काठमाडौं : विद्युतीय गाडी विश्वव्यापी रूपमा नै लोकप्रिय छ । वातावरण र स्वास्थका लागि पनि फाइदाजनक भएकाले पछिल्लो समय धेरैको रोजाइमा यो गाडी पर्न थालेको हो । डिजेल र पेट्रोलबाट चल्ने गाडीको विकल्पमा विद्युतीय गाडीको बजार क्रमसः उकालो लाग्दै गएको छ । संसारका अग्रणी अटोमोबाइल्स कम्पनीले सन् २०३० पछि पेट्रोल र डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन् ।
‘नेपाल आफैले गाडी उत्पादन गर्दैन । विश्वका अधिकांश कम्पनीले निश्चित समय सीमा तोकेर फोसिल फ्युलबाट चल्ने गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन् । यातायात इन्जिनियर आशीष गजुरेल भन्छन्, ‘यस्तो अवस्थामा नेपाल पनि विद्युतीय गाडीमा जानुको विकल्प छैन ।’ जैविक इन्जिनबाट चल्ने सवारीसाधनबाट निस्किने धुँवाबाट नेपाल पनि प्राभावित छ । विद्युतीय गाडी वातावरण मैत्री हुने भएकाले पनि राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीको प्रयोग गरेसँगै नेपालमा पनि विद्युतीय गाडीको बहस छेडिएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने गाडीबाट निस्किने धुँवाका कारण हुने वायु प्रदूषण घटाउन आम नेपालीलाई प्रेरणा दिने उद्देश्यले राष्ट्रप्रमुखले विद्युतीय गाडी खरिद गरेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी केशवकुमार घिमिरले जानकारी दिए ।
राष्ट्र प्रमुखले भदौ ८ गतेदेखि विद्युतीय गाडी चढ्न सुरु गरेका हुन् । राष्ट्रपतिका लागि करिब ६६ लाख रुपैयाँ पर्ने कालो रंगको विद्युतीय कार खरिद गरिएको हो । चिनियाँ बीवाईडी कम्पनीको ई–सिक्स मोडलको आरामदायी कार कम्पनीका चिनियाँ प्रतिनिधिले गत बिहीबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
‘काठमाडौं उपत्यकालगायत ठूला सहरमा वायुप्रदूषण अधिक छ त्यसैले यसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप राष्ट्रपतिले विद्युतीय कार प्रयोग गर्न लाग्नु भएको हो’, घिमिरले भने, ‘पर्यावरण जोगाउन विद्युतीय गाडीको प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन राष्ट्र प्रमुखले विद्युतीय कार चढ्नु भएको हो ।’
वातावरण विभागको तथ्यांकअनुसार देशमा वायु प्रदूषणको स्तर राष्ट्रिय मापदण्डभन्दा तेब्बर छ । वायु प्रदूषणमा ३८ प्रतिशत कारकतत्व सवारीसाधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले देखाएको छ । पीएम २ दशमलव ५ भन्दा सानो धुलोका कणको स्रोत पेट्रोल÷डिजेलबाट चल्ने सवारीसाधनको धुवाँ नै हो ।
राष्ट्रपतिसँग जैविक इन्धनले गुड्ने गाडी आधा दर्जनभन्दा धेरै छन् । सहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना फैलाउने लक्ष्यका साथ राष्ट्रप्रमुखले विद्युतीय कार चढ्न थालेको घिमिरेको भनाइ छ ।
राष्ट्रपतिले प्रयोग गरेको कार एकपटक पूर्ण चार्ज हुँदा चार सय किलोमिटरसम्म गुड्न सक्छ । कार पूरा चार्ज हुन ८० युनिट विद्युत् लाग्ने बीवाइडीका प्रमुख कार्यकारी निर्देशक सहिल श्रेष्ठले जानकारी दिए । राष्ट्रप्रमुखले चढ्ने कार आरामदायी र उत्कृष्ट भएको उनको दाबी छ ।
यस्तै पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीय सवारी खरिद गरेका छन् । मन्त्रीको पदभार सम्हालेलगत्तै पुनले जारी गरेको श्वेतपत्रमा विद्युतीय सवारीसाधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए । त्यसअनुसार विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न मन्त्री अनन्त आफैं विद्युतीय सवारी चढ्न सुरु गरेका हुन् ।
मन्त्रीका प्रेस सल्लाहकार रोशन खड्काले सरकारले क्रमिक रूपमा सबै सरकारी निकायमा विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउने योजना अनुरुप मन्त्रीबाट यसको सुरुवात भएको बताए ।
पुनले आइतबारदेखि भने वीबाइडीको बा २ झ ८९०३ नम्बरको विद्यतीय गाडी प्रयोग गर्न थालेका हुन् । सेतो रंगको विद्युतीय कार ५० लाख रुपैयाँमा खरिद गरिएको हो । गाडी पूर्णरूपमा चार्ज हुँदा तीन सय किलोमिटरसम्म गुड्न सक्छ ।
ऊर्जामन्त्रीले जारी गरेको श्वेतपत्रको बुँदा नं ७२ मा विद्युतीय सवारीसाधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र विद्युतीय सवारीसाधन प्रयोगलाई विशेष जोड दिइने उल्लेख छ । निजी तथा सार्वजनिक विद्युतीय सवारीसाधनको उपयोग वृद्धि गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेसनलगायत पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने श्वेतपत्रमा भनिएको छ । विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने लक्ष्यका साथ मन्त्री पुनले विद्युतीय कार चढ्न सुरु गरेको खड्का बताउँछन् ।
‘नेपालले पनि पेट्रोलियमबाट चल्ने सवारी हटाउने निर्णय गरिसकेको छ । वायु प्रदूषण घटाउन विद्युतीय सवारीको प्रयोग बढाउनु पर्छ । सबै नेपाली विद्युतीय सवारीको प्रयोग गर्नुपर्छ भन्ने प्रेरणा दिन विद्युतीय गाडी खरिद गरिएको हो’, खड्काले भने ।
राष्ट्रप्रमुख र ऊर्जा मन्त्रीले विद्युतीय गाडीको प्रयोग गरेर उदाहरणीय र प्रशंसनीय कार्यको सुरुवात गरको वातावरणविद् भूषण तुलाधारले बताए ।
‘मन्त्री, सरकारका वरिष्ठ अधिकारी र सर्वसाधारण समेत विद्युतीय सवारीमा आकर्षित हुने वातावरण तयार भएको छ, त्यसका लागि सरकारले विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ’, तुलाधारले भने ।
सरकारी स्तरबाट विद्युतीय सवारीसाधन प्रयोग गर्ने राष्ट्रिय योजना आयोग हो । गत वर्ष पुसमा आयोगका उपाध्यक्ष हुँदा डा.स्वर्णिम वाग्लेले चिनियाँ कम्पनीसँग ५५ लाख रुपैयाँमा विद्युतीय गाडी खरिद गरेका थिए । पूर्वअर्थ सचिव खनाल दुई वर्षदेखि विद्युतीय कार चढिरहेका छन् । उनी कोरियन अटोमोबाइल्स कम्पनी कियाको विद्युतीय सोल कार चढ्छन् ।
यस्तै गाडीका शौखीन मानिने पूर्वराजा ज्ञानेन्द्र शाह पनि विद्युतीय कार चढ्छन् । उनीसँग कियाको दुईवटा विद्युतीय कार छन् ।
वातावरण विद् तुलाधर पछिल्लो समय विद्युतीय सवारी प्रति नेपालीको आकर्षण बढ्दै गएकाले सरकारले विद्युतीय सवारी प्रयोगकर्तालाई आकर्षित गर्ने योजना ल्याउन नसकेको बताउँछन् । ‘विद्युतीय सवारी चढ्न चहानेको सबैभन्दा ठूलो अवरोध भनेको पर्याप्त मात्रामा चार्जिङ स्टेसन नहुनु हो, आवश्यक पूर्वाधार निर्माण गर्न सके जौविक इन्जिनबाट चल्ने गाडी चढ्ने व्यक्ति पनि विद्युतीय सवारीसाधनमा आकर्षित हुन्छन्’, तुलाधरले भने ।
नेपालमा उत्पादन हुने जल विद्युत्को उच्चतम प्रयोग गर्न पनि विद्युतीय सवारी अत्यावश्यक भइसकेको छ । केही समयमा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि बर्खायाममा खेर जाने बिजुली जोगाउन पनि विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक छ । तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ । हाल नेपालले वर्षायामा एक सय २० मेगाहर्ज र सुखा याममा चार सय ५० मेगाहर्ज विद्युत् दैनिक रूपमा भारतबाट आयात हुँदै आएको छ । ‘तामाकोसीलगायत परियोजनासँग नेपालमा खतपभन्दा विद्युत् आपूर्ति धेरै हुन्छ । खेर जाने विद्युत्लाई यातायात र घरायसी प्रयोजनमा प्रयोग गर्नुपर्छ’, तुलाधारले भने ।
इन्धनका लागि मुलुकको ठूलो धनराशी बाहिरिहेको छ । नेपालले गत आर्थिक वर्ष एक खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेको छ । इन्धनका लागि भारतको भर पर्नुपर्ने अवस्था छ । भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ । इन्धनको आयातदर प्रतिस्थापन गर्न सकिए व्यापार घाटा कम हुने विज्ञको भनाइ छ । २०७२ साल असोजमा भारतले लगाएको नाकाबन्दीको समयमा नेपालमा इन्धनको ठूलो हाहाकार मचिएको थियो । विद्युतीय सवारीको प्रयोग बढाउन सके भारतको परनिर्भतामा रहनुपर्ने बाध्यता घट्नेछ ।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारले पहलकारी भूमिका खेल्ने तयारी गरिरहेको सल्लाहकार खड्का बताउँछन् ।
विद्युतीय सवारीको प्रयोग बढाउन भन्सार र सडक दस्तुर छुट गर्ने विषयमा मन्त्री पुनले अर्थमन्त्री युवराज खतिवडासँग छलफल गरेको उनको भनाइ छ । त्यस विषयमा अर्थमन्त्री पनि सकरात्मक देखिएको उनी बताउँछन् । ‘भन्सारलगायत विभिन्न कर छुट दिएर विद्युतीय सवारी प्रयोग बढाउनुपर्ने देखिएको छ । सरकारले त्यसका लागि काम गर्न समिति गठन गरेको छ’, खड्काले भने, ‘केही समयभित्र समितिले विद्युतीय सवारी प्रयोग बढाउने नीति ल्याउनेछ ।’
सरकारले निजी प्रयोगका सवारीसाधनका लागि मात्र नभएर सार्वजनिक यातायातका क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोग गर्न सहजीकरण गर्नुपर्ने वातावरण विद् तुलाधार बताउँछन् ।
‘जैविक इन्धनबाट सञ्चालन हुने गाडीभन्दा विद्युतीय सवारीको सुरुवाती मूल्य बढी छ’, तुलाधरले भने, ‘विद्युतीय सवारी सञ्चालन गर्न चाहने कम्पनीका लागि सहुलियत ब्याज दरमा कर्जा र केही रकम प्रोत्साहन स्वरुप प्रदान गर्नुपर्छ ।’ उनका अनसुार साझा यातायातले सार्वजनिक यातायातमा विद्युतीय गाडीको सञ्चालन गर्न खोजेको छ । अहिले साझाले सञ्चालन गरिरहेको गाडीको मूल्य ३० लाख रुपैयाँ बराबरको छ । तर, चीनबाट खरिद गरेर ल्याउन लागिएको विद्युतीय गाडीको मूल्य दुईदेखि तीन करोड रुपैयाँसम्म पर्न जान्छ । सरकारले सहुलिय र अनुदान दिएको खण्डमा निजी क्षेत्र पनि विद्युतीय सवारी सञ्चालन गर्न आकर्षित हुने उनको दाबी छ ।
पाँच स्थानमा चार्जिङ स्टेसन
विद्युतीय सवारी प्रयोग बढाउन चार्जिङ स्टेसनको आवश्यक पर्छ । नेपाल विद्युत प्राधिकरणले र चिनियाँ कम्पनी वीवाइडी अटोसँग सहकार्य गरेर राजधानीका पाँच स्थानमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । राजधानीको रत्नपार्क, सिंहदरबार, थापाथली, नक्साल र सीतापाइलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भइसकेका छन् । वीवाइडीका सीईओ श्रेष्ठका अनुसार विद्युतीय सवारीको प्रयोगलाई देशभर सहजीकरण गर्नका लागि पूर्व–पश्चिम राजर्मागका विभिन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन राख्ने तयारी भएको बताए । यसका लागि प्राधिकरणसँग छलफल चलिरहेको उनले बताए । एउटा चार्जिङ स्टेसन राख्न करिब १५ लाखदेखि २० लाख रुपैयाँ पर्ने उनले जानकारी दिए । ‘चार्जिङ स्टेसन अहिले कम भए पनि भविष्यमा विद्युतीय गाडीको संख्या बढ्न थालेपछि यस्ता स्टेसन बढीभन्दा बढी खोल्नुको विकल्प छैन’, उनले भने ।
सञ्चालन खर्च न्यून
पेट्रोल÷डिजेल इन्जिनबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च न्यून हुन्छ । वीवाइडीका सीईओ श्रेष्ठ चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दा पाँच रुपैयाँदेखि १४ रुपैयाँ प्रतियुनिट लाग्ने बताउँछन् । उनले भने, ‘हामीले विद्युतीय सवारी प्रयोग गर्ने ग्राहकलाई विद्युत् कम माग हुने समयमा चार्ज गर्न अनुरोध गरेका छौं । माग अधिक हुने समयमा
चार्ज गर्दा १४ रुपैयाँ र कम माग हुने समयमा पाँच रुपैयाँ चार्जिङ शुल्क लाग्छ ।’
चार सय रुपैयाँ बराबरको विद्युत् प्रयोग गर्दा विद्युतीय गाडी चार सय किलोमिटर गुड्छ भने फोसिल फ्युलबाट चल्ने गाडी सोही मूल्यले ४० किलोमिटर मात्र गुड्ने उनको दाबी छ । बुँदा
–अग्रणी अटोमोबाइल्स कम्पनीले सन् २०३० पछि पेट्रोल र डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन् ।
–डिजेल र पेट्रोलबाट चल्ने गाडीको विकल्पमा विद्युतीय गाडीको बजार क्रमसः उकालो लाग्दै गएको छ । – इन्धनका लागि मुलुकको ठूलो धनराशी बाहिरिरहेको छ । नेपालले गत आर्थिक वर्ष एक खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेको छ ।
–वायु प्रदूषणमा ३८ प्रतिशत कारकतत्व सवारीसाधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले देखाएको छ ।