काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो। पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएका ओली र लेखक दुवैलाई प्रहरी परिसर भद्रकाली लगिएको प्रहरीले जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट सरकारले कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
गिरफ्तारीलाई गैरकानुनीः एमाले
एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।
आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए ।
उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’

आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ। बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ ।
एमालेले गरेका निर्णयहरु यस्ता छन्
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहित क्षेत्रमा भेला भएर केहीबेर अघिसम्म विरोध प्रदर्शन गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।
अन्य दलहरुसँग संवाद गर्न तिन नेतालाई जिम्मेवारी
पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।
संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।
संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओली र लेखकलाई आज पक्राउ गरेको छ । लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो ।
महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रही, गैरकानुनी भएको बताए ।
नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १४:०२