सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर–८ स्याँडामा बाल विवाह तथा बालश्रम विरुद्ध जनचेतनामूलक सडक नाटक र देउडा गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
स्याँडा हिमाली युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा बाल विवाह र बालश्रम जस्ता सामाजिक विकृति विरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक तथा देउडा प्रतियोगिता सञ्चालन गरिएको हो । कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहकार्यमा आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष लोकराज बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम मार्फत बाल विवाह र बालश्रम कानुन विपरीत तथा बालअधिकारको गम्भीर उल्लङ्घन भएको सन्देश समुदाय सम्म पुर्याइएको थियो । स्थानीय कला, संस्कृति र देउडा परम्परालाई माध्यम बनाएर जनचेतना फैलाउने उद्देश्यले प्रस्तुत गरिएका सडक नाटक र देउडा गीतले सहभागी तथा दर्शकहरूलाई भावुक र सचेत बनाएको थियो ।
कार्यक्रममा परिवर्तन टोल, गुम्बाटोल, घरदेउ टोल र थर्पुकोट टोलबीच देउडा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी टोलीहरूले बाल विवाह र बालश्रमले बालबालिकाको भविष्य अन्धकार बनाउने भन्दै यसको अन्त्यका लागि समुदाय, अभिभावक तथा युवाहरू एकजुट हुनुपर्ने सशक्त सन्देश दिएका थिए ।
स्थानीयवासीको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने देउडा टोलीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले बाल विवाह र बालश्रम अन्त्यका लागि हरेक घर, टोल र समुदायबाट सामूहिक अभियान आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमलाई संवोधन गर्दै स्टेशन म्यानेजर नवराज महताराले वाल विवाह गर्नु भनेको आफ्नाका लागि दुःख, पिंडा र मृत्यु निम्त्याउनु भएको उल्लेख गर्दै त्यसका लागि सबैले वाल विवाह र वालश्रमको अन्त्यमा लाग्न ढिला गर्न नहुनेमा जोड दिनु भएको छ ।
त्यसैगरी गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत गोविन्द चौधरी र किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले सडक नाटक र देउडा प्रतियोगिता मार्फत उठाइएका सन्देशलाई व्यवहारमा लागू गर्दै स्याँडालाई बाल विवाह तथा बालश्रम मुक्त वडा बनाउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमले स्थानीय कला–संस्कृतिको संरक्षणसँगै सामाजिक परिवर्तनका लागि सामुदायिक एकता र सचेतनाको बलियो उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ २२:४६