काठमाडौं । १४औँ महाधिवेशन पक्षधरका ‘कमान्डर’ बिपीपुत्र शशांक, ५५१ सदस्यीय राष्ट्रिय कार्यकर्ता भेला आयोजक समिति गठन, सहमति नभए २९ साउनमा हुने भेलाबाट नयाँ पार्टी घोषणाको तयारी गरेको नेपाली कांग्रेस औपचारिक विभाजनमा मात्रै अड्किएको छ ।
विभाजन पछिको नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने योजना गरेको पुर्वसभापति शेरबहादुर देउवा पक्षिय कांग्रेसको अन्य सबै तयारी पुरा भएको स्रोतले जनाएको छ ।
देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढे त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आगामी निर्वाचनको राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
विवादबिच कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला १४औँ महाधिवेशन पक्षधर (संस्थापन इतर) समूहको नेतृत्वमा आएका छन् । आगामी २९ साउनमा हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उनी ५२१ सदस्यीय मूल आयोजक समितिका संयोजक भएका हुन् ।
पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार १४औँ महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो । समूहका नेताहरूका अनुसार २९ साउनसम्म संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ । यस परिस्थितिका लागि दुवै पक्षले एक–अर्कालाई जिम्मेवार ठहराएका छन् ।
‘आज हामीले शशांक कोइरालालाई हाम्रो समूहको नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौँ । हामीबिच एकता छैन भन्ने टीकाटिप्पणीलाई यस निर्णयले अन्त्य गरेको छ,’ निधिले भने । नयाँ पार्टी गठनबारे भने उनले २९ साउनको राष्ट्रिय भेलाले निर्णय गर्ने स्पष्ट पारे । ‘अहिलेसम्म नयाँ पार्टी खुलेको छैन । आवश्यक परे राष्ट्रिय भेलाले त्यसबारे निर्णय गर्नेछ,’ निधिले भने ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार–प्रसारलगायत १६ वटा समिति गठन गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मालगायत सहभागी थिए । सभापति शेरबहादुर देउवा विदेशमा रहेकाले उपस्थित भएनन् भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पनि कार्यक्रममा अनुपस्थित रहे ।
शशांकले भने शेखर कोइरालाको समर्थन आफूलाई रहेको दाबी गरे । ‘शेखर दाइसँग निरन्तर संवाद भइरहेको छ । उहाँ आज पनि आउने तयारीमा हुनुहुन्थ्यो, तर विराटनगरमा रहेकाले आउन सक्नुभएन । उहाँले मेरो अभियानमा समर्थन रहेको सन्देश दिनुभएको छ,’ उनले भने ।
निधिले पनि पूर्णबहादुर खड्का र शेखर कोइरालाको सहमति रहेको दाबी गर्दै शशांकलाई सर्वसम्मत रूपमा नेतृत्वमा चयन गरिएको बताए । ‘सबैको सहमति छ । पूर्णजी बिरामी हुनुहुन्छ । शेखरजीको सहमति छ, उहाँले सार्वजनिक रूपमा भनिसक्नुभएको छ । यसमा सबैको सहमति छ,’ निधिले भने ।
शेखरनिकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘अहिले कांग्रेसको अन्तर्पार्टी, सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ । पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन, राष्ट्रलाई पनि पुग्छ,’ उनले भने । उनले सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गरे । उनले भने, ‘सभापति गगन थापालाई यो अन्तिम गोल्डेन चान्स हो ।’
यद्यपि, विभाजनको अवस्था आए त्यसबाट पछि हट्न नसकिने कार्कीको भनाइ छ । ‘जेलनेल भोगेका, शारीरिक–मानसिक यातना सहेर पार्टी निर्माण गरेका नेताहरू पार्टी फुटोस् भन्ने पक्षमा छैनन् । तर, परिस्थितिले त्यतातिर धकेल्यो भने निर्णय लिनैपर्ने अवस्था आउँछ,’ उनले भने । गिरिजाप्रसाद कोइरालाको भनाइ उद्धृत गर्दै उनले थपे, ‘पार्टीमा प्रवेश गर्ने ढोका हुन्छ, बाहिरिने ढोका हुँदैन । अहिलेको अवस्थामा त्यो भनाइ नेताहरूमा पनि लागू भएको देखिन्छ ।’
संस्थापन पक्षसँग सहमति नभए २९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने चर्चा भए पनि निधिले यसबारे कुनै औपचारिक निर्णय नभएको बताए । उनका अनुसार सबै विषय राष्ट्रिय भेलाबाटै टुंगो लगाइनेछ ।
शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सशक्त र सक्षम बनाउने उद्देश्यले आफ्नै संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख छ । पार्टीभित्र एकताका लागि निरन्तर प्रयास गर्दा पनि नेतृत्व तहबाट सार्थक पहल नभएकाले नेता–कार्यकर्ता, जनप्रतिनिधि, समर्थक र शुभेच्छुकमा बढ्दो निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको दाबी विज्ञप्तिमा गरिएको छ ।
‘पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरी यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा छ, ‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएका छौँ ।’ भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर प्रमुख, क्षेत्रीय सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलगायतलाई सहभागी हुन आह्वान गरिएको छ ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेसको पछिल्लो अवस्थाले पार्टीभित्रको संकट थप गहिरिएको संकेत गरेको बताउँछन् । उनका अनुसार बिपी कोइरालाको स्मृति दिवससमेत एउटै मञ्चबाट मनाउन नसकी समानान्तर कार्यक्रम आयोजना भएपछि कांग्रेस मनोवैज्ञानिक र राजनीतिक दुवै रूपमा विभाजनउन्मुख देखिएको थियो । शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयले त्यो संकेतलाई थप बलियो बनाएको उनको विश्लेषण छ ।
यद्यपि, वाग्ले आजको आवश्यकता विभाजन नभई एकता भएको बताउँछन् । उनका अनुसार कांग्रेसले आरोप–प्रत्यारोप, आत्मप्रशंसा वा आत्मनिन्दाभन्दा पनि आत्मचिन्तन, आत्मसमीक्षा र आत्मालोचनामा केन्द्रित हुनुपर्छ । अन्यथा, यस्तो प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने र कार्यकर्तामा निराशा झन् बढ्ने उनको चेतावनी छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ ०७:४८