भदौ ६, सुर्खेत । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टिले नागरिकलाई रुन समेत नदिएको आरोप लगाए ।
दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको आरोप लगाएका सभापति देउवाले भने, नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुन्छ ।
कंग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा शुक्रबार सुर्खेत पुगेका देउवाले हरेक क्षेत्रमा करको दायरा बढाउने, नागरिकलाई सास्ती दिने वर्तमान कम्युनिस्ट शासन नेपालमा अब चाँडै अन्त्य हुने ठोकुवा गरेका छन् ।
वर्तमान कम्युनिस्ट सरकार राणा शासनको भन्दा अधिनायकवादी बनेको तर्क गरेका उनले ‘२००७ सालबाट जनताको हीतका लागि लड्दै आएको कांग्रेसले नेपालमा राणा शासनदेखि पञ्चायत हुँदै राज्य व्यवस्था हटाएको दावी गर्दै जनताको विश्वास गुमाइसकेका नेपालका कम्युनिस्ट हटाउन धेरै कुर्नु नपर्ने तर्क गरे ।’
वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ । ‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ । अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्नु हो,’ देउवाले भने ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका दर्जनौँ केन्द्रीय शिर्ष नेतादेखि कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधि लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो ।