सुर्खेत। आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७६ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेको हो ।
मंसिर १८ गतेदेखि सञ्चालन हुने उक्त महोत्सव मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा तीन सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यवसायीका स्टल रहने शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । त्यस्तै कर्णाली प्रदेशका प्रतिजिल्लाबाट कम्तीमा पाँच उद्यमीको सहभागिता रहने आयोजकको भनाइ छ । महोत्सव अवधिभरि दुई लाख बढी सर्वसाधारणले अवलोकन गर्ने र पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए । ‘प्रदर्शनीमा कर्णाली तथा नेपालभरिका लघु घरेलु तथा साना उद्यमीको सहभागिता हुन्छ,’ उनले भने, ‘यसका साथै स्वदेश तथा विदेशका उत्पादन तथा सेवाको प्रदर्शन गरिने छ ।’ महोत्सवमा महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने उनको भनाइ छ ।
त्यस्तै कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचारप्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचारप्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । त्यस्तै महोत्सवमा जौको मःम, फापरको चाउमिन, लगर चोतीको अचार, चिनो मार्सी चामलको खिरलगायत अन्य कर्णालीका स्थानीय परिकारको स्वाद लिन सकिने छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय लघु उद्यमी महासंघ र अन्य उत्पादनमा लागेका सहकारी संस्थाहरूसँग सहकार्य गरेर महोत्सव सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।