भदौ ३१, सप्तरी । संघीय समाजवादी फोरम नेपालले संविधान दिवसमा सहभागी नहुन प्रदेश २ मातहतमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रले निर्देशन दिएपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेकाले थप समस्यामा परेको छ ।
संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा उनले नै नेतृत्व गरेको पार्टीले विरोध प्रदर्शन गर्ने भएको हो ।
फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी छन् । संविधान दिवसका दिन फोरम नेपालले विरोधका कार्यक्रम समेत गर्ने भएको छ ।
दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७ः०० बजेदेखि ७ः१५ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय पार्टीले गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेसमा क्रियाशील अर्को पार्टी राजपाले पनि सोही समयमा ब्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
संविधान संशोधन गरी मधेशलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिवद्धता पूरा नभएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिवद्धता कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागु गरिएको दिन आगामी असोज ३ लाई कालो दिनकै रुपमा मनाउने निर्णय पार्टीको मधेश प्रदेश समितिको कार्य सम्पादन समितिले गरेको यादवले विज्ञप्तिमा जनाएकी छन् ।