ।
गनेशले यसअघि २०७९ सालको स्थानीय निर्वचनमा पोखरा महानगरको स्वतन्त्र मेयरमा उम्मेदवारी दिएका थिए । सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझेपछि आफूले उम्मेदवारी दिएको बताएका थिए । त्यतिखेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए ।
त्यतिबेला काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो। काठमाडौंमा बालेन मेयर भए तर पोखरामा गनेश पराजित भए। त्यति बेला उनले ३ हजार ३० मत ल्याएका थिए ।
चुनावपछि काठमाडौंका मेयर बनेका बालेन शाहलाई उनले नजिकबाट सहयोग गरेका थिए । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँग गनेश पनि आए। त्यसपछि उनले कास्कीको टिकट पाएका हुन् ।
यसपालिको संसदीय निर्वाचनमा कास्की १ बाट गनेसले ३९ हजार ८८३ मत ल्याए । पहिलो पटक चुनाव जितेका र लेखकको पहिचान बनाएका गनेशलाई बालेनले पर्यटनमन्त्री बनाएका हुन् ।
गीता चौधरी ; कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री
कञ्चनपुरकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् ।
साधारण थारू परिवारमा जन्मिएकी गीता निरन्तर संघर्षको जगमा देशको कार्यपालिकामा पुगेकी हुन्। उनको सफलताको कथा प्रेरणादायी र अनुकरणयोग्य छ ।
गीताका अनुसार उनको बाल्यकाल आर्थिक अभावमा बित्यो। साहु काढ्दै पढ्नुपर्ने पढ्नुपर्ने अवस्था थियो। उनले कानुन संकायमा स्नातकोत्तर गरेकी छन् ।
पछिल्लो समय उनको छवि कानुनवेत्ताका रूपमा थियो। उनी दीनहीनहरूको अधिवक्तासमेत थिइन् ।
कञ्चनपुरकी स्थायी बासिन्दा उनी आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आइपरेको कानुनी झमेलामा परामर्श दिइन् ।
विशेष गरी आर्थिक रूपमा कमजोर रहेकाले व्यहोरिरहेका जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरिन् ।
राजनीतिक रूपमा उनी २०६२–०६३ को आन्दोलपछि जोडिएकी हुन्। तत्कालीन समयमा उनी नेकपा एमालेमा आबद्ध थिएन्। अनेरास्ववियुबाट उनको राजनीतिक यात्रा आरम्भ भएको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले एमाले त्याग गर्दै तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन् ।
भूमिहीन समस्या समाधान, सुकुमबासी र आरक्ष पीडितलाई लालपुर्जा दिलाउन पहल गर्ने, सरकारी विद्यालयमा डिजिटल ल्याब बनाउने र किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने लगायत उद्देश्य बोकेकी चौधरी अब यी कुरा सम्बोधन गर्ने ठाउँमा पुगेकी छन् ।
निशा मेहता — स्वास्थ्य तथा जनसंख्या मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा मेहता स्वास्थ्य मन्त्री बनेकी हुन् ।
उनी सुनसरीको इनरूवाकी हुन्। रास्वपा केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।
उनको नाम समानुपातिकतर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो तर सांसद भइनन्। दोस्रो प्रयासमा उनी समानुपातिकबाटै सांसद बनेकी हुन् ।
उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन्। उनी २०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी थिइन् । उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन् ।
मेहताले विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिइन्। प्रतिनिधि सभा सांसद निर्वाचित भएपछि उनले उक्त काम छाडेकी हुन् ।
उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवका रूपमा स्वास्थ्य शिविर सञ्चालनमा पनि भूमिका खेलेकी थिइन् । मेहताका श्रीमान् डा. सरोज सिंह हुन् । प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन् ।
दीपक साह — श्रममन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।
उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् । साह महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।
नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् ।
उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष समेत हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १२:०२