काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबारदेखि सुरु भएको वर्षा आज बिहानदेखि निरन्तर भैरहेको छ ।
देशका विभिन्न स्थानमा भने बिहीबारबाटै वर्षा सुरु भएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।
बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध
बाढीपहिरोले बीपी राजमार्ग, कान्ति लोकपथसहितका सडकखण्ड अवरुद्ध भएका छन्।
शुक्रबारदेखिको निरन्तरको वर्षाको कारण पहिरो खस्दा गएराति देखिनै काठमाडौं आवतजावत गर्ने बीपी राजमार्ग र कान्ति राजपथ अवरुद्ध छ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका वडा नम्बर( ९ पिन्थलीमा सडक अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदोसहितको पहिरोले रोसी गाउँपालिका वडा नम्बर(८ गिम्दीबेसीमा पनि सडक अवरुद्ध भएको हो।
अहिले पनि पहिरो झरिरहेको हुनाले सडक दुईतर्फी रूपमा नै पूर्णरूपमा अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ तर्फ आउँदै गरेका र यताबाट सिन्धुलीतिर जाँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।
अर्नब चक्रपातको कारण गएराति देखि नै निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको सम्भावना बढेको छ।
त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पान्दु र तार्केमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी गोरखा, मुस्ताङ र सुर्खेतमा पनि बाढीपहिरोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्रिशूली–वेत्रावती सडक भासियो
लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–वेत्रावती सडक अवरुद्ध भएको छ।
बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ।
सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
सडकको बाँकी भागसमेत कमजोर रहेकाले सवारीसाधन सञ्चालन गर्दा थप दुर्घटनाको जोखिम देखिएको छ।
त्रिशूली–वेत्रावती सडक नुवाकोटको उत्तरी भेगका स्थानीय आवतजावतका लागि यो महत्त्वपूर्ण सडक हो।
यस सडकखण्ड अवरुद्ध हुँदा वेत्रावती तथा आसपासका क्षेत्रबाट त्रिशूली र अन्य स्थानतर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।
दैनिक उपभोग्य सामग्री ढुवानी तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणलाई समेत समस्या हुने देखिएको छ।
वर्षा निरन्तर भइरहेकाले अगिटार क्षेत्रमा थप पहिरो जाने र सडकको बाँकी भागसमेत भासिन सक्ने जोखिम छ।
सडकको अवस्था सामान्य नभएसम्म उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताइएको छ।
हिमपातले कोरला सडक अवरुद्ध
उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।
भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी०ले जनाएको छ ।
बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।
मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताए । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो । उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उनले बताए ।
यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३ १०:३०