काठमाडौं । मोबाइलको स्क्रिनमा आँखा गाडेर बसेकी मिठ्ठु खड्काले कति पटक फोन डायल गरिन्, उनलाई नै सम्झना छैन । निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा दुई वर्षदेखि काम गर्ने उनका श्रीमान् कमल खड्का (नानु) सँग बाढी आउनुअघि बिहान साढे आठ बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो ।
भोटेकोशी बाढीले मच्चाएको वितण्डाबारे उनले १०ः३० बजे मात्र थाहा पाइन् । लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो । र, सुरु भयो एउटा अन्तहीन प्रतीक्षा ।
इप्पानका अनुसार ११ जलविद्युत् आयोजना (निर्माणाधीनसहित) का ८ सय ९४ जना अझै सम्पर्कविहीन छन् । ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फसेका छन् कि बाढीले बगाएर बेपत्ता बनाएको छ भन्ने यकिन विवरण कसैसँग छैन ।
‘मोबाइल हेर्दाहेर्दै आँखा टट्टाइसकेको छ,’ गौरीशंकर–२ जुगु, दोलखाका खड्का भन्छिन्, ‘हराएकाको सूचीमा नाम आउँदैन, भेटिएकाको सूचीमा पर्दैन । मेरो संसार नै हराएजस्तो भएको छ ।’ भोटेकोशी बाढीले सुरुङ, भूमिगत विद्युत् गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार यतिबेला एउटा खबरको खोजीमा छन्—जीवित छन् कि छैनन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार ११ जलविद्युत् आयोजना (निर्माणाधीनसहित) का ८ सय ९४ जना अझै सम्पर्कविहीन छन् । ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फसेका छन् कि बाढीले बगाएर बेपत्ता बनाएको छ भन्ने यकिन विवरण कसैसँग छैन ।
सम्पर्कविहीन भएकाका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दबाब बढाएका छन् । ‘लास नदेखेसम्म आस रहन्छ,’ मिठ्ठुले भनिन्, ‘खोजी गरिदिन कम्पनीलाई गुहार गरेका थियौं, कम्पनी हामी आफैं अगाडि सरेर जान सरकारले दिएको छैन भन्छ ।’
भीमदत्त–१८, कञ्चनपुरका २० वर्षीय अनुष गुरुङले आफ्ना ६० वर्षीय बुबा लक्ष्मण गुरुङ सुरुङभित्र हुन सक्ने ठानेका छन् । सिइनो हाइड्रो कम्पनीमार्फत लक्ष्मण माथिल्लो त्रिशूली–१ को मैलुङ साइडमा काम गर्थे । ‘बुबाका साथीभाइले हामीले भित्र जाँदै गरेको देखेको हो भन्नुहुन्छ । कसैले बाहिर आउँदै गरेको भन्नुहुन्छ । कसको कुरा पत्याउने रु,’ उनले भने, ‘सुरुङभित्र खोजतलास गरे यकिन हुन्थ्यो ।’
उनले बुबा लक्ष्मणसँग बुधबार बिहान ८ः११ बजे स्नातक कहाँ पढ्ने भनेर कुरा गरेका थिए । ८ः१७ मा मोबाइल राखेर सुरुङभित्र छिरेको उनको अनुमान छ । सुरुङभित्र भएपछि मोबाइल लाग्दैन । परिवारका सदस्यहरू विभिन्न ठाउँमा खोजीमा खटिएका छन् । ‘दिदी नुवाकोटस्थित आर्मी क्याम्पमा गइराख्नुभएको छ, चितवनमा रहेका शवहरू हेर्न भिनाजु र अरू आफन्त जानुभयो । काठमाडौंका शिक्षण अस्पताल र कम्पनीमा बुझ्न म र कान्छी दिदी धाइरहेका छौं,’ उनले भने, ‘कतै भेटिएन । अब एक मात्र आशा सुरुङभित्र हो । समयमै उद्धार भए जीवित भेटिन्छ भन्ने आशा छ ।’ उनले उद्धारमा ढिलाइ भइरहेको गुनासो पोखे । ‘कम्पनीले बाटो भत्किएको छ, जान सक्ने अवस्था छैन भनेर जवाफ दिन्छ,’ उनले भने, ‘यसमा इफोर्ट (पहल) नै पुगेन ।’
माथिल्लो त्रिशूली–१ को आयोजनास्थल आसपासका क्षेत्रबाट २ सय ५७ जनाको सकुशल उद्धार गरेको सरकारको दाबी छ । अझै ५ सय ७३ जनाभन्दा बढी सम्पर्कविहीन रहेको बताइएको छ । यतिका दिनसम्म उद्धार टोली पुग्न नसकेको भन्दै आफन्तहरू आक्रोशित छन् । कञ्चन गाउँपालिका–५, रूपन्देहीकी सीता आचार्यले भाइ महेश भीरतिर नै अल्झिएको हुन सक्ने बताइन् ।
‘भाइ माथि डाँडातिर भागेर गएको भन्ने सूचना छ । मोबाइल लोकेसन पनि लाङटाङ क्षेत्रतिर देखाउँछ । जंगल हिँड्दा खुट्टा भाँचिएर कतै पर्यो कि वा सुरुङभित्रै थियो कि,’ उनले भनिन्, ‘हामी एकदमै अन्योलमा पर्यौं । के गर्ने ? कहाँ जाने ?’
उक्त आयोजनाको बाँध तथा सम्बन्धित संरचना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा तथा भूमिगत विद्युत् गृह उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । समग्र भौतिक प्रगति हाल ८६ प्रतिशत पुगिसकेको छ । आयोजनाको लागत ब्याजसहित ६४ अर्ब रुपैयाँ रहेको छ ।
‘आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) र सुरुङबाट उद्धार गरिएको छ, हाकुमा रहेको हेडरेस टनेल ९विद्युत् गृहमा पानी पठाउने सुरुङ० पानीले भरिएको छ,’ नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रबन्ध निर्देशक गिरीराज अधिकारीले भने, ‘चिनियाँ टोलीदेखि सबै फिल्डमै छन् ।’
सम्पर्कविहीन भएकाका परिवारहरूले खोजतलास तीव्र बनाउन दबाब दिइरहेका छन् । यो परियोजनाबाट सम्पर्कविहीन भएका बर्दिबास, महोत्तरीका सौभाग्य विष्टका दाजु ध्रुव विष्टले प्रवर्धक कम्पनीले सोमबार परियोजनाको वस्तुस्थिति देखाउन हेलीमार्फत लगेको बताए । ‘उद्धारमा ढिलाइ भइरहेको छ, त्यहाँको अवस्था देखाउन कम्पनीले हेलिकोप्टरमार्फत लगयो,’ उनले भने, ‘स्थिति एकदमै जटिल छ ।’
माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकाका परिवारहरूले उद्धारमा ढिलाइ भइरहेको भन्दै असन्तुष्ट जनाएका छन् । उनीहरू उद्धारमा दबाब दिन नुवाकोटको विदुरस्थित सेनाको उद्धार तथा राहत केन्द्रमा छन् । यसमा चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका मात्रै १ सय २२ जना सम्पर्कविहीन छन् । ‘चार दिनको निरन्तर पहलले बल्ल सोमबार सेनाले एक्स्काभेटर लगेको छ । त्यसले उत्खनन गरेमा क्वाटरमा छोपिएको बालुवा निकाल्न सकिन्छ,’ सम्पर्कविहीन भएका भक्तपुरका ५८ वर्षीय कमलबहादुर पाण्डेका छोरा विवेकले भने, ‘हामीलाई अझै आशा छ । बालुवाको छालले भवन छोपिएको हो । बुबा जीवित हुनुहुन्छ भन्नेमा आशा छ । जतिसक्दो छिटो उत्खनन गर्न जरुरी छ ।’
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले सोमबार पनि उद्धार तीव्र पारेको जनाएको छ । सरकारको अनुमतिमा १३ भदौमा चिनियाँ उद्धार टोली आफैं निजी हेलिकोप्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकोप्टर लिएर माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रमा पुगेको थियो । लगत्तै यो टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङ क्षेत्रमा रेकी गरेको थियो । चिनियाँ उद्धार टोलीले त्यही दिन रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो । त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात् उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो । भदौ १४ गते भने चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो ।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो । सोमबार बिहान ९ बजे पनि नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको छ । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत नाघेको थियो । कुल अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजना माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यासकेड आयोजना हो । अर्थात् ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई उपयोग गर्ने हो । त्यसकारण बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैनथ्यो ।
आफ्नै भाइ इन्जिनियर प्रवीन अमात्य माथिल्लो त्रिशूली–३ ‘बी’ मा सम्पर्कविहीन रहेको रसुवागढी जलविद्युत् आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत पुष्कर अमात्य बताउँछन् । ‘माथिल्लो त्रिशूली–३ ‘बी’ मा मेरो आफ्नै भाइ प्रवीन इन्जिनियर थिए, दैनिक परीक्षण सकेर बाहिर निस्केको भन्ने थाहा पाएँ, त्यसयता केही जानकारी छैन,’ उनले भने । अर्कोतिर आफैं काम गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा समेत कर्मचारी फसेको उनले बताए । ‘विद्युत् गृहदेखि सुरुङमा र बाहिर क्याम्पमा गरी धेरै कर्मचारी थिए,’ उनले भने, ‘उता आफ्नो आयोजनाका कर्मचारी र यता आफ्नै भाइ सम्पर्कविहीन छन् ।’
सोमबार १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको टोली गए पनि भूमिगत विद्युत् गृहसम्म पुग्न नसकेको जनाइएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपानेले सुरुङ खुला रहेकोसम्म पुगे पनि भूमिगत विद्युत् गृहसम्म पुग्न नसकेको उनले बताए । ‘सुरुङ जहाँसम्म खुला थियो, त्यहाँसम्म गएको र १–२ फिट खुला भएको ठाउँमा पनि सुतेर छिरे पनि त्यसपछि सुरुङ नै बन्द छ भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर उता जानलाई ड्रिलिङ गर्नेलगायत सबै उपकरण चाहियो, त्यसकारण उता जान सकिँदैन भनेर सेना फर्किएको छ ।’
भूमिगत विद्युत् गृह पुग्न करिब ७ मिटर बाँकी रहँदा सुरुङ थुनिएको आफूहरूलाई जानकारी आएको कम्पनीले जनाएको छ । मुख्य सुरुङबाट विद्युत् गृहको सतह भेटिए पनि कर्मचारी भने त्योभन्दा एक तलामाथि नियन्त्रण कक्षमा रहेको अनुमान न्यौपानेको छ । थप उपकरण लगेर माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ मा जस्तै काम गर्नुपर्ने उनले बताए । ‘खन्ने, फ्याल्ने र सफा गर्दै जानुपर्छ । विद्युत् गृहसम्म पुग्न सकेको छैन,’ उनले भने, ‘सरकारले प्राथमिकतामा राख्नुपर्यो ।’ भूमिगत विद्युत् गृहमा काम गर्न बसेका मान्छे ३ देखि ५ जना हुने भए पनि कार्यालय, गेटसम्म १४ देखि १६ सम्म हुन सक्ने उनले बताए ।
यसअघि प्रधानमन्त्रीको सचिवालयले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कर्मचारी फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको जानकारी दिएको थियो । करिब २३ अर्ब ७३ करोड रुपैयाँ लागतमा बनेको रसुवागढीको विद्युत् गृह टिमुरे ९तातोपानी० मा निर्माण गरिएको थियो । यसअघि असार २०८२ मा आएको बाढीले आयोजनाको बाँधलगायत संरचना ९हेड वर्क्स० मा क्षति पुर्याएको थियो । उक्त आयोजना गत असारमा मात्रै पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर प्लान्टभित्र प्राधिकरणका अनुभवी प्राविधिक, इन्जिनियर तथा विभिन्न आयोजनाबाट बोलाइएका विशेषज्ञ टोलीसहित ४२ जना सुरुङभित्रको भूमिगत विद्युत् गृहमा थुनिएका छन् । उनीहरूलाई उद्धार गर्न शनिबार रातिदेखि नै काम सुरु भए पनि सुरुङ मात्र भेटिएको छ । आयोजनामा करिब ४.१ किलोमिटर लामो हेडरेस टनेल र भूमिगत विद्युत् गृह रहेको छ । अहिलेको उद्धार अभियान मुख्यतः यही भूमिगत विद्युत गृह र सुरुङ प्रणालीमा केन्द्रित छ ।
ऊर्जाविद् एवं रास्वपा सांसद श्रीराम न्यौपानेले माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको सबैभन्दा माथिल्लो भाग वा छत (क्राउन) मा पानी र लेदो देखिएको बताए । ‘अहिले क्राउनको भागमा पानी र लेदो देखियो । ठूलाठूला ढुंगाहरू छन्, यसलाई ब्लास्टिङ गरी फुटाउन दिनरात काम भइरहेको छ,’ उनले भने, ‘पानी र लेदो भएकाले सुरुङ छिचोलेर विद्युत् गृहसम्म पुग्न १२० मिटरको दूरी छ ।’
पानी र लेदोलाई सफा गर्दै विद्युत् गृहको माथिल्लो भागमा जान सकिने उनले बताए । ‘विद्युत् गृहको माथिल्लो भागमा पानी हुन्छ । अलिअलि हावा आउने जाने सबैको अनुमान छ,’ उनले भने,’ विद्युत् गृहमा पानी जाने हेड वर्क्स बन्द छ भने टेलरेस (बिजुली उत्पादन भएपछि पानी फाल्ने) त्रिशूली खोलामा पुरिएको छ ।’ उनका अनुसार आयोजनालाई १६र१७ मिटर उचाइ र ३०–४० मिटर चौडाइमा पुरिएको छ । सम्पर्कविहीनका परिवारहरूले उद्धार प्रक्रिया तीव्र पार्न दबाब दिइरहेका छन् । बुटवलकी सीता पाण्डेले माथिल्लो त्रिशूली–३ ‘ए’ मा आफ्ना श्रीमान् जीवलाल अधिकारी पावर प्लान्टभित्र थुनिएको बताइन् । ‘उहाँ विद्युत् गृहभित्रै काम गर्नुहुन्छ । त्यहाँ अक्सिजनको प्रबन्ध छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘उद्धारमा ढिला नगरियोस् ।’
कुलेखानी आयोजनामा कार्यरत जीवलाल त्रिशूली–३ ‘ए’ को प्लान्टको मेसिन परीक्षण गर्न पुगेका थिए । माथिल्लो त्रिशूली–३ ‘ए’ को वार्षिक मर्मत सम्भार कार्य चलिरहेको थियो । त्यसक्रममा उनीहरूको उद्धार छिटो होस् भनेर दबाब दिन परिवारका सदस्यहरू प्राधिकरणको कार्यालयमा नियमित पुगिरहेका छन् । ‘उद्धार प्रक्रिया ढिलो भयो,’ प्यूठानका जीवन खड्काले भने, ‘छिटो गतिमा लैजानुपर्छ । किनकि हाम्रा लागि हरेक सेकेन्ड अर्थपूर्ण छ ।’
पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सरकारले माथिल्लो त्रिशूली ३ ‘ए’ सँगै अन्य जलविद्युत् आयोजनाको भूमितगत विद्युत् गृहमा फसेका कर्मचारीलाई उद्धार गर्न प्राथमिकता दिनुपर्ने बताए । ‘माथिल्लो त्रिशूली–३ ‘ए’ मा जुन तीव्रताका साथ काम भइरहेको छ, त्यसरी नै अरू आयोजनामा पनि काम गर्नुपर्छ,’ उनले भने, ‘अनुमानको भरमा भन्दा त्यहाँ काम गरेका विज्ञहरूलाई बोलाएर सल्लाह सुझाव लिएर उद्धारलाई तीव्रता दिनुपर्छ ।’
घिसिङले सरकारले एकैपटक सबै आयोजनालाई प्राथमिकतामा राखेर तीव्रता दिनुपर्ने बताए । ‘हरेक आयोजनाको भूमिगत विद्युत् गृहमा अक्सिजन हुन्छ । किचेन हुन्छ । भवनको माथिल्लो भागमा बस्ने छुट्टै एरिया नै हुन्छ,’ उनले भने, ‘जेनेरेटर र टर्बाइनमा रहँदा जोखिम हुन्छ । तर विद्युत् गृहभित्र अग्लो ठाउँमा नियन्त्रण कक्ष हुन्छ । त्यसैले सुरक्षित नै हुन्छ ।’
रसुवागढी जलविद्युत् आयोजना पुगेर फर्केका घिसिङले आयोजनाको प्रवेश सुरुङ २५० मिटरसम्म खुला नै रहेकाले थप काम अघि बढाउनुपर्ने बताए । ‘२५० मिटर त खुलै छ । त्यो बाटो खोल्नुपर्यो । त्यसपछि भूमिगत विद्युत् गृहमा जाने बाटो बन्छ,’ उनले भने, ‘रसुवागढीको टेलरेस (बिजुली उत्पादन भएपछि पानी फाल्ने) खुला छ । पानी गइरहेको छ । त्यसमा काम गर्नुपर्यो ।’ भूमिगत विद्युत् गृह भए पनि प्राधिकरणको भार प्रेषण केन्द्रसँग फोनरइमेलमार्फत सम्पर्क हुने उनले बताए । ‘अरू बेला सम्पर्क हुन्छ । अहिले सबै सञ्चार नै बन्द भयो,’ उनले भने । चिलिमेमा सुरुङ पानीले भरिएको र टेलरेस पनि बन्द भएकाले पानी पम्प गरेर बाहिर पठाउनुपर्ने घिसिङले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ ०७:११