काठमाडौं । विगतमा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका अधिकांश नेताहरू अन्ततः उनको साथ छोडेका छन् ।
१५ औं महाधिवेशनको मिति नजिकिदै गर्दा सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षमा खुलेपछि देउवा एक्लिदै गएका छन् । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका उनीहरू थापाको नेतृत्वमा हुन लागेको कांग्रेस महाधिवेशन प्रक्रियामा सहभागी हुने भएका हुन् ।
आफ्नै विश्वासपात्रले देउवाको साथ छाड्ने वातावरण कसरी बन्यो त रु यसको निर्णायक आधार तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको बाटोमा जान अस्वीकार गर्नु र सभापति थापासँग संवाद अघि बढाउनुबाट बन्यो । त्यसपछि देउवाका विश्वासपात्रसहितको ठूलो संख्या खड्कासँग जोडिएका थिए । तिनै नेताहरू अन्ततः थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समायोजन भएका छन् ।
जेन–जी आन्दोलनपछि गत वर्ष २८ असोजमा बसेको कांग्रेस बैठकमा देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दै त्यतिबेला उपसभापति रहेका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । साढे पाँच महिनापछि २८ साउनमा देउवा सिंगापुरबाट फर्किएपछि घटनाक्रम फेरियो ।
त्यतिबेला देउवालाई विमानस्थलमा भव्य स्वागत गर्ने कार्यक्रम देउवा पक्षका नेताहरूको थियो । स्वागत गर्ने कार्यक्रम मीन विश्वकर्मा र मोहन बस्नेतले बनाएका थिए । विश्वकर्माका अनुसार विमानस्थलबाट देउवालाई सिधै निवास लैजाने, त्यहाँ कांग्रेसका सबै नेताले भेट्ने र त्यसपछि दोस्रोरतेस्रो दिनबाट अरू राजनीतिक दलका नेतालाई पनि भनेर देउवालाई पार्टी एकताको मियोका रूपमा स्थापित गर्ने थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार खड्कासहितका नेता विमानस्थलबाट सिधै निवास पुगेको विश्वकर्माले बताए । ‘त्यही बीचमा शेरबहादुर दाइलाई दौडाएर चुनदेवी लगिएछ । सभापतिको नेमप्लेट लुकाएर राखिएको रहेछ । त्यो पनि थाहा थिएन । शेरबहादुर दाइ आउने भनेपछि हत्तपत्त भित्तामा काँटी ठोकेर झुन्ड्याइएछ । भित्र सभापति लेखिएको नेमप्लेट टेबुलमा राखिएछ । त्यो कोठा पहिला खोलिएको थिएन । शेरबहादुर दाइ आउनुभयो भने यो बस्ने ठाउँ हो भनेर भनिएको थियो, तर खोलेर हेरिएको थिएन,’ उनी सम्झन्छन् । देउवाले चुनदेवीमा सम्पर्क कार्यालय रहेको घरको बरन्डाबाट छोटो भाषण पनि गरेका थिए । ‘भाषण पनि यस्तो अप्रासंगिक गरिदिनुभयो, प्रसंग नै नभएका बेला ज्ञानेन्द्र शाहलाई गाली गर्नुभयो । यसले पनि साथीहरूलाई असहज बनाएको थियो,’ उनी थप्छन् ।
पार्टीभित्र नियमित कि विशेष महाधिवेशन भन्ने विवाद चलिरहेका बेला गत वर्ष २१ फागुनमा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणसमेत देउवा आफैंले गर्न चाहेका थिए । त्यसका लागि निर्वाचन आयोगमा आफ्नै हस्ताक्षर पठाएपछि खड्काको असन्तुष्टि बढेको थियो । खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि उनी देउवा पक्षको ‘कोर’ समूहको पूर्ण विश्वासमा भने थिएनन् । उनलाई गगन र विश्वप्रकाश शर्मानिकट भएको आशंका गरिन्थ्यो ।
४ वैशाखमा सर्वोच्च अदालतले थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि देउवा र खड्का पक्ष प्रतिरक्षात्मक भएको थियो । त्यसपछि देउवा पक्षका नेताले एकताका लागि पहल गर्नुपर्ने विषय अघि बढाए र ८ बुँदे माग तयार पारे । यसमा खड्का मात्र होइन, देउवा र शेखर कोइराला पक्ष पनि सहमत थिए ।
८ बुँदाको मुख्य माग विशेष महाधिवेशनपछि बाहिर परेका देउवा नेतृत्वको तत्कालीन केन्द्रीय कार्यसमितिका १ सय ११ पदाधिकारी तथा सदस्यलाई समायोजन गर्नु थियो । संवादका बीचमा देउवा पक्षले छुट्टै गतिविधि अघि बढाउँदै सातै प्रदेशमा सम्मेलन र २९–३१ साउनमा राष्ट्रिय भेला गर्ने तयारी गर्यो । खड्का भने पार्टी विभाजनको नेतृत्व नगर्ने सर्तमा भेलाको संयोजक आफैं हुन खोजिरहेका थिए । तर उनको सहमतिबिनै १३ साउनमा शशांक कोइरालालाई संयोजक बनाइयो ।
‘पार्टी नफुट्ने हो भने कार्यवाहक सभापतिको हैसियतमा संयोजक भएर काम गर्न तयार छु, तर पार्टी घोषणा गर्ने अवस्थामा म जान्नँ भन्ने खड्काको धारणा थियो,’ विश्वकर्मा भन्छन् । यही अडानपछि खड्काको स्थानमा शशांकलाई अघि सारिएको थियो ।
२१ साउनमा सर्वोच्चले ४ वैशाखको फैसला पुनरावलोकन गर्न निस्सा दिएपछि देउवा पक्षको छुट्टै पार्टी निर्माणको तत्कालीन प्रयास रोकियो । त्यसपछि २९–३१ साउनमा राष्ट्रिय भेला भयो । तर, खड्काको असन्तुष्टि कायमै रह्यो । भेलाको सञ्चालन र निर्णयहरू आफूले सोचेअनुसार अघि नबढेको भन्दै उनी देउवा पक्षबाट क्रमशः टाढिँदै गए ।
निर्णायक मोड भने १५औं महाधिवेशनको प्रक्रिया अघि बढेपछि आयो । देउवा–खड्का पक्षले महाधिवेशन रोक्न अदालतमा निवेदन दिए पनि अन्तरिम आदेश आएन । त्यसपछि समानान्तर रूपमा दुई वटा महाधिवेशन अघि बढ्ने अवस्था बन्यो । यसले कांग्रेसको संगठन वडा तहसम्मै विभाजित हुने देखियो । पार्टी एकतामा गम्भीर भएका नेताहरू फेरि संवादमा जुटे ।
यि हुन्, सानेपा पुग्ने देउवा समूहका नेताहरु
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४ औं महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेको थियो ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले सभापति गगन थापासँग सहमति गरेरै बैठकमा सहभागी हुन गइरहेका छन् ।
देउवा समूहमा रहेका नेताहरू महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार, गणेश लामालगायत सानेपा पुगेका छन् ।
महाधिवेशन उद्घाटन गर्न देउवालाई सभापति थापाको आग्रह
सभापति गगन कुमार थापाले आगामी असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भई उद्घाटन गर्न आग्रह गरेका छन् । बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले देउवाले उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने बताए ।
उनले पार्टी विधानअनुसार देउवा पुनः सभापति बन्न नसक्ने स्मरण गराउँदै अब पार्टी नयाँ नेतृत्वतर्फ अघि बढ्ने संकेत पनि गरे । थापाका अनुसार महाधिवेशनको औपचारिक सुरुवात खुलामञ्चमा हुनेछ । असोज ३ र ४ गते वडा अधिवेशन, त्यसपछि क्रमशः नगर, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सञ्चालन हुनेछन् ।
पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिँदै थापाले मतभेदलाई व्यक्तिगत रूपमा नलिन नेताहरूलाई आग्रह गरे । “कहिलेकाहीँ बोल्दा तिखा टिप्पणी हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत रूपमा लिनु हुँदैन,” उनले भने, “नेपाली कांग्रेस एउटा परिवार हो, परिवारभित्र सामान्य असहमतिहरू आउनु स्वाभाविक हो ।”
त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले अघि सारेका ८ बुँदे र नेता शेखर कोइरालाले प्रस्तुत गरेका ५ बुँदे माग सम्बोधन भइसकेको पनि थापाले दाबी गरे । उनले इतर पक्षका नेताहरूलाई समेत महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
बैठकमा पूर्वसभापति देउवा निकट समूहका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ ०६:२८