काठमाडौं । शनिबार रसुवाबाट हेलिकप्टरमा उद्धार गरेर काठमाडौँ ल्याइएका लोकबहादुर र गीता उचा मगरका लागि पत्याउनै मुस्किल पर्ने खबर आयो।
शनिबार बिहानै उनीहरूले सुने– बाढीमा घरसँगै पुरिएकी उनीहरूकी पाँच वर्षीया छोरी मनिषालाई ६० घण्टापछि सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ।
टिमुरे बोर्डर आउट पोस्टबाट खटिएको टोलीले शुक्रबार बेलुका मनिषाको उद्धार गरेको थियो। त्यो दिन उनलाई बीओपीमै राखियो। र, भोलिपल्ट जिल्ला अस्पताल धुन्चे लगियो।
१२ घण्टासम्म उनको पहिचान खुलेन।
धुन्चेमा लगेपछि प्रभू बैंक टिमुरे शाखाका कर्मचारी दावा तामाङले आफ्नो कार्यालयमा काम गर्ने गीताकी छोरी भएको पत्ता लगाए। त्यसपछि उनैले गीतालाई फोन गरेर छोरी भेटिएको जानकारी दिए।
दावाले मनिषा भेटिएको भने पनि गीताले पत्याइनन्। किनकि उनी तीन दिन कुरेर अब अब छोरीको चिनो समेत भेटिने आश मार्दै त्रिशूलीबाट बाटो लागेकी थिइन्।
‘दावा सरले फोन गरेर मनिषा भेटियो भन्नु भयो। तर मलाई विश्वास नै लागेन। हो, सशस्त्रले भत्किएको घरभित्र पुरिएको अवस्थामा हिजो बेल्का उद्धार गरेछ। धुन्चेमा उपचार हुँदैछ भन्नु भयो। तर मैले तपाईंले चिन्नुभएन होला भनेँ। म फोटो पठाइदिन्छु भनेर भेनाको मोबाइलमा फोटो पठाइदिनु भयो। हो रहेछ। हाम्रै नानी रहिछ,’ गीताले भनिन्।
५ वर्षकी मनिषा लोकबहादुर र गीताकी कान्छी छोरी हुन्। दावाले फोटो नपठाएसम्म जीवितै भेटिएको भन्ने पत्यार नै लागेन। छोरी भेटिने आश मारेर उनीहरू अर्घाखाँची जान काठमाडौँ फर्किसकेका थिए। उनीहरूको घर अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ हो।
उनीहरूले बाढीले बगाएको घरको हालत देखेका थिए। भोलिपल्ट हेर्दा पनि लेदो मात्रै थियो। त्यस्तो घरभित्र रहेकी मनिषा सकुशल भेटिने सम्भावना देखेनन्।
‘जीवित त के, चिनो नै भेटिँदैन भनेर हामी त अर्घाखाँची हिँडेका हौँ,’ शनिबार राति त्रिवि शिक्षण अस्पतालमा छोरीको कुरुवा बसेकी गीताले भनिन्, ‘नानी यहीँ आँखा अगाडि छे। तर मलाई अहिले पनि भेटिएकै हो र जस्तो लाग्छ घरीघरी। सपना जस्तो भइराछ।’
१० गते बाढी आएपछि भागेर जोगिएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमा ११ गते दिउँसो उद्धार गरिएको थियो। उद्धार गरेर त्रिशूली पुर्याइएका उनीहरूले त्यहाँ ल्याएका घाइतेहरूबारे चासो राखे। भेटिएका शवबारे सोधिखोजी गरे। तर कतैबाट छोरी फेला परेको जानकारी पाएनन्।
‘घाइते ल्याउँदा सेनाको ब्यारेकबाहिर पुगेर सोध्यौँ। शव राखिएका अस्पताल पुग्यौँ। त्यहाँ फोटो टाँसेको थियो। हाम्रो नानीको फोटो थिएन त्यहाँ। कसैले हाम्री नानी जत्रा बच्चा देखेनौँ भने। त्यसपछि हामीलाई लाग्यो अब केही पनि भेटिँदैन,’ गीताले सुनाइन्।
११ र १२ गते त्रिशूलीमा बसेपछि पनि छोरीको केही पत्ता नलागेपछि उनीहरूको मन मर्दै गयो। दम्पतीले सल्लाह गरे– अब के गर्नेरु
उपाय केही देखेनन्। अनि, काठमाडौँ हुँदै पुरानो थातथलो अर्घाखाँची नै फर्किने निधो गरे।
‘त्यतैबाट जाने बाटो भए हामी गाडीमा अर्घाखाँची पुगिसक्थ्यौँ। सबैले हामीलाई जे हुनु भइगयो, यतै आओ। अरु दुईवटी छोरी छन्, उनीहरूको मुख हेरेर बाँच्नु पर्छ भनेर सम्झाए,’ गीताले यो बिचका दिन सम्झिइन्, ‘तिमीहरूको मात्रै यस्तो घटना भएको होइन, दुनियाँकै यस्तो भयो। अरुलाई हेरेर पनि मन बुझाउनु पर्छ भने। तर भनेर के गर्नु मन माने पो१’
काठमाडौँ आएपछि उनीहरू भिनाजूको डेरामा बसिरहेका थिए। केही दिनपछि अर्घाखाँची फर्किने योजनामा रहेको लोकबहादुरले बताए।
तर शनिबार बिहान त्रिवि शिक्षण अस्पतालमा छोरी ल्याउने खबर आयो। उनीहरूलाई पनि छिट्टै अस्पताल पुग्न भनियो। त्यसपछि उनीहरूको खुसीको सीमा नै रहेन।
भिनाजूसँग लोकबहादुर र गीता दिउँसो १ बजेतिर शिक्षण अस्पताल महाराजगन्ज पुगे। उनीहरू पुगेको केहीबेरमा प्रहरीले एम्बुलेन्सबाट काखी च्यापेर मनिषालाई निकाल्यो।
गीता र लोकबहादुर नजिकै पुगे र नानी, नानी भन्दै बोलाए। बोलिनन् मनिषा। आमा–बुबालाई देखेपछि बरर।। आँसु झारिन्। उनी बोल्न सक्ने अवस्थामा थिइनन्। उनलाई तत्काल शिक्षण अस्पतालको आकस्मिक कक्षको रेड जोनमा भर्ना गरियो।
आकस्मिक कक्षको रेड जोनको ‘बेड नं ३१’ मा उपचार सुरु भयो।
सुधार भयो स्वास्थ्य, छैन गम्भीर समस्या
मनिषाको एक्स–रे लगायतको रिपोर्ट आउँदा राति साढे ११ भइसकेको थियो। टाउकोसहित शरीरका सबै भागको एक्स–रे गरिएको थियो।
मनिषाको दाहिने हातबाट सलाइनमार्फत औषधि चलाइएको थियो। अक्सिजन पाइप जोडिएको थियो।
न्युरो सर्जन डा इजन धमला थिए ड्युटीमा। रिपोर्ट आएपछि उनले कुरुवालाई एक्से–रे को रिपोर्ट हेर्ने ठाउँमा बोलाए।
सबै रिपोर्ट पालैपालो हेर्न थाले। लाइटमा रिपोर्ट हेर्दै आफ्नो मोबाइलबाट फोटो खिचे।
‘त्यस्तो ठूलो समस्या केही पनि देखिँदैन। त्यही पनि म एक पटक सिनियर डाक्टरसँग सोध्छु। उहाँले के भन्नुहुन्छ, त्यही अनुसार गरौँला है,’ डा धमलाले भने।
अरु कुनै समस्या छ कि भनेर उनले अन्य रोगका डाक्टरहरूसँग पनि परामर्श गरिरहेका थिए। हाडजोर्नी र नसासँग सम्बन्धित समस्या ठूलो नदेखिएपछि उनले मनिषालाई कुन वार्डमा भर्ना गर्ने भनेर विकल्प खोज्न थाले। अरु डाक्टरले पनि आफ्नो विषयमा समस्या नरहेको भन्दै रिपोर्टमा लेखे।
कुनै गम्भीर समस्या नदेखिएपछि के कारण उल्लेख गरेर उनलाई भर्ना गर्ने भन्नेमा डाक्टरहरू केहीबेर अलमलमा परे। डा धमला मनिषालाई कुनै पनि हालतमा बेड भर्ना गर्नु पर्ने पक्षमा थिए। अरु डाक्टरले भने आफ्नो वार्डमा भर्ना गर्न नमिल्ने राय दिए।
‘हामीले तत्कालको समस्या हेरेर मात्रै हुँदैन। यदि अन्यत्र मिल्दैन भने म मेरो वार्ड ९न्युरो सम्बन्धी० मा भए पनि भर्ना गर्न भन्छु,’ डा धमलाले भने, ‘तीन दिनपछि जमिनमुनिबाट निकालिएको बच्चा हो। आज हामीले भर्ना गरेनौँ र घर पठायौँ अथवा अन्य अस्पताल रिफर गर्यौँ भने राम्रो सन्देश जाँदैन। भोलि केही भयो भने ठूलो विषय बन्छ।’
निकैबेर अरुसँग परामर्श गरेपछि उनले बालबालिका वार्डमा भर्ना गर्ने सुनाए।
‘हामी तपाईंलाई बालबालिका राख्ने वार्डमा पठाउँछौँ। अहिले त्यस्तो समस्या केही छैन। त्यही पनि केहीदिन राखेर हेरौँ,’ उनले भने।
उता, मनिषा रहेको बेडमा आइड्रप बोकेर नर्स आइन्। मनिषाको दाहिने आँखाको कुना रातो देखिन्थ्यो। देब्रे आँखाको डिलमा पनि चोट थियो। निधारमा, देब्रे हातको पातामा, खुट्टामा, उनको शरीरका ठाउँठाउँमा चोटैचोट थिए। तर जस्ता र ढुंगाले काटेको भएकाले बाहिरी चोट देखिए पनि भित्री दखल नदेखिएको डाक्टरले बताए।
आँखामा लगाउने औषधि लगाएको केहीबेरपछि मनिषाले बेडबाट उठाउन भनिन्। पानी मागिन्। गिलासमा गीताले पानी दिइन्। नर्सले धेरै नखुवाउनू भने।
गीताले अस्पतालकै क्यान्टिनबाट जाउलो ल्याएर खुवाइन्।
‘अघिभन्दा धेरै राम्रो भयो, अब त हामीसँग कुरा गर्न थाली, अघि त टोलाएको टोलाइ गर्थी नि,’ गीताले सुनाइन्।
छोरीको स्वास्थ्यमा जति सुधार हुँदै थियो, मनिषा र लोकबहादुरको मुहारमा पनि उति नै खुसी फर्किंदैथ्यो। लोकबहादुरले काखी नजिक च्यातिएको टिसर्टतिर इसारा गरे। अनि दुवै जना फिस्स हाँसे।
गीताले प्रस्ट्याइन्, ‘चप्पल पनि थिएन नि, यो चप्पल पनि त्रिशूलीमा होटलवाला दिदीले दिएको।’
त्रिशूलीमा हुँदा अस्पतालमा छोरीलाई ल्याए कि भनेर लोकबहादुर बेलाबेला हेर्न गइरहन्थे। तर उनलाई भेटिन्छ भन्ने चाहिँ मनैदेखि थिएन।
‘मैले त आँखैअगाडि देखेको हो नि। अनि कसरी जीवित छ भन्ने लाग्नु। घरबेटीका त कोही उम्कन भ्याएनन्। तर घाइते लिएर हेलिकप्टर आउँदा, शव ल्याउँदा हाम्रो नानी पनि ल्याए कि भनेर आश चाहिँ पलाउँथ्यो। मन मान्दैनथ्यो, हेर्नजान्थेँ,’ लोकबहादुरले त्रिशूली बस्दाका दिन सम्झिए, ‘तर कसैले पनि हाम्रो नानीजस्तो बच्चा ल्याएकै छैन भन्थे, अनि फर्किन्थेँ।’
गीता भने नानी जोगाउन नसकेकोमा खुनखुन गरिरहन्थिन्। लोकबहादुर भने त्यतिबेला आफ्नो होसले काम नगरेको जवाफ दिन्थे।
आफू भागे, छोरी जोगाउन सकेनन्
अरु दिनजस्तै भदौ १० गते पनि गीता बिहान आठै बजे अफिस गइन्। उनी प्रभु बैंक टिमुरे शाखाको कार्यालय सहयोगी हुन्। बैंक छिट्टै खुल्ने भएकाले छोरी विद्यालय पठाउनु पहिले नै उनी अफिस गइसक्नु पर्थ्यो।
लोकबहादुर हाइड्रोपावरमा काम गर्थे। छोरीलाई खाना खुवाउँथे, विद्यालय पठाउँथे र आफू काम गर्न जान्थे। त्यसदिन पनि मनिषा भर्खरै उठेकी थिइन्। छोरीलाई बिस्कुट दिएर लोकबहादुर तरकारीका लागि धनियाँ टिप्न घर नजिकैको बारीमा गए। खाली जग्गामा घरबेटीले सागसब्जी रोपेर खानु भनेर दिएका थिए।
‘म त्यहाँ पुगेपछि मास्तिरबाट सुनामी आयो एक्कासि। घरहरू पल्टाउन थाल्यो। हेर्दाहेर्दै हाम्रो टहरो, घरबेटीको ठूलो घर सबै गम्र्याङगुम्रुङ पल्टायो। मेरो त दिमागले कामै गरेनछ,’ लोकबहादुरले भने, ‘एक पटक छोरी लिन जान खोजेको थिएँ। अरुले रोके, तानेर मास्तिर लगे। त्यसपछि मेरो होसले काम गरेन। सबै अँध्यारो देखेँ।’
उता गीता कार्यालय सफा गर्दै थिइन्। बैंकका कर्मचारी दावा तामाङ कम्प्युटर खोल्ने तयारीमा थिए। भूकम्प आयो भनेर कराउँदै दावा मास्तिर भागे। गीता पनि पछिपछि कुदिन्। गड्याङगुडुङ गर्दै छाल आइसकेको थियो।
‘सानिमा बैंकका मिसहरू त भाग्नै भ्याउनु भएन। मलाई पनि छालले भेट्यो, जस्ता झरेर टाउकामा लाग्यो तर म चप्पल छाडेर सिस्नुघारिबाटै भागेँ,’ उनले भनिन्, ‘म भाग्दै गर्दा पनि नानीको याद आएको थियो। तर बुढाले नानी लिएरै भाग्नु भयो होला१ म छोरी मान्छे त जोगिएँ भन्ने लागेको थियो।’
केहीबेर त के भएको भन्ने नै उनीहरूलाई थाहा भएन। गीताको अनुमानमा एक डेढ घण्टापछि होला लोकबहादुरले अर्कैको नम्बरबाट फोन गरे।
‘नानी निकाल्न सकिनँ,’ लोकबहादुरले सुनाए।
गीता कहालिन थालिन्, ‘मलाई केही चाहिँदैनथ्यो, त्यति बच्चा थुतेको भए हुन्थ्यो।’
फोन काटेर उनी त्यहीँ चिच्याउन थालिन्, ‘म सकिएँ। रित्तिएँ। म पनि नबाँचेको भए हुन्थ्यो। नानी छैन भन्ने थाहा भएको भए म किन भाग्थेँ।’
तर उनका कार्यालयका कर्मचारी र अरुले सम्झाउन थाले, ‘तिम्रो बुढा त जोगियो नि। मान्छेका परिवारै सखाप भएका छन्। बुढा पनि बगेको भए झन् के गर्थ्यौ।’
बाढी घटेकै थिएन। गीता आफ्नो घरतिर जान खोजिन्। अरुले पक्रेर रोके, जान दिएनन्। दिउँसो १ बजेपछि मात्रै गीता र लोकबहादुरको भेट भयो, रुवाबासी चल्यो।
त्यतिबेला बाढी कम हुँदै गएको थियो। मान्छेहरू खोला किनारमा बचेका घाइतेलाई निकाल्न थाले। उनीहरूको घर रहेको ठाउँमा लेदो जमेको थियो।
छोरी भेट्ने सम्भावना नदेखेपछि उनीहरू पाखातिर लागे। अरु सयौँ मान्छे पाखातिरै थिए। साढे एक बजेतिर नेपाली सेनाको सेतो हेलिकप्टर पुग्यो। दुई जना सैनिक झरे, अरु दुई जनाले चार जना घाइते र एउटा शव लिएर फर्किए।
झरेका सेनाले त्यहाँ भएका अरुसँग मिलेर हेलिकप्टर बस्ने ठाउँ बनाउन थाले। पछि दुई वटा हेलिकप्टर आए। हेलिकप्टरमा जान तँछाडमछाड भयो। गम्भीर घाइतेहरूलाई पहिले लाने भनेर सैनिकहरूले सम्झाए। केही हेलिकप्टर भने गए पनि बस्ने ठाउँ नभएर होला फर्किए।
गीता र लोकबहादुरसहित सयौँ मान्छेहरू मास्तिर लागे। पछि सेनाले चाउचाउ, बिस्कुट र पानी झारिदियो। त्यसरात उनीहरू त्यही खाएर जंगलतिरै बसे।
भोलिपल्ट गीता छोरी खोज्दै चिच्याउन थालिन्। खोलामा जान्छु भन्दै कराइन्। अनि, त्यहाँ भएकाहरूले उनलाई सानो हेलिकप्टरमा पहिले नै पठाइदिए। लोकबहादुर भने पछि ठूलो हेलिकप्टरमा सिधै त्रिशुली पुगे। त्रिशूलीमा दुई दिन कुरेपछि भने उनीहरू अब छोरी भेटिँदैन भनेर अर्घाखाँची फर्किने निधोमा पुगेका थिए।
पुरिएको घरमा ६० घण्टापछि सशस्त्र प्रहरी पुग्यो
शुक्रबार दिउँसो उनीहरूको माग अनुसार नै नेपाली सेनाले हेलिकप्टरमा काठमाडौँ ल्याइदियो। दिउँसै काठमाडौँ आइपुगेर उनीहरू दुई छोरी १२ वर्षकी मुना र ८ वर्षकी खुसी भएको ठाउँ अर्घाखाँची जाने तरखरतिर लाग्दैथे।
दुई छोरीलाई मावली हजुरआमासँग राखेर तीन जना रसुवा बस्थे। दुई छोरी र आफन्तलाई यस बारेमा जानकारी गराइसकेका थिए। ‘जे हुनु भइगयो, अब आओ यतै’ भनेका थिए आफन्तले।
उनीहरू पुरानो थातथलो फर्किने तरखरमा लाग्दै गर्दा शुक्रबार साँझ सशस्त्र प्रहरी टिमुरे बीओपीको टोली उनीहरू बसेको घर भए ठाउँमा पुग्यो।
भत्किएको घरमा जस्ता पन्छाउँदै सशस्त्र प्रहरीले कोही छन् कि भनेर हेरेको थियो। जमिनमुनि बच्चा रोएको सानो आवाज आयो। त्यसपछि सशस्त्र प्रहरीले ढुंगामाटो पन्छाउँदै उद्धार सुरु गर्यो। जस्तापाता र काठले टाँड परेको ठाउँमा बालिका भेटिइन्। टोलीले उद्धार गरेर बीओपीमा लग्यो। त्यसदिन सशस्त्र प्रहरीले नै जाउलो खुवाए, प्रारम्भिक उपचार गरे।
भोलिपल्ट धुन्चे लगेर उपचार गराउने क्रममा गीता काम गर्ने बैंकका कर्मचारीले मनिषाको पहिचान गरे। त्यसपछि दावाले फोन गरेर सुनाए र मनिषालाई बाबु आमा भएको ठाउँमा ल्याइपुर्याइयो।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ ०९:२२