ऐजेन्सी । फिफा विश्वकप फाइनलमा पराजित भएपछि अर्जेन्टिनी स्टार लियोनल मेसी धेरै बेर भावुक भए।
खेलपछि अर्जेन्टिनाका दर्शकतर्फ उभिएर निकै बेर रोए। पछि मैदानबाट बाहिरिँदा पनि उनको आँखामा आँसु देखिएको थियो।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको मात्र ३७ सेकेन्डमै फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
गोलपछि स्पेनका युवा स्टार लामिन यामाल टोरेसलाई अँगाल्न दौडिँदा मेसीले टाउको झुकाए, अनुहार बटारे र दुवै हात कम्मरमा राखेर निराश मुद्रामा मैदान हेरेका थिए।
यमाल १९ वर्ष पुगेको एक साताभन्दा कम समयमै विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा चम्किएका हुन्।
मेसीले सन् २०२२ मा फ्रान्सविरुद्धको फाइनल जिताएर अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए। त्यसअघि र त्यसपछि लगातार दुई कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले जितेको थियो। यसपटक अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो पुरुष टोली बन्ने लक्ष्यमा थियो, तर स्पेनले त्यो सपना तोडिदियो।
मेसीले यस विश्वकपमा ८ गोल र ४ असिस्ट गरेका थिए। यससँगै उनको विश्वकप करियरमा कुल गोल संख्या २१ पुगेको थियो, जुन फ्रान्सका किलियन एमबाप्पेले तेस्रो स्थानको खेलमा दुई गोल गर्दै २२ पुर्याएर पार गरेका छन्।
मेसी तीनवटा विश्वकप फाइनलमा सुरुआत गर्ने पहिलो खेलाडी बनेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या १२५ पुगेको छ, जुन क्रिस्टियानो रोनाल्डोको १४६ गोलपछि दोस्रो स्थानमा छ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेसीको प्रशंसा गर्दै भने, 'म आशा गर्छु, सबैले उनलाई र उनले हासिल गरेका उपलब्धिहरूलाई गर्वका साथ सम्झनेछन्, किनकि उनी मैदानमा पाइला टेक्ने सबैभन्दा महान फुटबल खेलाडी हुन्।'
फाइनलमा मेसीले पहिलो हाफमा मात्र १५ पटक बल छोएका थिए भने पूरा खेलमा ५४ पटक बल नियन्त्रणमा लिएका थिए। उनले गोल गर्ने स्पष्ट अवसर पाएनन् र सहकर्मीलाई दिएको धेरै पास पनि सफल हुन सकेन।
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले भने, 'हाम्रो पहिलो योजना मेसीलाई नियन्त्रणमा राख्नु थियो।'
खेलपछि स्पेनका आधा दर्जन खेलाडी मेसीलाई अँगाल्न र सान्त्वना दिन पुगेका थिए। मेसी घाँसमा बस्दै दुवै हात पछाडि राखेर केहीबेर मैदानतर्फ टोलाइरहेका थिए।
पदक वितरणका क्रममा स्पेनका खेलाडीहरूले अर्जेन्टिनी खेलाडीहरूलाई सम्मानस्वरूप ‘गार्ड अफ अनर’ दिएका थिए। तर मेसी मुस्कुराउने प्रयास गरे पनि सफल हुन सकेनन्। विपक्षी खेलाडीहरूले उनको ढाड र छातीमा हात राखेर सान्त्वना दिएका थिए।
स्पेन अब पुरुष र महिला दुवै विश्वकप उपाधि एकै समयमा जित्ने पहिलो राष्ट्र बनेको छ। फाइनलमा स्पेनले अर्जेन्टिनामाथि पूर्ण प्रभुत्व जमायो। उसले २०–२ को सटको अग्रता बनायो भने पासमा पनि ८४५–४३३ ले अर्जेन्टिनालाई पछि पार्यो।
खेलपछि मेसीले नतिजा स्वीकारे।
ुम दुःखी छु, तर हामीले आफ्नो सम्पूर्ण दिल लगाएर खेलेका छौं भन्ने मलाई थाहा छ,ु मेसीको भनाइ उद्धृत गरेर अमेरिकी समाचार संस्था एसोसियटेड प्रेसले समाचार लेखेको छ।
'स्पेन राम्रो टोली थियो, यो सत्य हो। हामी हार्यौं र त्यसलाई स्वीकार गर्छौं। तर यसले हामीले अहिलेसम्म गरेका उपलब्धिहरूलाई बिर्साउने छैन। म आफ्ना समर्थक, खेलाडी र देशलाई धन्यवाद दिन चाहन्छु,' मेसीले अगाडि भने।
८० हजार ६६३ दर्शक क्षमताको मेटलाइफ स्टेडियममा अधिकांश समर्थक मेसीले ३९ वर्षको उमेरमा दोस्रो विश्वकप उपाधि जितून् भन्ने चाहन्थे। तर अन्ततः सुनौलो कन्फेटी स्पेनका खेलाडीमाथि वर्षिरहँदा मेसी झुकेका काँध र मलिन अनुहारसहित मैदानको कुनाबाट बाहिरिएका थिए।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३ ०९:२५