काठमाडौं । अलग्गै पार्टी बनाउने तयारीस्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्र्रतिपक्षी दल कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ ।
इतर पक्षले २९ साउनमा भेला आह्वान गरेको पाँच दिन अगावै संस्थापन पक्षले २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । एक साताको बिचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन् ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले २४ साउनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि भनिएको बताए । उनले उक्त बैठकमा पार्टीको आन्तरिक एकतासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
संस्थापन पक्ष आन्तरिक एकताका लागि गम्भीर नभएको आरोप इतरपक्षले लगाउँदै आएको छ । २९ साउनसम्मको अल्टिमेटम दिँदै इतरपक्षले उक्त अवधिसम्म सहमति नभए भेलामार्फत नयाँ दल गठनको तयारी गरेको छ । तर, संस्थापन पक्षले पार्टी एकता अहिलेको आवश्यकता रहेको भन्दै असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाउने बताएको छ । तर, आइतबार यसमा कुनै प्रगति भएको छैन ।
इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेको छ । भेलाका लागि १६ वटा तयारी समिति पनि गठन गरिएको छ । संस्थापन इतरपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने मुख्य माग अघि सारेको छ । संस्थापन पक्षले भने पुरानो कार्यसमितिलाई विशेष महाधिवेशनले विस्थापित गरेकाले त्यही कार्यसमितिलाई नयाँ कार्यसमितिमा समायोजन गर्न नमिल्ने अडान राख्दै आएको छ ।
युवा नेता सक्रिय, ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा
पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीलगायतले अभियान घोषणा गरेका हुन् ।
उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० साउनमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने जानकारी दिएका छन् । सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भेला आह्वान गरिएको छ । भेलामा संस्थापन र इतर दुवै पक्षका नेता तथा कार्यकर्ता सहभागी हुने दाबी अभियानको छ ।
भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता हुने अभियानको दाबी छ । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराइसकेको अभियानको दाबी छ ।
आन्तरिक किचलोले पार्टी कमजोर भएको दाबी गर्दै नेता महरले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखिएको बताए । कांग्रेस आन्तरिक विवादमा रुमलिनु लोकतन्त्रकै लागि चिन्ताको विषय भएको उनले बताए । ‘कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात गर्दै हामीले यो अभियान सुरु गरेका हौँ,’ महरले भने, ‘देश गम्भीर चुनौतीबाट गुज्रिरहेको वेला कांग्रेसको आन्तरिक एकता अनिवार्य छ ।’ नेता रञ्जित कर्णले दुवै पक्ष पार्टी एक बनाउन लाग्नुपर्नेमा जोड दिए । ‘पार्टीको आन्तरिक विवादले कांग्रेसलाई मात्र होइन, लोकतन्त्रलाई नै कमजोर बनाएको छ । एकताबद्ध भएर जानुपर्ने वेला विवाद चर्किनुले कसैलाई पनि हित गर्दैन ।’
कांग्रेस विभाजित भए लोकतन्त्र कमजोर हुने र प्रतिगामी शक्ति हाबी हुने चिन्ता अभियानको छ । ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ ।
त्यसैले, कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो,’ अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यवश, यति वेला देश अनेकौँ चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौँ मूल्यबराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ । आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएका छन् ।’
अभियान कुनै गुट–उपगुटका लागि नभएको पनि दाबी गरिएको छ । ‘यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन । यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो । उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ,’ अभियानले भनेको छ, ‘हाम्रो विश्वास स्पष्ट छ– कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ ।’
युवा नेता सक्रिय
पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि कांग्रेसका युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीलगायतले अभियान घोषणा गरेका हुन् । उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० साउनमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने जानकारी दिएका छन् ।
स्थानीय जनप्रतिनिधिको पनि दबाब
पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाब बढाएका छन् । चिरिबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्कीसहितका जनप्रतिनिधिले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गरिरहेका छन् । पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी उनीहरूको छ । २७ साउनमा उनीहरूले स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ ०९:३९