काठमाडौँ, १२ कात्तिक । बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा मोरङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीका घटनामा रु दुई करोड एक लाख ५० हजारबराबरको धनमाल नष्ट भएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेका उनका चार वर्षीय छोरा युसन गिरीको घटनास्थलमै जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बसले किचेर थप एक किशोरीको मृत्यु
चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ ।
त्यस्तै आइतबार राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब रु. एक लाख ५० हजारबराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।