असार २४, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरुद्ध गरेपछि मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाले बैठक अवरुद्ध गरेका हुन्।
गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुडभेटमा मृत्यु भएको जवाफ दिए।
कांग्रेसकी सांसद पुष्पा भुसालले यो मुलुकमा संविधान छरु सरकार छरु राज्य छ ? कानूनी राज्य छ ? शान्ती सुरक्षा छ ? भनेर तमाम नेपाली जनताले सरकारमाथि प्रश्न गरिरहेको बताइन्। सरकारले मुडभेडको नाममा हातखुट्टा बाँधेर यातना दिएर सर्लाहीमा पौडेलको हत्या गरिएको आरोप लगाइन्।
‘हामीले ल्याएको संविधानलाई बेवास्ता गर्नको लागि सरकार बनेको होइन, यो सरकारले शान्ति सुरक्षालाई भंग गर्ने किसिमले काम गर्न पाउँदैन, जब सरकारले कानुन मान्दैन संविधान मान्दैन तब सरकार निरंकुश हुन्छ’, सांसद भुसालले भनिन्,‘जब सरकारले नै संविधान र कानुनलाई भंग गर्छ तब समाजमा रहेका अपराधी न सरकारसँग डराउँछन् न कानुनसँग डराउँछन्।’
त्यस्तै राजपाका राजकिशोर यादवले सरकार काण्डैकाण्डमाथि इतिहास रच्न अगाडि सकेको आरोप लगाए। सर्लाहीका एसपी र सिडियोले माफियासँग पैसा लिएर इन्काउन्टरको नाममा कुमार पौडेलको हत्या गरेको आरोप उनको छ।
‘जनताका प्रतिनिधिले बारम्बार यहाँ जनताका पीडा राखिरहेका छौं तर किन यो सदन संवेदनशील भइरहेको छैनरु कि सदनको नियन्त्रण भन्दा सरकार बाहिरिएको छ। आज सभामुख मोहोदयले यसको जवाफ दिनुपर्छ’, सांसद यादवले भने,‘यो सरकार कहाँबाट नियन्त्रित छ ?
सर्लाहीमा एक महिनाभित्र तीनवटा मानवताविरुद्धको घटना भएका छन्, यहाँको एसपी र सिडियोले माफियासँग पैसा लिएर इन्काउन्टरको नाममा कुमार पौडेलको हत्या गर्यो।’
यस्तै असार १५ गते सर्लाहीमै पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि प्रहरीसँगको झडपमा सरोजनारायण सिंहको मृत्यु भएको गृहमन्त्री थापाले स्पष्ट पारे। मृतक राय र सिंहको परिवारलाई जनही २५÷२५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उनको भनाइ छ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपर्यो भन्ने प्रश्न गरेका थिए।