असार १०, सिमकोट । आर्थिक वर्ष ०७६।०७७ को बजेट सहितको नीति तथा कार्यक्रमका लागि बसेको सिमकोट गाउँपालिकाको गाउँसभा बैठक आठै वडाका वडा सदस्यले बहिष्कार गरेका छन् ।
गाउँ कार्यपालिकाले योजना छनोट तथा कार्यान्वयनका क्रममा स्वेच्छाचारी गरेको आरोप लागाउँदै सबै वडा सदस्यले गाउँसभा बहिष्कार गरेका छन् । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका २८ जना वडा सदस्य मध्ये सबैले बैठक बहिष्कार गरेपछि नीति तथा कार्यक्रम पास नहुँदै ४४ जना सदस्य सभाबाट बाहिरिए पछि बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
पालिका उपाध्यक्ष वली रावत अस्वस्थको कारण देखिउँदै सभामा अनुपस्थित भएपछि २ नम्बर वडाका अध्यक्ष नर भण्डारीले प्रस्तुत गरेका थिए । भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६।०७७ का बजेट माथिको छलफल शुरु भएपछि वडा सदस्यले सभा बहिष्कार गरेका छन् । सभामा प्रस्तुत ३७ करोड ५५ लाख ६२ हजारको बजेटमा कार्यपालिकाका सदस्यले मनोमानी रुपमा योजना छनोट गरेको भन्दै बैठक बहिष्कार गर्न वडा सदस्य जयबहादुर शाहीले आग्रह गरेपछि सबै सदस्य सभाबाट बाहिरिएका थिए ।
बैठबाट सदस्य बाहिरिए लगत्तै केही समय सभा स्थगित गरेका सभाध्यक्ष पदमबहादुर लामाले आधाघण्टासम्म कोही सदस्य नआए सभा अनिश्चित कालका लागि स्थगित गर्नु भएको छ ।
सा स्थगित भएसँगै सिमकोटको नीति तथा कार्यक्रम र बजेट पास गर्ने विषय अन्योल बनेको छ । बजेट असर १० गते गाउँसभामा प्रस्तुत गरेर असार अन्तिमसम्म पास गर्नु पर्ने कानुनी व्यवस्था भएपनि सदस्यको बहिष्कारले के हुने हो भन्ने बारेमा केही भन्न नसकिने सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।
सात गाउँपालिका भएको हुम्लामा अन्य ६ वटा गाउँपालिकाले भने आज बजेट ल्याउन सकनन । सम्बन्धित गाउँपालिका स्रोतका अनुशार अदानचुलीले ११ गते, ताँजकोटले १२ गते बजेट ल्याउने तयारी गरेका छन् भने सर्केघाड, चंखेली र नाम्खाले यही सातमा बजेट ल्याउने तयारी गरेका छन् ।