काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीकी प्रतिमा लामा उनी पेसाले शिक्षक हुन्। उनि स्याफ्रुबेसीकै ओमिङ छामेवाङसेल स्कुलमा पढाउँथिन् ।
गएको बुधबार बिहान झण्डै सवा ९ बजे सदा झैं उनि विद्यालय जान तयार भएकी थिइन् । घरबाट ५(७ मिनेट दुरीमा रहेको बजारमा स्टेसनरी पसल पनि छ थियो उनको । विद्यालयमा फुर्सद भएको बेला स्टेसनरी पसल खोल्ने गर्थिन ।
स्कुल बस आउन केही मिनेट मात्र बाँकी थियो। ९ वर्षकी छोरी उनीसँगै विद्यालय जान तयार भएर बसेकी थिइन्। प्रतिमा भने स्कुल जानुअघि पसल बन्द गर्ने तयारी गर्दै थिइन्।
त्यही बेला उनको फोन लगातार बज्न थाल्यो।
पसलमा ग्राहकहरू सामान किनिरहेकाले उनले सुरूमा दुई पटकसम्म फोन उठाउन पाइनन्। फोन गर्ने व्यक्ति त्यही गाउँपालिकाको वडा नम्बर २ टिमुरेस्थित भन्सार कार्यालयमा काम गर्ने उनका भाइ थिए।
उनले तेस्रो पटकमा भाइको फोन उठाइन्।
सुरूमा उताबाट स्पष्ट आवाज आएन।
'उताबाट 'हेलो-हेलो' भनेको मात्र सुनिरहेको थिएँ,' उनले सम्झिइन्, 'भाइको आवाज एकदम आत्तिएजस्तो लाग्थ्यो। एकै पटक धेरैले फोन गर्न खोजेकाले होला, कहिले व्यस्त त कहिले घन्टी नगई काटिइरहेको थियो। दुई-तीन पटक त्यस्तै भयो।'
उनले अगाडि भनिन्, '२/३ मिनेटपछि मात्र प्रस्ट आवाज आयो— माथिबाट बाढी आइरहेको छ, तपाईंहरू छिटो भाग्नुहोस् '
भाइसँग कुरा गर्दागर्दै आसपासका मानिस पनि 'भाग्नुहोस्' भन्दै दौडिन थालिसकेका थिए। पसलबाट बाहिर निस्किएर हेर्दा माथि भोटेकोशीबाट ठूलो धुवाँ उडेजस्तो देखियो।
त्यसपछि पसलको सटर समेत नतानी छोरीलाई डोहोर्याउँदै उनी भीरको उकालोतिर हानिइन्।
'भाग्दाभाग्दै बाढी स्याफ्रुबेसीको बजार छिर्यो। हामी केही मिनेटले मात्र बाँच्यौं,' उनले भनिन्, 'भाइको एक फोनले ज्यान त बच्यो, तर सम्झिँदा अझै मन सिरिंग हुन्छ।'
उनी डाँडातिर उकालो लाग्दै गर्दा फर्केर हेर्न समेत भ्याएकी थिइनन्। २र३ मिनेट माथि पुगेर हेर्दा सिँगो बजार पूरै डुबिसकेको थियो।
उनको घर खोला नजिकै थियो, जुन पूर्ण रूपमा बग्यो। घरबाट ५/७ मिनेट दूरीमा रहेको पसल भएको भवन भने आधा डुबेको उनी बताउँछिन्।
'एउटा सानो घर थियो, २५/३० लाख रूपैयाँको पसल थियो। दुवै बग्यो, केही बाँकी रहेन। एकसरो लगाएको लुगा र विद्यालय जान बोकेको ब्याग मात्र बाँकी छ। त्यो पनि भाग्दै गर्दा हिलोले भेटेर पेन र डायरी राखेको ठाउँमा माटो भरिएको छ,' उनले दुःखेसो पोखिन्।
'भाइको फोन उठाउन एक मिनेट मात्र ढिला भएको भए हाम्रो ज्यान बाँच्दैनथ्यो होला,' उनी भन्छिन्, 'त्यति बेला बिहानको खाजा खाने र स्कुल जाने ठिक्क समय भएको थियो। त्यसैले होटेल र पर्यटकहरूको बजारमा भीड थियो। गन्तीका केही व्यक्तिबाहेक अरू कोही भाग्नै पाएनन्।'
उनका अनुसार भोटेकोशी नदी उर्लिएर आउँदा उडेको धुवाँ देख्नेहरू मात्र भाग्न सफल भएका थिए।
प्रतिमाले पनि बाढी आयो भनेर भाग्न भनिरहँदा केही मानिस आफ्नै काममा व्यस्त थिए। बाढी त्यति भीषण होला भनेर त्यहाँ कसैले कल्पना नै गरेका थिएनन्। घरभित्र हुनेहरूले त बाहिर निस्किने समयसम्म पाएनन्।
माथि टिमुरेबाट फोन आएको २ देखि ३ मिनेट बित्न नपाउँदै उर्लिएको बाढीले स्याफ्रुबेसी बजार तहसनहस बनायो। टिमुरे स्याफ्रुबेसीबाट १६ किलोमिटर माथि पर्छ। भाइले आफू सुरक्षित ठाउँमा पुगेर मात्र फोन गरेको हुन सक्ने उनी बताउँछिन्।
'आँखैअगाडि घर-पसल डुबायो,' उनले भनिन्, 'सम्झिँदा पनि अझै ज्यान कामिरहेको छ।'
एकैछिनको बाढीले बजारै सखाप पारेको त्यो पल जीवनकै सबभन्दा कहालीलाग्दो बनेको उनी बताउँछिन्।
'हामी भागेर सुरक्षित ठाउँमा बसिरह्यौं। घाइते भएकाहरू पीडाले छटपटाइरहेका थिए,' उनले भनिन्, 'हातमा फोन भएकाले मैले पनि आफन्तहरूलाई फोन गरेर उद्धारका लागि सहयोग मागेँ।'
उद्धारका लागि उनको नाम र फोन नम्बर बुधबार सामाजिक सञ्जालभरि छाएको थियो। धेरैले उनको उद्धारका लागि आवाज उठाए।
'दिउँसो धेरै पटक नजिकै उडिरहेको हेलिकप्टरले उद्धार गरेन। हामी डरले सरकारलाई पुकार्दै बस्यौं, साँझपख मात्र उद्धार गर्यो,' उनले भनिन्, 'हामीलाई त्यहाँबाट उद्धार गरेर धुन्चे ल्याएर राखियो।'
उनीसँगै घाइते भएका ५/६ जनालाई पनि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको थियो। सकुशल रहेका युवायुवतीलाई भने त्यहीँ छाडिएको थियो।
उनी आफू दृष्टिविहीन भएकाले उद्धार गरिएको सुनाउँछिन्। उनका दुवै आँखामा समस्या छ, प्रस्ट देख्न सक्दिनन्। स्याफ्रुबाट धुन्चे पुर्याइएपछि त्यहाँ चिनेजानेका साथी भएकाले रात त्यहीँ बित्यो।
'आफ्नो लुगा हिलो र रगतले लत्पतिएकाले साथीको लुगा मागेर लगाएँ,' उनले भनिन्, सबथोक गुमाएकाले होला, शरीर कामिरहेको थियो। रातभर 'निदाउनै सकिनँ।'
प्रतिमा जन्मे-हुर्केको ठाउँ नै त्यही हो। आमाबुबा बितेपछि उनी त्यहीँ बसिरहेकी थिइन्। दुःख(सुख गरेर दुई-तीन वर्षयता पसलबाट राम्रै आम्दानी भइरहेको उनी बताउँछिन्।
आफ्नो मिहिनेतले बनाएको घर, पसल र सिँगो गाउँ नै डुबेको त्यो दृश्य अझै पनि उनको आँखामा झल्झली आइरहेको छ।
उनलाई बिहीबार धुन्चेबाट नुवाकोटको बट्टारस्थित सैनिक ब्यारेकमा ल्याएर राखिएको छ। हाल ब्यारेकमै रहेकी प्रतिमा शारीरिक रूपमा सकुशल भए पनि मानसिक रूपमा भने निकै तनावमा छिन्।
'सबथोक गुमाएँ, केही बाँकी छैन। खानपिन त सेनाले व्यवस्था गरिदिनुभएको छ, तर खान मनै मान्दैन,' उनले भनिन्, 'आफन्तहरू काठमाडौंमा भएकाले त्यहीँ जान चाहन्छु। हामीलाई जसरी भए पनि काठमाडौंसम्म पुग्ने व्यवस्था भइदिए हुन्थ्यो।'
टिमुरे र स्याफ्रुबेसीमा लगभग डेढ-डेढ सय घरधुरी थिए, जहाँ झन्डै ५ सयभन्दा बढी स्थानीय, व्यापारी, सवारी चालक र सरकारी कर्मचारीको बसोबास थियो। बाढीले ती बस्तीका अधिकांश घर नदीमा मिसाइदिएको छ। स्याफ्रुबेसी र टिमुरे क्षेत्रबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उपाध्यक्ष प्रतिमा गुरूङ र वडाध्यक्षहरूसमेत सम्पर्कविहीन बनेका छन्।
'त्यहाँ घरमै रहेकाहरू कोही बाँकी रहेका छैनन्। घरहरू पूरै डुबेका छन्,' प्रतिमाले भनिन्, 'जे भए पनि बाँचियो। उद्धारका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु।'
बाढीको विनाशकारी रूप यति व्यापक थियो, तटीय क्षेत्रमा रहेका सयौं मानिस बगे। यसको असर रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३ १०:३७