कर्णालीपत्र
सुर्खेत । सरकारले सोमबार नियुक्त गरेका प्रदेश प्रमुखको विषयलाई लिएर कर्णाली प्रदेशमा स्थानीयलाई नसमेटेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ भने नेकपाको सचिवालय बैठकमा नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।
वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखको सूचीमा आफूले सिफारिस गरेका नाम नपरेपछि पार्टीभित्र असहमति राखेका छन् । पार्टीको सचिवालयले गरेको सिफारिसमा उल्लेख भएका सबै नाम एकपक्षीय भएको भन्दै उनले असहमति राखेका हुन् । नेकपा सचिवालय स्रोतका अनुसार नेता नेपालले बैठकमा प्रस्ताव गरेको कुनै व्यक्ति पनि प्रदेश प्रमुखमा परेका छैनन् । उनका अनुसार नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । तर प्रदेश प्रमुख सिफारिससम्बन्धी नेकपा सचिवालयको निर्णयमा उनीहरूमध्ये कसैको नाम पनि उल्लेख छैन ।
संघीय लोकतान्त्रिक व्यवस्थामा समेत प्रदेश प्रमुखमा स्थानीयलाई नसमेटेको भन्दै सरकारको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । सत्तारूढ दल नेकपाका नेता, सांसददेखि कार्यकर्ता र सर्वसाधारण नागरिकसम्मले प्रदेश प्रमुखमा कर्णालीको प्रतिनिधित्व नभएकोमा निकै नेकपा नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् ।
सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य मानेका नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘अन्तका मेयर हारेकाको योग्यता पुग्दो रहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न के के चाहिने रहेछ ?’ यस्तै नेकपा जुम्लाकी नेतृ तथा पूर्व सांसद गोमा कुँवरले ‘हेप्नुको पनि हद हुन्छ’ भन्दै कर्णालीबाट प्रदेश प्रमुखको लागि सिफारिसमा नपरेको प्रति आफ्नै पार्टी र सरकारप्रति आक्रोस पोखेकी छन् ।
उता नेकपा कालीकोटका नेता विश्वराज बल आफ्नै पार्टीको नेतृत्वप्रति आक्रोस पोख्दै प्रश्न गर्छन्, ‘मै कर्णाली प्रदेशमा देश चलाउँछौं भन्ने नेताको औकात देखियो, प्रदेश प्रमुख हुने योग्यता, क्षमता नभाको कि शासकले नदेख्या हुन ?’ कर्णाली प्रदेशकै स्थानीयलाई प्रमुखको जिम्मा दिनुपर्ने भन्दै कर्णाली प्रदेशका स्थानीयबाट सामाजिक सञ्जालमा सरकार, नेकपाको सचिवालय र कर्णाली प्रदेशको नेकपा नेतृत्वको चर्को आलोचना भएको हो । कर्णालीलाई छुट्टै प्रदेश निर्माण गर्न ठूलो लडाइँ लड्नु परेको भन्दै स्थानीयले त्यसमा फेरि एकपटक कर्णालीप्रति सरकारले हेपेको आरोपसहित आलोचना गरेका हुन् ।