काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ। कांग्रेसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ।
महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी छ।
विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन समारोह हुने जानकारी कार्यवाह मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत दिएका छन्।
यसअघि असोज १६ गतेदेखि महाधिवेशन सुरु गर्ने भनिएको थियो । करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको १५औं महाधिवेशन १८ असोजमा काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदै छ ।
काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता १६ असोजदेखि सुरु हुनेछ । १९ र २० असोजमा बन्दसत्र तथा २१ र २२ असोजमा निर्वाचन गर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका अघि बढाइने भएको छ। यसअघि १६ असोजबाट महाधिवेशन सुरु गर्ने तयारी भए पनि दुई दिन सारिएको हो।
महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ। करिब ७ हजार प्रतिनिधि सहभागी हुने भएकाले त्यहाँ कम्तीमा तीनवटा ‘बक्स’ बनाइनेछ। एउटा बक्समा करिब ३ हजार प्रतिनिधि अट्ने गरी संरचना तयार गरिनेछ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार १९ र २० असोजमा हुने बन्दसत्रमा सात प्रदेशका छुट्टाछुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्ताबेजमाथि छलफल गराउने तयारी छ। दुई दिनको बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल हुनेछ।
बन्दसत्रपछि २१ र २२ असोजमा निर्वाचन गर्ने कार्यक्रम छ। त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको उम्मेदवारी दर्ता, मतदान र मतगणनासहित निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १६:५४