सुर्खेत । मुगुका मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
शाहीलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना प्रदेश सभा सदस्यको समर्थन छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन न्यूनतम २१ सिट आवश्यक पर्छ । एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।
यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए ।
मंगलबहादुर शाही संसदीय राजनीतिमा प्रवेश गर्दैगर्दा मुख्यमन्त्री बन्छु भनेर सायदै सोचेका थिए होलान् । यदि तत्कालीन नेकपा माओवादी र एकीकृत समाजवादीबिच एकता नहुँदो हो त उनी मुख्यमन्त्री बन्ने सम्भावना नै थिएन ।
केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो । एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता राजकुमार शर्मा अलग भए । गत मंसिर १७ गते दलको नेताबाट राजीनामा दिएका उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागे ।
त्यसपछि माओवादी कर्णाली प्रदेश संसदीय दल नेतृत्वविहीन बन्यो । शर्माको राजीनामापछि दलको नेतामा धेरैको आकाङ्क्षा थियो । अन्तिममा माघ ३ गते बसेको दलको बैठकले शाहीलाई नै दल नेतामा चयन गर्यो । साथै, उनी प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा रहे । दलको नेता बनेको ५ महिनामै कर्णालीको मुख्यमन्त्री बन्ने उनी भाग्यमानी नेता हुन् ।
शोरुको शिक्षकबाट सशस्त्र विद्रोहमा
२०२५ साल भदौ १६ गते हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका—६, सोरुकोटमा जन्मिएका शाहीको राजनीति यात्रा तत्कालीन अनेरास्ववियुबाट सुरु भएको हो ।
१ देखि ३ कक्षासम्मको प्राथमिक पढाइ सोरुकोट प्राविमा पढेका शाहीले २०४४ सालमा जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि २०४४ मै उच्च शिक्षा अध्ययन गर्ने भनेर काठमाडौँ हानिए ।
काठमाडौँको नेपाल ल क्याम्पस भर्ना भएका उनले त्यही क्रममा नेकपा माले निकट अनेरास्ववियु एकताको पाँचौँमा संगठित भएका थिए । २०४६ सालमा अध्ययन सकेर मुगु फर्किसकेपछि उनी शिक्षण पेसामा लागे ।
उनी पार्टी र शिक्षण दुवैतर्फ काम गर्थे । शिक्षक पेसामा रहिरहँदा अनेरास्ववियु एकताको पाँचौँमा आबद्ध रहिरहेका शाहीले चुनौतीका बिच शिक्षण र राजनीतिलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।
२०४६ सालको जनआन्दोलनपछिको खुला राजनीतिक परिवेशमा फेरि अनेरास्ववियु एकताको छैटौँ राष्ट्रिय सम्मेलन भयो । उनी त्यसमा सक्रिय रूपमा सहभागी भए । पछि सबै मिलेर नेकपा एमाले बन्यो । शाही एमालेको साधारण सदस्यका रूपमा पार्टीमा जोडिए ।
‘एकातिर शिक्षक पेसामा थिएँ, अर्कोतिर पार्टीको एउटा सक्रिय कार्यकर्ताको रूपमा काम गरिरहेको थिएँ,’ शाही भन्छन् । शिक्षक पेसामा रहिरहँदा एमालेको इलाका कमिटीको सचिव समेत बने उनी । त्यतिबेलाको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा पनि आबद्ध भएर उनले काम गरे ।
२०४८ र २०५१ सालमा दुवै पटक नेपाली कांग्रेसले चुनाव जित्यो । त्यसपछि नेकपा एमालेमा जोडिएका शिक्षकहरूलाई सरुवा गर्ने, दुःख दिने काम भयो । दुई वर्ष अस्थायी र ११ वर्ष स्थायी गरेर १३ वर्ष शिक्षण गरेका उनले मुगुकै १६ वटा विद्यालयमा अध्यापन गराए । ‘६–६ महिनामा हामीलाई काजमा पठाउने, सरुवा गरिदिने काम भयोे,’ उनी सम्झिन्छन् ।
२०५६ सालको चुनावमा हाल नेकपाकै कर्णाली प्रदेश इन्चार्ज रहेका चन्द्रबहादुर शाही एमालेबाट उम्मेदवार थिए । कांग्रेस—एमालेबीच प्रतिस्पर्धा । चुनावमा चन्द्रबहादुर शाही विजयी भए, तर निर्वाचनको प्रक्रियामा झडप भयो । त्यसपछि आफूमाथि ज्यान मार्ने उद्योगको मुद्दा लगाएर ९ दिन हिरासतमा बस्नुपरेको सम्झन्छन् उनी ।
छुटिसकेपछि आफ्नै दलमा नेताबाट अपमानित हुनुपर्दा उनको मनमा केही बदलाव आयो । उनका चिनजानका केही साथीहरू माओवादीले थालेको जनयुद्धमा भूमिगत भइसकेका थिए । उनीहरूसँग उनको भेट भइरहन्थ्यो । २०५७ सालमातिर पुनः भेट भयो । ‘शिक्षक पनि भएको, राजनीतिमा पनि सक्रिय भएकाले माओवादीमा आबद्ध हुनुपर्छ भन्ने साथीहरूको सुझाव आयो,’ शाहीले स्मरण गरे, ‘त्यसपछि महान् जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर जानुपर्छ भन्ने मनमा लाग्यो ।’
२०५८ भदौमा उनले शिक्षकको जागिर छाडे । ‘होलटाइमर कार्यकर्ता’को रूपमा जनयुद्धमा सहभागी भए ।
२०५९ सालमा माओवादीको जिल्ला कमिटीको सदस्य बनेका उनीमाथि एकातिर शिक्षक सङ्गठनको जिम्मेवारी पनि थियो भने अर्कातिर पार्टीमा काम गर्नुपर्ने । दुवैतर्फको कुशल जिम्मेवारी निभाएका उनी आफ्नो जिन्दगीलाई नाफाको जिन्दगीका रुपमा व्याख्या गर्छन् ।
उनले जनयुद्धमा समेत भाग लिए । २०५९ सालमा डोल्पामा माझफाल घटनामा ७ जना सहयात्री गुमाएको उनी सम्झिन्छन् । आफू युद्धमा होमिएपछि परिवारले पाएको दुःख सम्झेर उनी भावुक हुन्छन् । ‘जतिखेर हामी जनयुद्धमा थियौँ, त्यतिखेर मेरो बुबालाई प्रशासनले पक्राउ गर्न भनेर ताकेता गर्थ्यो । बुबाचाहिँ भागेर हिँड्नुपर्थ्यो,’ शाही विगततर्फ फर्किए । पछि प्रशासनले अति गरेपछि बुबा भागेर काठमाडौँ गएर बस्नुपरेको उनले सुनाए ।
थुप्रै पटक तत्कालीन सेनाको घेराबाट बचेका उनी सम्झन्छन् । ‘हाम्रो जिन्दगी त नाफाको जिन्दगी हो । हामी मृत्युलाई जितेर आएको हो । यो देशको राज्यसत्ता बदल्नका लागि,’ उनले भने ।
पछि माओवादी शान्ति प्रक्रियामा आयो । २०६४ सालमा पहिलो पटक मुगु जिल्लाको डीसीएसको जिम्मेवारी पाए । २०६५ सालमा जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका उनी हाल नेकपाको केन्द्रीय सदस्य छन् ।
विशेष गरेर २०७० सालमा संविधान सभाको निर्वाचन बहिष्कारको प्रक्रियामा थिए उनी । त्यतिखेर वैद्यतिर जोडिएका थिए । संविधान सभाको निर्वाचनको बहिष्कारको प्रक्रियामा उनी १८ दिन हिरासतमा बसेका थिए ।
२०७१ मा उनी पुनः देशमा गणतन्त्र, सङ्घीयताको संस्थागत प्रचण्डको नेतृत्वबाट मात्रै सम्भव छ भन्ने निष्कर्षसहित माओवादीमा फर्किए ।
उनी २०७९ सालमा पहिलो पटक निर्वाचन लडेका हुन् । मुगु ९२० बाट पहिलो पटकमै प्रदेश सभा चुनाव जितेका शाही इमानदार नेताका रूपमा चिनिन्छन् ।
आईएलसम्म अध्ययन गरेका उनी पाँच वटा दाजुभाइ र दिदीबहिनीमध्ये जेठा छोरा हुन् । अहिले दुई छोरा, चार वटा छोरीहरूका बुबा समेत रहेका उनी सङ्घर्षशील नेताका रूपमा चिनिन्छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ ०८:१५