सुर्खेत । संविधान दिवसलाई कर्णाली प्रदेश प्रदेश सरकारले पनि मनाउने भएको छ ।
प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा सोमवार (आज) बसेको सर्वपक्षिय बैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो ।
बैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीय तहरुमा सार्वजनिक सरसफाई, सजावट, दिपावली गर्ने जस्ता कार्यक्रमको आयोजना गर्न आग्रह समेत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले असोज ३ गते पर्ने संविधान दिवसका दिन बिहान ७ बजे प्रदेश राजधानी सुर्खेतको मंगलगढी चोकवाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।
प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ संस्थाहरूले साँस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा मुल समारोह समितिका सदस्य सचिव विनोदकुमार गौतमले जानकारी दिए ।
गौतमका अनुसार वैठकले प्रदेशका सबै नागरिकलाई आ–आफफ्नो घर तथा पसलहरुमा राष्ट्रिय झण्डा फहराउनुको साथै दिपावली गर्न समेत आव्हान गरेको छ । सदस्य सचिव गौतमले जानकारी दिनुभयो ।
यसैगरि बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।