काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल केवल फुटबलको महाकुम्भ मात्र होइन, संगीत र मनोरञ्जनको भव्य उत्सव पनि बन्ने भएको छ।
नेपाली समयानुसार आज मध्यरातमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलअघि समापन समारोह र खेलको हाफटाइममा विशेष सांगीतिक प्रस्तुति हुनेछन्।
खेल सुरु हुनुअघि अमेरिकी गायिका जेनिफर हड्सनले अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गर्नेछिन्।
समारोहमा अमेरिका, क्यानडा र मेक्सिकोका १६ आयोजक सहरमा प्रतिस्पर्धा गरेका ४८ टोलीको यात्रालाई विशेष रूपमा सम्मान गरिनेछ।
हाफटाइम शो कहिले हुनेछ ?
खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे (नेपाली समय सोमबार १२ः४५ बजे) सुरु हुनेछ। पहिलो हाफ सकिएपछि करिब नेपाली समय सोमबार बिहान १ः३० बजे हाफटाइम शो सुरु हुने अपेक्षा गरिएको छ।
प्रदर्शन करिब ११ मिनेट चल्ने अनुमान गरिएको भए पनि फिफाले आधिकारिक अवधि सार्वजनिक गरेको छैन।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मञ्च निर्माण र हटाउन समय लाग्ने भएकाले मध्यविश्राम सामान्य १५ मिनेटभन्दा बढाएर २० देखि २५ मिनेटसम्म हुन सक्छ।
अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी)को नियमअनुसार मध्यविश्राम सामान्यतया १५ मिनेटभन्दा बढी हुन नहुने व्यवस्था छ। तर प्रतियोगिताको विशेष नियमअनुसार रेफ्रीको स्वीकृतिमा समय थप्न सकिन्छ।
फिफाले गत वर्ष मेटलाइफ स्टेडियममै सम्पन्न क्लब विश्वकपको फाइनलमा पहिलोपटक यस्तो अवधारणाको परीक्षण गरेको थियो। त्यसबेला हाफटाइम करिब २४ मिनेट लामो भएको थियो।
यसपटक भने मञ्च मैदानमै निर्माण गरिनेछ र दोस्रो हाफ सुरु हुनुअघि केही मिनेटमै हटाइने आयोजकहरूले बताएका छन्।
समापन समारोहमा को–कोले प्रस्तुति दिनेछन् ?
फिफाले अमेरिकी र्यापर तथा गायक पोस्ट मालोन समापन समारोहका मुख्य आकर्षण हुने जनाएको छ।
उनीसँगै इटालीकी चर्चित गायिका लौरा पाउसिनी, अमेरिकी गायिका निकोल शर्जिङ्गर, बेलायती पप स्टार रोबी विलियम्स तथा चर्चित युट्युबर आईशोस्पिडले पनि प्रस्तुति दिनेछन्।
यसबाहेक हलिउड अभिनेता टम क्रुज विशेष अतिथिका रूपमा समारोहमा सहभागी हुनेछन्।
बालिच वन्डर स्टुडियोले निर्माण गर्ने यो समारोहले अमेरिका, क्यानडा र मेक्सिकोमा एक महिनासम्म चलेको विश्वकपको अविस्मरणीय यात्रा, फुटबलको विश्वव्यापी लोकप्रियता तथा सांगीतिक विविधतालाई प्रस्तुत गर्ने फिफाले जनाएको छ।
फिफाका प्रमुख सञ्चालन अधिकृत हाइमो शिर्गीले उद्घाटन समारोहको भावनालाई निरन्तरता दिँदै समापन समारोहले संगीत, संस्कृति र फुटबलमार्फत प्रतियोगितालाई भव्य रूपमा समापन गर्ने बताए।
हाफटाइम शोमा को–को आउनेछन् ?
विश्वकप फाइनलको इतिहासमै पहिलो हाफटाइम शोमा विश्वप्रसिद्ध गायक जस्टिन बिबर मुख्य आकर्षण हुनेछन्।
उनीसँगै म्याडोना, शाकिरा र दक्षिण कोरियाली समूह बीटीएसका सदस्यहरूले पनि प्रस्तुति दिनेछन्।
यस्तै, नाइजेरियाली गायक बर्ना बोय, भेनेजुएलाका चर्चित अर्केस्ट्रा निर्देशक गुस्ताभो डुडामेल तथा न्यूयोर्कको पीएस२२ कोरस पनि कार्यक्रममा सहभागी हुनेछन्। सम्पूर्ण हाफटाइम शोको संयोजन कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिनले गरेका छन्।
शिक्षाका लागि सहयोग जुटाउने उद्देश्य
हाफटाइम शो फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो।
यस अभियानमार्फत विश्वभरका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न १० करोड अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।
जस्टिन बिबरले विश्वकपले संसारलाई एकै ठाउँमा ल्याउने अद्वितीय शक्ति भएको उल्लेख गर्दै यस्तो अभियानको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
यस्तै, प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’मा शाकिरासँग सहकार्य गरेका बर्ना बोयले विश्वकप फाइनलमा प्रस्तुति दिन पाउनु आफ्नो लागि ‘गौरव र जिम्मेवारी दुवै’ भएको प्रतिक्रिया दिएका छन्। उनले यो अवसरलाई विश्वमञ्चमा अफ्रिकाको प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिएको बताएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १९:५३