हुम्ला
मुगुको शोरु गाउँपालिका कर्मचारी विहिन बनेको छ । सुरक्षाको कारण देखाउँदै गाउँपालिकामा कार्यरत सबै कर्मचारी अन्यत्र गएपछि गाँउपलिका कर्मचारीविहिन बनेको हो ।
गत असोज १३ गते गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुुराम उपाध्याय नेकपा माओवादी ‘विप्लव’ समुहको भौतिक आक्रमण परेपछि बाहिरिएका गाउँपालिकाका कर्मचारी काममा नआउँदा यतिवेला सिंगो गाउँपालिका कर्मचारी बिहिन बनेको हो ।
सुरक्षाको कारण देखाउँदै गाउँपालिकाका अधिकांश कर्मचारीले अन्यत्र सरुवा मागेको र स्थानीय कर्मचारी सदरमुकाम गमगढीमै बसेपछि गाउँपालिका कर्मचारी अभाव भएको हो । २९ जना कर्मचारीको दरबन्दी भएको गाउँपालिकामा अहिले चार जना मात्रै कार्यरत छन् । त्यही पनि प्रमूख प्रशासकिय अधिकृत परशुुराम उपाध्याय, उपचारका क्रममा काठामाडौं, लेखापाल खगेन्द्र बुढथापा आफ्नै सरुवाको प्रक्रियामा जिल्ला बाहिर, खरिदार ईश्वर सिंह र सचिव प्रकाश धामी सदरमुकाम गमगढीमै बसेपछि गाउँपालिकामा कुनैपनि कर्मचारी कार्यरत छैनन् ।
११ वटा वडा भएको गाउँपालिकामा एक जनापनि कर्मचारी नभएपछि स्थानीयलाई सिफारिस लगायतका अन्य काम गर्नमा समेत निकै समस्या भएको नेपाल राष्ट्रिय माध्यमिक विदालय धैनका शिक्षक बिरजन मल्ले जानकारी दिए । गाउँपालिकामा पुरै ताला लगाइएको बताएका शिक्षक मल्ले भने, ‘दुर्गमको सिफारिस, जन्म दर्ताको प्रमाण–पत्र लिन समेत स्थानीयले पाएका छैनन् ।’
दशैं र तिहारको विदामा घर गएका कर्मचारी कोहीपनि नआएकाले कर्मचारी बिहिन भएको गाउँपालिका कार्यालयले जनाएको छ । ‘गाउँपालिकामा २९ जना कर्मचारीको दरबन्दी छ । तर कार्यालय खोलेर बस्ने एक जना पनि कर्मचारी छैन ।’ गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले भने, ‘११ वडा कार्यालय, विषयगत कार्यालय र गाउँपालिकाकाको काम कसरी गर्ने भन्ने समस्याले हामीलाई निकै सताएको छ ।’ उनका अनुसार एक महिनादेखि गाउँपालिकाका विकासे गतिविधि भन्दा सामान्य सिरफारिसका काम समेत हुन सकेका छैनन् ।
‘दसैं र तिहारको बिचमा गाउँपालिकामा आउँदै गरेको बेला आफूमाथि बिच बाटोमै भौतिक आक्रमण भएपछि पालिकाका कुनैपनि कर्मचारी फर्किन मानेका छैनन् ।’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुुराम उपाध्यायले भने, ‘दिनदाहाडैं म माथि नै भौतिक आक्रमण हुँदापनि पालिकाको नेतृत्व र प्रहरी प्रशासनले अहिलेसम्म कुनै ठोस पहल नगरेकाले पनि कुनै कर्मचारीको गाउँपालिकामा काम गर्न जाने मनस्थिति छैन् ।’ थप उपचार गर्नुपर्ने भएकाले आफूपनि सरुवाको प्रक्रियामा रहेको बताएका अधिकृत उपाध्यायले ११ वडामा २ जना सचिव र गाउँपालिकामा ४ जना कर्मचारीले थेगेको बताए । उनले भने, ‘कर्मचारी समायोजनमा अन्तै परेका कर्मचारी साथीहरूलाई मैले रमना नदिएर राखेको थिएँ, अब सुरक्षा चुनौती भएपछि मैलेपनि केही गर्न सक्ने अवस्था छैन् ।’
यसैबिच गाउँपालिका अन्र्तगतको स्वास्थ्य कार्यालयहरूपनि स्वास्थ्यकर्मी बिहिन भएका छन् । गाउँपालिकाभर कार्यरत २३ जना अनमीहरू एकैपटक सरुवा भएर गएकोले पनि पालिकाका स्वास्थ्य संस्था कर्मचारी बिहिन बनेका हुन् । दरबन्दी भएका अहेब र हेल्थ असिष्टेण्टमा नयाँ कोहीपनि नआएकाले स्वास्थ्य संस्थाहरू खाली छन् ।
अध्यक्षको चेतावनी
सुरक्षाको कारण देखाउँदै पालिका बाहिर रहेका कर्मचारी काममा नफर्के कानुनी कारबाही गर्ने चेतावनी गाउँपालिका अध्यक्षले दिएका छन् ।
बुधबार कर्मचारीका नाममा जानकारी पत्र जारी गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले भने, ‘जिल्ला बाहिरबाट आएका कर्मचारी रमाना लिएर गएँ, केही बाँकी रहेका कर्मचारी पनि गाउँपालिकामा आउँन मान्दैनन् ।’ म अहिलेपनि कर्मचारी खोजिरहेको छु । जानकारी पत्रमा तीन दिन भित्र कार्यालयमा हाजीर हुन ताकेता गरेका छन् ।