भदौ ११, काठमाडौं । भर्खरै मन्त्रीको जिम्मेवारी सम्हालेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आप्mनो कार्ययोजनामा उल्लेख गरेको ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा एयरलाइन्स सञ्चालकले कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।
आफूले घोषणा गरेको कार्ययोजना कार्यान्वयनका लागि मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूसँग छलफल गरी निष्कर्ष निकाल्ने पनि बताएकै बेला एयरलाइन्स सञ्चालकहरुले यस्तो प्रतिक्रिया दिएका छन् ।
एयरलाइन्सहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ।
संघले मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैनु संघले पठाएको पत्रमा भनिएको छ।
संघले एयरलाइन्सहरू आफैंले छुट दिन नसक्ने तर राज्यले छुट दिने नीति लिएमा त्यसको कार्यान्वयन गर्न भने तयार रहेको बताएको छ।
यात्रु सेवा शुल्क, ईन्धन शुल्क, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट निःशुल्क छुट दिन वा यात्रा गराउन सक्नेतर्फ विकल्प पनि संघले सुझाएको छ।