भदौं ९, काठमाडौं । आफूखुसी बोल्दै हिड्ने नेतालाई अंकुश लगाउने निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सकिएको छ ।
बैठकले पार्टी अनुशासन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको बैठकमा सहभागि नेताहरुले बताउका छन् । पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकले पार्टीका नेता कार्यकर्ताका बारेमा अभिव्यक्ति दिदा पार्टी भित्र नै छलफल गर्नुपर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, 'केन्द्रदेखि तल्लोतहसम्मका नेता कार्यकर्ताका बारेमा कुनै व्यक्तिगत कुरा सार्वजनिक रुपमा उठाउँनु परेमा तथ्यसंगत तरिकाले पार्टीभित्रै उठाउँनु पर्ने बैठकले निर्णय गरेको छ । त्यस्ता कुरालाई सार्वजनिक गरेमा स्पष्टीकरण सोध्नेदेखि आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।'
नेकपा बैठकले पार्टी विधानअनुसार देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनित गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । बैठकले सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीसमेत रहेका पार्टी केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा विभागको प्रमुखमा भानुभक्त ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको छ । उपप्रमुखमा रामकुमार राई रहेका छन् । विदेश विभागको उपप्रमुखमा विष्णु रिजाल चयन भएका छन् ।
बैठकले नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाल, प्रादेशिक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकेको छ ।
बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ । त्यस्तै कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरी, जनवर्गीय संगठन तर्फ महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ थप गरिएको छ ।
त्यस्तै दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थपिएको छ ।
बैठकले जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई चयन गरेको छ । खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ, शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन् ।
तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलालीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यस्तै पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री चयन भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।