काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद र अनुशासनहीनताको चरण समाप्त भएको बताएका छन्। उनले अब पार्टीको सम्पूर्ण ध्यान संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित गर्न निर्देशन दिएका छन्।
मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकलाई पार्टीभित्रको विवाद र अन्योलका विषयमा ‘कटअफ डेट’ का रूपमा लिनुपर्ने बताए।
उनले पार्टीको नीति र निर्णयविपरीत गतिविधि गर्ने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने अभिव्यक्ति दिने नेताकार्यकर्तामाथि अब कारबाही हुने चेतावनी दिए। केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिलाई क्षमा गरिएको भए पनि त्यसपछि त्यस्तो छुट नहुने उनको भनाइ थियो।
ओलीले एमालेका लागि संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको तयारी मुख्य कार्यभार रहेको बताए। पार्टीले निर्वाचनमा केन्द्रित भएर संगठनलाई पुनर्गठित गर्ने उनको भनाइ थियो।
उनले जनसंगठनहरूलाई सक्रिय बनाउँदै पार्टी संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन नेताकार्यकर्तालाई निर्देशन दिए। प्रतिनिधि परिषद्को बैठक वा आन्तरिक विवादमा अल्झिनुभन्दा निर्वाचनको तयारीमा लाग्नुपर्नेमा उनले जोड दिए।
ओलीले पार्टीभित्रको पछिल्लो विवादका क्रममा नेतृत्व परिवर्तनको विषय उठाइएको प्रसंगसमेत उल्लेख गरे। पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै उनले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ का रूपमा व्याख्या गरे।
उनले विगतको निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिको समीक्षा गर्दै अब सामूहिक स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए। पार्टीविरुद्ध फैलाइएका भ्रमको प्रतिवाद गर्न डिजिटल अभियान सञ्चालन गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।
अन्य दलसँगको पार्टी एकताको चर्चालाई तत्काल प्राथमिकतामा नराख्ने संकेत गर्दै ओलीले आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत सहकार्य हुनसक्ने बताए। साथै, नेताकार्यकर्तालाई राजधानीमा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्रमा पुगेर संगठन निर्माणमा खटिन निर्देशन दिए।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १८:३४