सिमकोट । प्रमुख दलहरूले आफ्नो उम्मेदवार छनोट गर्न प्रतिस्पर्धी पार्टीको निर्णय कुर्दा गाउँपालिका उपाध्यक्ष पदको उम्मेरदवार छनोटमा ढिलाई गरेका छन् ।
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको रिक्त पदमा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको उम्मेरदवार छनोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले एक अर्काको बाटो कुर्दा यस्तो भएको हो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीचको एकताबाट बनेको नेकपाले तत्ला कमिटीले सिफारिस गरेका नाममा छलफल गरिरहेको छ । कांग्रेसको विद्यमान बर्चस्वमा विजय शुरु गर्नेे रणनीतिमा लागेको नेकपाले कांग्रेसका उम्मेरदवारको बाटो पर्खेको छ । गएको सोमबार र मंगलबारको जिल्ला कमिटी बैठकबाटै आफ्नो पार्टीको उम्मेदवार छनोटको एजेण्डा तय गरे पनि कार्यकर्ताले कांग्रेसको उम्मेरदवारअनुसार आफ्नो उम्मेरदवार तय गर्नुपर्ने सुझावले निर्णयबाट पछि हटेको होे ।
२०७४ वैशाख ३१ गते सम्पन्न निर्वाचनमा दोस्रो भएको तत्कालिन एमाले र तेस्रो भएको माओवादी केन्द्र मिलेर बनेको नेकपा जसरी पनि परिणाम आफूतिर पार्ने रणनीतिलाई उम्मेदवार छनोटदेखि नैं कार्यान्वयन गर्न चाहन्छ । हामी बिपक्षीको रणनीति र स्थानीय कार्यकर्ताको योगदानका बारेमा आन्तरिक छलफलमा जुटेकाले उम्मेरदवार छनोटमा केही ढिलाई भएजस्तो देखिएको हो ।’ नेकपा खार्पुनाथ इन्चार्ज रणसिंह परियारले भने, ‘अबको दुई दिनमा कुनै पनि हालतमा हामी उम्मेरदवारको टुङ्गो लगाउँछौं ।’
खार्पुनाथलाई आफ्नो पकेट क्षेत्र बनाएको कांग्रेसले आफ्ना दलको उम्मेरदवार छनोट गर्ने प्रस्तावलाई शुक्रबारदेखि पार्टी कमिटीमा प्रवेश गराएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको मताधिकार भएको गाउँपालिका भएकाले निर्वाचनलाई नेता शाहीसँगको प्रतिष्ठा कांग्रेसले बनाएको छ । कांग्रेस कुनै पनि मूल्यमा उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने दबाबमा छ । गाउँपालिकाका दीवंगत उपाध्यक्ष सिन्धु हमाल शाहीका आफन्तमा परेको पींडा र विगतका निर्वाचनमा मौका नपाएका पार्टीका नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने समस्याबाट अघि बढेको कांग्रेस हुम्लाले आजबाट शुरु हुने गाउँपालिका केन्द्रित बैठकलाई उम्मेदवार छनौट अभियानका रुपमालिएको छ । ‘हामीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल थालेका छौं ।’ नेपाली कांग्रेस पार्टी सभापति जयपति रोकायले भने, अबको दुई दिनभित्रमा पार्टीले उम्मेरदवार तय गर्छ ।’
तीन/तीन जनाको चर्चा
मंसीर १४ गते हुने खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेसमा तीन÷तीन जनाको नाममा चर्चा चलेको छ । नेकपाको खार्पुनाथ गाउँकमिटीले गएको आइतबार रुपाशाही, महान्त्या छत्याल र पूर्णबहादुर रोकायाको नाम सिफारिस गरेको थियो । रुपा २०७४ को स्थानीयतहको निर्वाचनमा तत्कालिन एमालेकोतर्फबाट झिनो मतान्तरले पराजित उम्मेरदवार हुन् । भने छत्याल र रोकाया तत्कालिन माओवादी केन्द्रबाट आकांक्षी हुन् ।
उता नेपाली कांग्रेसमा पनि तीनै जनाको नाम चर्चामा छ । नेपाली कांग्रेस हुम्ला स्रोतका अनुसार तारा शाही, धीरबहादुर शाही र जयबहादुर शाही उपाध्यक्ष पदमा आकांक्षी देखिएका छन् । धीरबहादुर दिवंगत सिन्धुका पति हुन् भने तारा र जयबहादुर लामो समयदेखि पार्टीमा अवसर नपाएका कार्यकर्ताका रुपमा चिनिन्छन् ।
नेकपामा रुपा, कांग्रेसमा ताराको सम्भावना
खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा नेकपाको तर्फबाट रुपा शाही र कांग्रेसबाट तारा शाही बलियो दावेदारका रुपमा देखिएका छन् ।
२०७४ को निर्वाचनमा निकटम प्रतिद्वन्द्वीभएकी रुपालाई यस पटक पनि पार्टीको उम्मेरदवार बनाउन पार्टी उच्च तहमा छलफलभएको छ । पार्टीको उच्च स्रोत भन्छ, ‘खार्पुनाथजस्तो क्षेत्रमा रुपाले झिनो मतान्तरले पराजय व्यहोरेकाले पनि यो पटकको उम्मेरदवार उनैलाई बनाउनुपर्छ ।’ तत्कालिन दुई पार्टी एक भएर बनेको नेकपाभित्र धेरै आकांक्षी भएकाले शान्त पार्न तत्कालै निर्णय नगरे पनि अन्तिम उम्मेदवारका रुपमा रुपाकै नाममा निर्णय हुने एक नेताले ठोकुवा गरे ।
लामो समय पार्टीमा काम गरेको र एकै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्ने कानूनी व्यवस्थाले पनि कांग्रेसमा तारा शाहीको सम्भावना बढ्दै गएको छ । कांग्रेस स्रोत भन्छ, ताराको माइतीदेखि गाउँपालिकाका अधिकांश गाउँमा नातागोता बढी छन् । स्थानीय चुनाव नाता गोता र आफन्तबाटै बढी प्रभावित हुने भएकाले तारा बलियो दाबेदारका रुपमा हेरिएकी छन् ।
गत जेठ ३ गते सिमकोटबाट गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप कर्णाली नदीमा दुर्घटना हुँदा सो पालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएको थियो ।