काठमाण्डौं । रसुवको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तले दश दिन बित्दा पनि शाश र लाशको पत्तो नभएपछि अन्ततः विधि पुर्वक अन्तिम संस्कार थालेका छन् ।
पर्सा जिल्लाको पोखरिया–७ घर भएका सोनालाल पण्डित नुवाकोटको देवीघाटमा घर निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्थे। बाढी आएको दिन उनी कामका क्रममा बजारमै थिए।
उनका परिवारका सदस्यहरूले बताएअनुसार बाढी आएको हल्लाखल्लासँगै पण्डितसँग काम गरिरहेका अरू भागे, तर एउटा गोडामा घुँडामुन्तिरको भाग नभएका र बैसाखीको सहारामा हिँडडुल गर्ने उनी भाग्न सकेनन्।
'केही भिडिओहरूमा दाइलाई घुँडाघुँडा पानीले डुबाएको देखिन्छ, त्यसपछि कुनै खबर पाइएन,' उनका भाइ पन्नालालले भने, 'त्योसँगै हामी उहाँ नरहेको निधोमा पुग्यौँ र घटनाको पाँचौँ दिन कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्यौँ।'
त्यस्तै पत्रकार निराजन पौडेलले पनि बुधवार कुशको प्रतिकृति बनाएर आफ्नो परिवारका पाँच सदस्यको अन्त्येष्टि गरे।
भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी नुवाकोटको विदुर नगरपालिका–७, बेत्रावतीबाट पौडेलका बुबाआमा, काकाकाकी र बहिनीसहित परिवारका पाँच सदस्य बेपत्ता भएका थिए।
'उहाँहरूलाई भेट्ने कुनै आधार नदेखिएपछि बन्धुबान्धव सबै सरसल्लाह गरेर क्रियाकर्म गर्ने निर्णय गरियो,' पौडेलले थपे ।
देशको राजधानी काठमाण्डूस्थित पशुपति आर्यघाटमा पनि कुशको प्रतिमा बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्नेहरूको सङ्ख्या बुधवारदेखि बढ्न थालेका छन्।
'बुधवार तीन जनाको त्यसरी अन्तिम संस्कार गरिएको हाम्रो अभिलेखले देखाउँछ,' पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी सूर्य भाटले भने, 'बिहीवार चाहिँ घाटमा त्यसरी अन्तिम संस्कार गर्नेहरूको लस्कर देखियो।'
बाढीले निम्त्याएको विपत्तिमा नेपालमा हालसम्म एक हजार २५२ जनाको मृत्यु भएको र पाँच हजार जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् प्राधिकरणको तथ्याङ्क छ।
कुशकै लाश किन ?
'धर्मसिन्धु' तथा 'निर्णयसिन्धु'लगायतका धर्मशास्त्रमा पलाँस वा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने विधि उल्लेख गरिएको धर्मशास्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक देवमणि भट्टराई बताउँछन्।
'जुन मान्छेले आफ्नो मान्छे हातबाट फुत्किएको देख्छन्, (उदाहरणका निम्ति कतिपय घटना भिडिओमा देखिएका हुन सक्छन् वा कतिपयले श्रीमती छेउबाटै बगिन् तर बचाउन सकिएन भनिराखेका हुन्छन्) त्यस प्रकृतिले प्रत्यक्ष देखिएका हकमा प्रतीक्षाको आवश्यकता छैन,' उनले भने, 'शव नभेटिएको, प्रतीक्षा गर्ने समय पनि नरहेको र दश दिनभित्रै गर्न सकिने अवस्था भए 'काजकिरिया थालेमा बाँकी रहेको दिन मात्रै जुठो हुन्छ। अर्थात्, दशौँ दिनदेखि तेह्रौँ दिनसम्म कर्म गर्न सकिन्छ।'
'प्रत्यक्ष देखिएको छैन तर मानौँ गाउँ नै बगाएको छ र केही पनि बाँकी नरहेको अवस्था छ भने त्यस्तोमा त्यहाँ जोजो थिए भन्ने विश्वास गरिन्छ, तिनका परिवारले पर्खिनुपर्ने छैन – कुशको बनाएर गर्दा हुन्छ।'
'जसलाई धरमर छ, उनीहरूले दशपन्ध्र दिन वा सरकारले गर्ने भनेको डीएनए परीक्षण नै पर्खन्छन् कि, त्योचाहिँ उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा हो,' भट्टराईले भने, 'त्यस्तोमा दाजुभाइ, बन्धुबान्धव, समाज र कतिपय बेला प्रशासनसँगको सहयोगमा पनि निर्णय लिन सकिन्छ।'
'कदाचित अहिले सम्पर्कविहीन भएकाहरू पछि फर्किएर आए भने पनि षोडश संस्कार र जन्मदेखिका सबै संस्कार गर्ने विधि पनि छ।'
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ ०६:१३