काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका-५ स्थित उवा कोटलभारामा बुधबार राति गएको पहिरोमा १० जनाको ज्यान गएको छ । तीनजना अझै बेपत्ता छन् ।
उवा क्षेत्रमै पाँच र प्युठानमा पाँच गरी १० शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुष्टि गरेका हुन् ।
रोल्पामै १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगरको शव भेटिएको छ । सिडिओ क्षेत्रीका अनुसार प्युठानमा ३८ वर्षीया जुनकुमारी पुन, नौ वर्षीय असिम पुन र पाँच वर्षीय अशोक पुनको शव फेला परेको छ । परिवारका सदस्यले फोटोमा हेरेर उनीहरूको पहिचान गरेको र बाँकी दुईको पहिचान हुन नसकेको उनले बताए । पहिचान नखुलेका दुई र बेपत्ता तीनमा ८० वर्षीय अजम्बर पुनमगर, ८० वर्षकै बलबहादुर पुनमगर, ६१ वर्षीय तिलबहादुर पुनमगर, ६६ वर्षीय मनी पुनमगर र ३४ वर्षीय महेन्द्र घर्तीमगर छन् ।
‘पहिरोमा परेका पाँचजनाको शव प्युठानमा भेटिएको छ । तीनजनालाई आफन्तले फोटो हेरेर चिन्नुभयो,’ सिडिओ क्षेत्रीले भने, ‘शव क्षतविक्षत भएकाले बाँकी दुई शव पहिचान जटिल बनिरहेको छ । विभिन्न हुलिया हेरेर आफन्तले पहिचान गर्न सक्नुहोला ।’
पहिरोमा घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । डिएसपी पञ्चकुमार बाखुका अनुसार बुधबार राति करिब ८ः४० तिर गएको पहिरोले नौ घर, एक घुम्ती पसल, दुई गोठ र एउटा चर्च बगाएको छ । बिहीबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयवासी उद्धारमा खटिएका थिए ।
सुलिचौर–थबाङ सडकखण्डको उवा पहिरोको उच्च जोखिम क्षेत्र मानिन्छ । सडक बिग्रेका कारण घटनास्थलसम्म हिँडेर पुग्नुपर्ने र उद्धारमा पनि कठिनाइ भएको उद्धारमा सहभागी रेडक्रसकर्मी दीपेश विष्टले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ ०६:५९