चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरू भएको छ ।
भरतपुरस्थित गेस्टहाउस चौरमा जारी महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गरेका छन् ।
महाधिवेशनका निम्ति ४ हजार २११ प्रतिनिधि निर्धारण गरिएको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।
पहिलो महाधिवेशनमा अन्य दलका नेताहरुले समेत शुभकामना मन्तव्य दिएका छन् । पार्टीमा सभापति रवी लामिछाने, वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सहित प्रमुख दलका नेताहरुले यसरी संवोधन गरेका छन् ।
देश रास्वपाको हातमा छ, सुरक्षित छः सभापति लामिछाने
रास्वपाका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताएका हुन् ।
‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैनः प्रधानमन्त्री शाह
प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले रास्वपा लोकल गाडी नभएर हाइवेमा गुडेको गाडी भएकाले गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका छन् ।
आइतबार रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै शाहले कतिपयले आफूहरूले हाँकेको रास्वपा रुपी गाडी दुई तिहाइ जनमत दुर्घटनामा पर्न सक्ने भनेर गरेको चिन्ताप्रति यस्तो जवाफ दिएका हुन् ।
‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’, शाहले भने, ‘हाम्रो गाडी अनियन्त्रित छैन । चिन्ता लिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’ साथै उनले रास्वपा प्रतिशोध साँध्ने पार्टी नभएको भन्दै विगतमा केही फट्याइँ भएको तथा सरकारी सम्पत्तिमा दोहन भएको बताए । उनले नियम कानुन नमिच्ने भन्दै कानुनभित्रै बसेर काम गर्ने र आउट अफ कन्ट्रोल नगएको बताए ।
‘सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन । मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन’, शाहको भनाइ छ ।
पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताए ।
‘कुनै एउटा समूहको माया जितेर हुँदैन’, शाहले समूह बनाउने पछाडि नलाग्न सुझाव दिँदै ‘यस्तो बिउ नरोपौँ ।’ उनले यही कार्यकालमा सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा अर्को एजेन्डा लिएर जाने बताए ।
प्रधानमन्त्री शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन् । उनले आफू नेतृत्वको सरकारको यात्रा 'एक्सप्रेस वे' मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने स्पष्ट पारे ।
सम्बोधनको सुरुमा 'नमस्ते' गर्दै ठट्टाको शैलीमा 'नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ' भन्दै उनले उपस्थित प्रतिनिधि र विशिष्ट अतिथिहरूलाई सम्बोधन गरे। रास्वपा सभापति रवि लामिछानेसहितको मञ्चमा उनले सानो महत्वाकांक्षा र देश बनाउने तीव्र हुटहुटीका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै पार्टीलाई संस्थागत र स्थापित गर्ने कुरा अहिलेको आवश्यकता भएको बताए ।
विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपा र नयाँ शक्तिहरूको कार्यशैलीप्रति सङ्केत गर्दै ुगाडीमा एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुनेु भनी दिएको सल्लाह र चिन्ताप्रति बालेनले कडा जवाफ फर्काए। ूधेरैले चिन्ता मान्नुभएको छ, सरकार भनेको गाडीजस्तो हो र यसमा ब्रेक पनि लगाउनुपर्छ भन्नुभएको छ,ू उनले भने, ूत्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ। तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।ू
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छः गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिने बताएका छन् । रास्वपाको चितवनामा सुरु पहिलो अधिवेशनका शुभकामना दिँदै थापाले सरकार र मन्त्रीहरूको कार्यशैलीप्रति सङ्केत गरे । थापाले भने, ‘जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ । उनले मन्त्रीले रुखमा बाँध्छु भन्दा त्यसको विपक्षमा उभिने बताए ।
‘कुनै मन्त्रीले नागरिकलाई रुखमा बाँध्नुपर्छ भन्दा हामी औँला उठाउँछौँ,’ उनले भने । सिमाना मिचिएको सवालमा रास्वपाले लिने अडानलाई कांग्रेसले झनै ठुलो स्वरले स्वागत गर्ने उनको भनाइ थियो।
थापाले विगत १०–१२ वर्षदेखि जसरी पनि सत्तामा पुग्ने ‘हिसाबी राजनीति’ मात्र भएको भन्दै अबको यात्रा जनमुखी र मूल्य मान्यतामा आधारित हुनुपर्ने बताए । थापाले कांग्रेस संविधान र व्यवस्था जोगाउन सधैँ प्रतिबद्ध रहने बताए ।
रास्वपाले स्थापनाको चार वर्षमै प्राप्त गरेको जनमतको मुक्तकण्ठले प्रशंसा गरे । थापाले नयाँ शक्तिले पुराना दलहरूलाई चुनौती दिँदै थप मिहिनेत गर्न बाध्य पारेको बताए ।
थापाले इतिहासको स्मरण गर्दै थापाले यसअघि पनि विभिन्न दलहरूले ३–४ पटक ठुलो जनमत प्राप्त गरे पनि ती दलका नेताहरूमा पलाएको शक्ति र उन्मादका कारण जनमत दुर्घटनामा परेको बताए ।
‘शक्तिको उन्माद र नेताहरूमा पलाउने अहंकारले जनमत दुर्घटनामा पर्छ,’ उनले भने, ‘दुर्घटना हुँदा पहिलो सिकार पार्टी हुन्छ, त्यसपछि राज्य र अन्ततः जनताले विकास पाउनबाट वञ्चित हुन्छन्।’
सभापति थापाले रास्वपाका कार्यकर्ताहरूलाई आफ्ना नेताहरूप्रति अन्धभक्त नहुन विशेष आग्रह गरे । ‘हामीले हाम्रा नेताहरूलाई भगवान् र ‘बा’ बनाएर ठुलो गल्ती गर्यौँ, तपाईंहरूले त्यसो नगर्नुहोला,’ उनले भने, ‘आफ्नै नेताहरूलाई पनि प्रश्न गर्ने आँट राख्नुहोला।’
सभापति गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिस्पर्धी भएको तर, दुस्मन नभएको बताएका छन् । रास्वपाको चितवनमा सुरु पहिलो महाअधिवेशनमा शुभकामना दिँदै थापाले रास्वपा र कांग्रेसबिचको सम्बन्धबारे धारणा व्यक्त गरे ।
‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौँ र बन्छौँ पनि, तर तपाईंहरूलाई कमजोर बनाएर होइन, राम्रो कर्म गरेर र जनताको मन जितेर मात्र,’ थापाले भने ।
उनले रास्वपाको उदयले कांग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रका लागि सुखद पक्ष भएको टिप्पणी गरे ।
रास्वपाबाट कांग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए । ‘३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला,’ उनले भने । थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्ने बताए ।
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छः एमाले नेता ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर रहेको बताएका छन् । रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ । तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस्।’
नेता ज्ञवालीले रवि लामिछाने सभापति र बालेन्द्र शाह वरिष्ठ नेता चयन हुनुभएकोमा बधाई ज्ञापन गर्दै महाधिवेशनले नेतृत्व मात्र नभई पार्टीको स्पष्ट नीति र कार्यदिशा तय गर्नुपर्ने बताए ।
ज्ञवालीले रास्वपाले युवाहरूलाई राजनीतिमा जोड्न सफल भएको विषयबाट पुराना राजनीतिक दलहरूले धेरै कुरा सिक्नुपर्ने बताए । उनले जनादेश हासिल गर्नुभन्दा त्यसलाई सङ्गठित र परिचालन गर्नु ठुलो चुनौती भएको उल्लेख गर्दै भने, ‘निर्वाचन र जनमत केवल साधन हुन्, साध्य त राष्ट्र निर्माण र मुलुकको आगामी दिशा तय गर्नु हो।’
रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री एवं रास्वपा नेता शिशिर खनालको हालैका विदेश भ्रमणहरूतर्फ सङ्केत गर्दै ज्ञवालीले भूराजनीतिक संवेदनशीलतामा ध्यान दिन आग्रह गरे । ‘नेपालजस्तो सानो देशले भूराजनीतिमा एउटा सानो गल्ती गर्दा पनि त्यो थेग्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यसमा पर्याप्त बुद्धि पुर्याउनुहोला।’
ज्ञवालीले सरकार निर्माण भएको थोरै समयमै केही प्रश्नहरू उठेको तर्फ सङ्केत गर्दै राष्ट्रपति लगायतका राज्यका संस्थाहरू कमजोर बनाउन नहुने बताए । ‘यदि संस्थाहरू कमजोर भए भने प्राप्त जनमत सधैँभरि नरहन सक्छ। लोकतन्त्रमा सबै संस्थाहरू बलियो हुनुपर्छ,’ उनले भने ।
बालेनले राजा ल्याउँछ भनेर जनताले मत दिएः राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बालेन्द्र शाहले राजा ल्याउँछ भनेर जनताले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले मत दिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा सुरु भएको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा नेपालमा राजा चाहिन्छ भन्ने मत रहेको र त्यो मत रास्वपालाई गएको बताए ।
‘नेपालमा राजा चाहिन्छ भन्ने भोट पनि छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो,’ लिङदेनले भने, ‘तर, राप्रपाले होइन बालेनले राजा ल्याउँछ भनेर तपाईँहरूलाई मत दिएका छन् ।’
उनले नेपालमा समस्या नेतामा मात्रै होइन, संविधान र संरचनामा पनि रहेको बताए ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३ १९:४३