सिमकोट । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सर्वसाधारणलाई जनैपूर्णिमामा भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानको तर्क
जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको भनाइ छ ।
आजको दिनको मन्त्रः
'येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।'
अर्थात्
'जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
नेवा संस्कृतिमा जनै पूर्णिमा
'आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई 'गुंला महिनाको पुन्हिू अर्थात् 'गुंपुन्हिू भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरकारक्षा बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
जनै पूर्णिमा को बिशेष मेलाहरू
आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्रीया अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३(३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।
जनैको धारण र गायत्री मन्त्रको उच्चारण
परिवर्तित परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामर्थ्यको वृद्धि हुने विश्वास छ ।
साथै यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
पौराणिक मान्यता
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।
यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
क्वाँटी खाने र राखी बाँदने चलन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । तर गएको बुधबार रसुवामा गएको बाढीका कारण यो वर्ष जनैपूर्णीमा खासै बनाउने अवस्था छैन् । बाढीका कारण देश शोकमग्न अवस्थामा भएकाले रसुवा, नुवाकोट, काठमाडौं, धादिङ्गलगायत देशैभर खासै पहिलेको जसरी चहलपहल देखिदैन् । बाढीमा परेर अहिलेसम्म ४६९ जनाको शव फेला परेको छ भने सयौको संख्यामा वेपत्ता भएकाले आफन्तको खोजिकार्य तथा खोज उद्धारमा सिङ्गो देश लागेको छ ।
कर्णाली धामी नाचेर साउने पूर्णीमा
जनैपूर्णीमालाई कर्णालीमा भने साउन पुर्णिमाको रुपमा धुमधामका साथ आज मनाइदैं छ ।
कर्णालीका प्रायः जिल्लाहरुमा भएका थान, माडौंमा साउन पूर्णीमको अघिल्लो दिन चतुदर्शीको दिनदेखि पुजाआजा र धामी नाचेर मनाइदैछ ।
हुम्ला जिल्ला सदरमुकाम सिमकोटको माथिल्लो बजार र तल्लो बजारको माडुमा, ताजाकोट गाउँपालिका र अदानचुली गाउँपालिकाको बिचमा पर्ने झाडमाडुमा भएको माडुमा ठूलो जात्रा लाग्ने गरेको छ ।
यसैगरी जिल्लाका अधिकांश क्षेत्रमा भएका धार्मिक मठ मन्दिर र माडुमा आज बिहानै देखि पुजाआजा सहितको धामी नाच नाच्ने गरिएको छ ।
मदना देवताको ठूलो धामका रुपमा मनाइने साउने पूर्णीमाको अवसरमा आज हुम्लाका अदानचुली, ताँजाकोट, मुगुकोे शोरु र बाजुरा जिल्लाका दर्शालुहरु झाडमाडुमा उपस्थित हुने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३ ०९:३६