भदौ १, काठमाडौं । पार्टीको वरिष्टताको बरियता खोसिएपछि नेकपा वरिष्ट नेता माधवकुमार नेपालले नेकपाको सचिवालय बैठकको निर्णयमा नोटअफडिसेन्ट लेख्नु भएको छ ।
केही समय अघि सकिएको नेकपा सचिवालय बैठकमा वरिष्ट नेताको एक नम्बरमा नेता भलनाथ खनालपछि आफूलाई राखिएको प्रति असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेखेको स्रोतले बताएको छ। स्रोतका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए। नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेको तर बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको छ ।
नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचौँ वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।
नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।
तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए।
पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको थियो ।
कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष तयारी छ । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो। एकताको समयमा माधव नेपाल झलनाथ खनाल भन्दा वरीयतामा अगाडि थिए । आजको बैठकले नेपालको त्यो वरीयता खोसिएको हो ।