सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने विषय हल्ला मात्रै भएको बताएका छन् ।
प्रदेश सरकार परिवर्तन गर्न सत्तारुढ दल नेकपा भित्रै अविश्वासको प्रस्तावको तयारी भइरहेको भन्ने समाचार सार्वजनिक भइरहेको बेला मुख्यमन्त्री शाहीले आफूले त्यस्तो कुनै संकेत नपाएको बताए ।
‘मेरो विरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदैछ भन्ने कुरा अहिलेसम्म मैले कुनै संकेत पाएको छैन ।’ मुख्यमन्त्री शाहीले बुधबारको अन्तर्वार्तामा भने, ‘मुख्यमन्त्री परिवर्तन पार्टीको संस्थागत निर्णयले गर्ने हो, यस बारेमा पार्टी र संसदीय दलको बैठकमा कुनै छलफल भएको छैन ।’ मुख्यमन्त्री शाहीले पार्टीमा छलफल नै नभएको कुरा बाहिर आएकोप्रति आश्चर्य समेत प्रकट गरे । उनले कर्णाली प्रदेश सरकार र सत्तारुढ दल नेकपालाई कमजोर बनाउन त्यस्तो हल्ला फिंजाइएको हुनसक्ने तर्क गरे । मुख्यमन्त्री शाहीले भने, ‘म पार्टीको निर्णयबाट मुख्यमन्त्री भएको हुँ, यदि हटाउनु पर्दा पार्टीले नै निर्णय गर्छ, सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनु पर्दैन ।’ चोर दुलोबाट मुख्यमन्त्री र सरकारविरुद्ध प्रस्ताव आउन नसक्ने भन्दै उनले कर्णाली प्रदेश सरकार परिवर्तन हुँदैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह समेत गरे ।
सत्तारुढ दल नेकपाको कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले एक अर्को प्रसंगमा पार्टी नेता यामलाल कँडेल र आफूबीच बाहिर प्रचार गरे जस्तो कुनै मतभेद नरहेको बताए । ‘म उहाँलाई (कँडेललाई) पछि पारेर मुख्यमन्त्रीको पदमा आएको होइन ।’ उनले भने, ‘तत्कालिन अवस्थामा रहेका दुइ फरक पार्टीबीच कर्णाली र सुदुरपश्चिम प्रदेशको नेतृत्व तत्कालिन माओवादीले गर्ने सहमति अनुसार म मुख्यमन्त्री बनेको हो, त्यो कुरा प्रष्ट नै छ ।’ सरकारको कुनै नयाँ काम गर्दा आफूहरुबीच सल्लाह भएको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘उहाँ (कँडेल) हिजो पनि मेरो आदरणीय नेता हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि हुनुहुनेछ ।’ पार्टी एकीकरणको प्रक्रिया भागबण्डाकै आधारमा अघि बढेकोप्रति संकेत गरेका मुख्यमन्त्री शाहीले यहाँको (कर्णालीको) यदि मुख्यमन्त्री परिवर्तन भइहाले त्यतिवेला पूर्व माओवादीले पाए अर्को पक्ष (पूर्व एमाले) बाट सम्भावना नहुने बताए । ‘सत्ता परिवर्तनको कुरा उहाँलाई ‐यामलालजी) राम्ररी थाहा छ तर बाहिर किन हामीबीच भएको सुमधुर सम्बन्धलाई दरारका रुपमा प्रस्तुत गरिन्छ ।’ उनले भने ।
पार्टी र सरकारको नेतृत्वमा फरकफरक व्यक्ति हुँदा सरकारका काममा अपेक्षित समन्वयको अभाव देखिएको बताएका मुख्यमन्त्री शाहीले पार्टी र सरकारलाई एकढिक्का बनाएर अगाडि बढाउन दुवैको नेतृत्व एउटै व्यक्तिलाई दिएको भए उपयुक्त हुने तर्क गरे । सत्ता र पार्टीको नेतृत्व एकै व्यक्तिले गर्ने हो भने पार्टीको निर्देशन अनुसार सरकारका नीति तथा कार्यक्रम निर्माण, कार्यान्वयन र अनुगमन गर्ने र सोही अनुसार सिंगो पार्टीलाई केन्द्रित गराउन सकिने तर त्यसो नभएकाले कर्णाली प्रदेशमा अलिक कठिन भएको उनको भनाई थियो ।
सरकारप्रति सत्तापक्षीय सांसदको चर्को आलोचनालाई उनले अलि बढी स्वतन्त्रताको संज्ञा दिए । ‘हामी भर्खर नयाँ–नयाँ परिपाटीमा छौ, के बोल्ने र कहाँ बोल्ने भन्ने कुराको पनि सांसदहरुले ख्याल गर्नुपर्छ होला ।’ मुख्यमन्त्री शाहीले भने । कुनै बेला पार्टी प्रतिपक्ष जस्तो भूमिकामा प्रस्तुत भएजस्तो देखिँदा प्रतिपक्षीले बाहिर अनेक प्रकारका हल्ला फैलाउने मौका पाएको निष्कर्ष पनि मुख्यमन्त्री शाहीको थियो ।
पुरानै विकासे मोडेलका कारण प्रदेश सरकारले विकासमा अपेक्षाकृत रुपमा परिणाम हात पार्न नसकेको स्वीकारेका मुख्यमन्त्री शाहीले आफूले शुरु गर्न खोजेको नयाँ विकासको मोडेलका लागि कानून बाधक रहेकोे प्रष्टीकरण दिए । हामीले प्रदेशको समग्र विकासको सम्भाव्यता अध्ययन गर्न, योजना तर्जुमा र कार्यान्यन गर्न ‘कर्णाली विकास प्राधिकरणको’ परिकल्पना गरेका थियौ । त्यो सम्बन्धी कानून कर्णाली प्रदेश सभामै अड्किएको छ ।’ उनले भने, ‘प्रदेशबाट सञ्चालन हुने सबै आयोजनाको सर्भे, डिजाइनलगायतका प्राविधिक काम गर्न इन्जिनियरिङ कम्पनीको अवधारणा अघि बढायौं । जुन दर्ता प्रक्रियामा संघीय सरकारको सहमति आवश्यक पर्ने भएकाले कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर अड्कियो । जसले नयाँ ढंगले काम गर्ने प्रदेश सरकारको उत्साहमा ब्रेक लागेको छ ।’
प्रदेश सभामा भएका सबै राजनीतिक दलहरूलाई कर्णालीको प्रतिपक्ष भनेकै यहाँको गरिवी हो, भन्ने कुरामा एकमत बनाउनु नै आफ्नो २२ महिने कार्यकालको पहिलो उपलब्धीका रुपमा लिएका मुख्यमन्त्री शाहीले सबै प्रदेशलाई उछिनेर सर्वसम्मत रुपमा प्रदेशको नामांकन र राजधानीको टुंगो लगाउनु, प्रदेशलाई उत्तर दक्षिण जोड्न हिल्सा–सुर्खेत हुँदे जमुनाह सडकको सम्भाव्यता अध्ययन गर्नु महत्वपूर्ण उपलब्धी भएको जिकिर गरे । कोहलपुर–सुर्खेत सडक चौडा बनाउने काम विश्व बैंकलाई जिम्मा दिइनु, प्रदेशका सबै योजनाको सम्भाव्यता अधयन गर्न चिनियाँ कम्पनीलाई निःशुल्क रुपमा तयार पार्ने काम आफ्नो अहिलेसम्मका महत्वपूर्ण उपलब्धी रुपमा मुख्यमन्त्री शाहीले लिएका छन् ।
आवश्यक जनशक्ति नहुँदा विकास निर्माणका कामहरु अपेक्षित रुपमा पूरा गर्न नसकिएको स्वीकार्दै मुख्यमन्त्री शाहीले खर्च बढाउने नाममा जथाभावी रकम नसक्ने उल्लेख गरे । उनले भने, ‘जथाभावी रकम बाँडेर खर्चको प्रतिशत बढाउन सकिन्छ होला तर त्यसले प्रदेशको उन्नति होइन अधोगतिमा लैजान्छ ।’ मन्त्रीहरुले आफ्नो पदीय मर्यादा कायम नगरेको र जथाभावी रुपमा हिडने गरेको आरोपप्रति मुख्यमन्त्रीले शाही अनुभवजन्य समस्याका कारण त्यस्तो भए पनि बिस्तारै ठीक लाइनमा आएको बताए । एक अर्को फरक प्रसंगमा उनले विज्ञ समूहको सबै सल्लाह मान्न सरकार बाध्य नहुने उल्लेख गरे । ‘उहाँहरुले सल्लाह दिने हो, उचित लागे सरकारले मान्न सक्छ, नत्र मान्नै पर्छ भन्ने छैन ।’ उनले भने ।
कर्णाली अरु कसैको कारण नभई हाम्रो आफ्नै कारणले पछाडि परेको बताउँदै मुख्यमन्त्री शाहीले नकरात्मक चिन्तन नै ठूलो प्रगतिको बाधक रहेको बताए । उनले भने, ‘हामी आफनो प्रगतिमा भन्दा अर्काको दुर्गतिमा रमाउछौं, बरु आफू नहोस् भन्छौं तर अर्कालाई हुन दिँदैनौ, यही सोचले नै हामीले प्रगति गर्न सकेका छैनौँ ।’ अर्काको खुट्टा तान्ने प्रवृत्ति नै कर्णालीको सबैभन्दा ठूलो समस्या रहेको उनले औंल्याए ।
‐मुख्यमन्त्री शाहीसँगको विस्तृत अन्तर्वार्ता मंसिर ६ गते शुक्रबारको कर्णालीपत्रमा प्रकाशन गरिने छ ।)