काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख गरे ।
सुरुबाटै विदेशी सहयोगका लागि समन्वय गरेका थियौं
प्रधानमन्त्री बालेन शाहले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै डीएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताए।
उनले भने, ‘पहिचान भएपछि उहाँहरूले आ-आफ्नो धर्म, संस्कृति अनुसार अन्तिम संस्कार गर्नुहुने नै छ। त्यसैले यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध पनि गर्न चाहन्छु।’
यति ठूलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै नआउने बताए।
उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो।’
विपद्को बेला सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम भइरहेको बताए।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ १५:०३