तेजेश्वरबाबु ग्वंग
तिहारै त हो । रंगीचंगी नै रहन्छ । रङहरूका टीका रंगीचंगी । उमंगहरूका तराना रङबिरंगी । मौसमी फूलहरू लटरम्म भुक्कभुक्क झकझकिएका हुन्छन्, बारीबगैँचा प्रकृतिका उपहार रसदार फल दानाहरूमा । मस्तमस्त चिरबिराउँछन्, चराचुरुंगी आफ्नै तानामा । जुनकिरीहरू जगमगाइरहेकै हुन्छन् हावामा । प्राकृतिक देन र छटा तिहारको मेला ।
यसरी मनलाई चुलबुलाइदिन्छ यो कात्तिके पिङको वेला । भित्रभित्रै मस्तमस्त मन चुलबुलाउँछ । बाहिर ठाउँठाउँमा हुत्तिँदै हुरिँदै पिङ सलबलाइरहेको हुन्छ । मलाई नि हुर्रियूँ–हुर्रियूँ लाग्न थाल्छ नातिनातिनाका दौँतरीकै लाम लागेर । आऊ एक फेरा उचालियौँ, यो धर्तीको सतहमाथि डोलेर डोलायमान । यो मस्तीको मौसम रसबरी चमचम ।
मौसमी चाड यो ऋतुको वरदान । ऋतु प्रकृतिको स्थलगत वातावरणीय वरदान । ऋतु ज्ञानकै आधारमा निर्मित छन्, यो मौसमी तिहार चाड । यो फलहरूको चाड । यो फूलहरूको चाड । यो प्रत्येक सालका बालिनाली र फसलबाट बनाइने परिकारका स्वादिलो चाड । फलका मगमगाउँदो सुवासको चाड । यो सुगन्धमय सुन्दर फूलहरूको महकका बास्नादार चाड ।
दसैँपछिको सानदार उत्सव यो पञ्चरंगी जीवन दर्शन संस्कारमा झुलाउने चाड । पञ्चरंगी जीवन दर्शन भनेछु । जल, वायु, तेज, माटो र आकाश (इबर) जीवनका पञ्चतत्व जगत्ले अनुभूत गरेका अहम् तत्व रहे । पञ्चरंगी जीवनका आधारभूत मूल तत्व नै बने । विश्वव्यापी मान्यता यो । पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिरबाट आत्मसात् गरिएका मूल्य रहे ।
तिहारले अँगालेका मूलका पञ्चरंगी तत्व लोकाचारमा आधारित छन् । जीव जगत्का आपसी सहअस्तित्व जगाउने मान्यता यो चाडको मर्म रहेको छ । चाडमा परिपालन गरिने संस्कार यसका मार्मिक रीतिरिवाज अनुभूत गर्छु । चाडका संस्कार कोरा रीति मात्र होइनन् । यसभित्र जीव–जगत् सन्तुलन कायम राख्नुपर्ने मन्त्र निहित छन् । जीव–जगत्बिचको सन्तुलन भन्नु जीवहरू र संसारबिचको सन्तुलन कायम राख्नुपर्ने तत्वबोध भन्छु म । अनेक जीव एक–आपसमा निर्भर छन् । आपसी निर्भरतामै त सन्तुलन कायम रहन्छ ।
आपसी निर्भरताले वातावरणीय सन्तुलन तराजुमा जोखिएको हुन्छ । तराजुमा जोख्नुको तात्पर्य सन्तुलन गर्नु हो । चरा, पशु र मानिसबिच सम्बन्ध त छन् नै । काग त स्वतन्त्र पक्षी भएर पनि मानिस नजिक रहन सक्ने प्राणी भए । स्वतन्त्र रहेर पनि मानिसका बस्तीवरपर बसोवास गर्ने प्राणी काग चरा रहेका छन् । समदूरी सन्तुलनका पूर्वाधार बन्छ । कागपूजाको अन्तर अर्थबोधले मलाई प्रकृति संरक्षण गर्नुपर्ने ज्ञान झल्काइदिन्छ । प्रत्येक चाडपर्वमा पालन गरिने एक–एक संस्कार मेरा निमित्त सांस्कृतिक ग्रन्थका सिद्धान्तका प्रयोगात्मक रूप अलङ्कार बनिरहेको हुन्छ । आफ्नै आँखाका द्वार प्रयोग गरेर म मेरै विवेक ब्रह्मसम्म यात्रा भर्ने जमर्को गरिरहेको हुन्छु, यस चाडमा ।
हामी कुकुर तिहार मनाउँछौँ । कुकुरले घरको रखबारी गर्छन् । अपरिचित बाहिरी जीवलाई प्रवेश निषेधको आज्ञा दिन्छन्, बेसरी भुकेर हाऊँ हाऊँ । आफ्नो संसर्गमा रहेकालाई माया दिन्छन् । उनको त्यो माया पुच्छर हल्लाइमा व्यक्तिरहन्छ । उनको स्नेह चाट्ने स्वभावमा प्रदर्शित हुन्छ । कुकुर कुकुरै मात्र नरहेर जीवात्मा साथी बन्छन् । उनका तीक्ष्ण घ्राणशक्ति अपराध अनुसन्धानका असीम साधना यन्त्र बन्छ । पश्चिमेलीहरू कुकुरलाई छोराछोरीजत्तिकै माया गर्छन् । विद्यार्थीकालमा मेरा स्नातकोत्तर सहपाठी एलेन ह्य्रापस्की मेसिगन स्टेट विश्वविद्यालयको कक्षामा उनको कुकुरको अवसानमा विरक्तिएको घटना अहिलेझैँ लाग्छ । कुकुरको तीक्ष्ण मस्तिष्ककै कारण रसियन अन्तरिक्ष वैज्ञानिकहरूले ‘लाइका’ कुकुरलाई भालिन्टिना टेरिस्कोभाभन्दा पहिले अन्तरिक्षमा पठाएथे । हामी कुकुरको पूजा गर्छौं, किनकि उनी हाम्रा स्नेही साथी हुन् ।
गाई पालनपोषण कृषिजन्य पेसा भन्छु म । पुख्र्यौली पेसा कृषि र कृषिजन्य नै थिए । कृषिका लागि कृषिजन्य पेसा नगरी सुखै हुन्न । यसो हुनु अन्तरसम्बन्धको डोरी बाट्नुबराबर हुन्छ । खेतीका लागि मल चाहिन्छ । गाईले गोबर मल दिन्छ । खेतीका लागि श्रम चाहिन्छ । गोरुले खेतमा हलो जोतेर श्रमदान गर्छ । वातावरण जोगाउन बन चाहिन्छ । गाईगोरु पाल्न डाले घाँस नभई हुन्न । चराचुरुंगी संवद्र्धन र संरक्षण गर्न जंगल जोगाउनैपर्छ । यस्ता कामलाई पुर्खाले सही धर्म भने, माने । गोवर्धन पूजा वनवृद्धि र जोगाउने कार्यमूलक धर्म बन्यो । धर्म शब्दको अर्थ युगसापेक्ष रहन्छ । यो धारणाको मर्म वातावरणविद्हरू अहिले पनि समयोचित ठान्छन्, मान्छन् । गोवर्धनपूजाभित्रका रहस्य र अवधारणाले अहिले झन् महत्व राख्छ । सामुदायिक वन योजना र कार्यक्रम यसै अवधारणामा मौलाइरहेको देख्छु । नेवार समुदायले यसै दिन म्हपूजा ‘आत्मपूजा’ गर्छन् । गोबरबाट पहाडको सानु आकार तयार गर्छन् । त्यसमा ससाना हरिया हाँगाबिँगा जडेर गोवर्धन पुज्छन् । गोबरे पहाडको आकार बिम्बबोधक हुन्छ । तिनमा जडे, घुसारिएका हरिया डाली जंगलका बिम्बबोधक बन्छन् । जे होस, यी प्रसंग तिहार चाडको चौथो दिनका प्रसंग हुन् ।
तेस्रो दिनको पर्व झन् गरिमामय छ । गरिमामय यसनिमित्त बन्छ कि यो निस्लोड अन्धकारमय रातलाई झलमल्ल पारिन्छ । जताततै बत्ती चहकिएको हुन्छ । औँसीको अँध्यारो रात यति उज्यालिएको हुन्छ कि कुनै वस्तु त्यतिन्जेल ओझेलिएको हुन्न । झलमल्ल पारिएको औँसीको रात पुजिनेरआराधना गरिने देवी लक्ष्मी नै बन्छ । लक्ष्मी धनधान्यशाली हुन् । कृषि धन भन्नु धान नै त हो । धनधान्य शब्दको मर्म कृषि पैदावारका मुख्य बाली धानबाट जीवन धान्ने अर्थमूलक बन्छ । त्यसैले, धान, गहुँ, केराउ, चामल र मास अन्न चढाइन्छ, लक्ष्मी आराधनामा । यी पञ्च धान्य परिकारले पञ्चतत्वमूलक अर्थ विन्यास गर्छ ।
औँसीको रात उपासना गरिने लक्ष्मीका दुई वाहन लाटोकोसेरो र ख्याक मानिन्छन् । ख्याक कालो डल्लो भुत्लाधारी मांसपिण्डे जन्तु ठानिन्छ । एक शताब्दी जीवन व्यतीत गर्नुभएका स्वर्गीय पिताजी भन्ने गर्नुहुन्थ्यो– ख्याक भकुन्डोजस्तै र जत्रै डल्ले भुत्ले जीव हो । तिनका पाउ हुन्नन् । गुडुल्किन्छ मात्र । भकुन्डोझँै स्वस्फूर्त गुड्छ । मस्त सुतेका वेला गुड्दै आङमाथि चढ्न आउने । खुट्टातिर ढकेल्छ कहिले । त्यही मौकामा भकुन्डो ठानेर लत्याएँ । अब यी सब दन्त्यकथाझँै किंवदन्ती बनिसके । ख्याक लक्षणका भकुन्डे प्राणी रातमा मात्र आउने निशाचर रहेछन् । उपयुक्त परिवेश र वातावरणको अभावमा डायनासरजस्तै ख्याक पनि लोप भइसके ।
लक्ष्मीको अर्को वाहन लाटोकोसेरो हो । लाटोकोसेरोलाई हाम्रो संस्कारले निको प्राणी ठान्दैन । यसलाई बकुल्लो भगत भनिन्छ । ‘ताकपरे तिवारी नत्र गोतामे’ उखानको पृष्ठपोषक भनिन्छ यसलाई । यसले वास बसेको चरोलाई गुँडबाटै लुछेर लान्छ । आफ्नो आहारा बनाउँछ । यो उज्योलोमा देख्न सक्दैन । अन्धकार यसको साम्राज्य बन्छ । यसको आकृति अजीवको छ । सिंगो टाउको स्प्रिङको सहाराले चल्ने लंगुरझैँ लुकलुक लिकलिक गर्छ । एउटा संस्कारले नचाहेका सबै वस्तु अरुचिकर रहन्न । अर्को संस्कृतिलाई उस्तै रहन्न । यो निशाचर लाटोकोसेरो चरोलाई अमेरिकीहरू नितान्त शालीन अनि बुद्धिमान पक्षी मान्छन् । लिकलिक लुकलुक गर्ने घाँटी र टाउको लाटोकोसेरोको बुद्धिमतापूर्ण चाल ठान्छन् उनीहरू । गाईमाथिको धारणा पनि यस्तै त हो नि, सांस्कृतिक अन्तरविभेद यस्तै हुँदो रहेछ । हामी भने गाई पुज्छौँ ।
विश्वभरि नै दाजुभाइ, दिदीबहिनीको सम्बन्ध, रक्तसम्बन्ध र कुटुम्ब धारणागत संस्कार एक समान रहेका छन् । एकै धारणा र मान्यताका आधार पैतृक तथा मातृ स्रोत नै रहेका छन्, विश्वजनित रूपमा । तैपनि, हामी हिमवत् खण्डका चेतहरू भने दाजुभाइ अनि दीदीबहिनीका भ्रातृ–भगिनी सम्बन्धलाई भाइटीका पर्व मानेर मनाएर सौहार्द बनाउँछौँ । लाग्छ, सौहार्दता अनुपम मानवीय चेतका शिखरबिन्दु बनेको छ । दाजुभाइ निधारमा सप्तरंगी टीको टालेर सूर्यकिरणका सातै रङ–रस प्रत्यावर्तन गर्छन् ।
भाइटीकाको चाडपर्वीय मनोविज्ञानसम्मत धरातल गहिरो छ, रसिलो छ, पोसिलो छ । गहिरो यस निमित्त छ कि यसले मनै छुने भावलोक प्रदान गर्छ । मन छुने भावना गम्भीर हुन्छ । दाजुभाइ दिदीबहिनीबिचको आपसी भ्रातृ–भगिनी सम्बन्ध रसमय छ, बनाइदिन्छ, यस चाडपर्वले । भाइटीकाको पोसिलो पक्ष सामाजिक संस्कार मण्डित छ । संस्कारयुक्त व्यवहार जीवन र जगत्कै पोषणतत्व बन्छ, ठहर्छ । भाइटीकाको गहिरो पक्षलाई दिदीबहिनीले दाजुभाइको सम्मानित, सुस्मित पूजा गर्ने स्थानमा आफ्नैसामु बनाइने, पानी, तेल, पोताय ९चामलको पिठोमा बेसारले रंगाएको० अबिर, सावा, जजंका ९वाटेको काँचो धागो० फूलले सिँगारिएको मण्डप भनूँ, मण्डलले अथ्र्याउँदो छ । अझ यसलाई झलमल्ल पार्ने काम मण्डपका घेराव्यापी लामालामा तैली–सलेदो प्रज्ज्वलन प्रथाले उजिल्याउँछ । दीप दीपै हो । त्यसमाथि तेलमा भिजाएको सलेदो बल्दै फैलाउने शुद्ध तोरीको तेलको धुवाँले आँखालाई औपचारिक गुण गराउनु पोषणका अनेकमध्येको एक पक्ष पक्कै हो । यो पोषण प्रक्रिया आयुर्वेदसम्मत संस्कार ठान्छु । आयुर्वेद जीवन आयु बढाउने मान्त्रिक संस्कारयुक्त स्वास्थ्य विज्ञान मान्छु ।
दीदीबहिनीले उपहार गर्ने ताजा फल, सुकेफल, सेलरोटी, कपडा आदि नितान्त शुभेच्छायुक्त स्वस्थ दीर्घायु कामनाका सर्जाम ठहर्छन् । भाइटीका मात्र दिदीबहिनीबाट प्रदान हुने गरिने शुभेच्छायुक्त शारदीय चाड रहन्न । दीदीबहिनीप्रति दाजुभाइले दर्साउने शुभेच्छाको आदान–प्रदान पर्व र चाड पनि हो । दिदीबहिनीलाई दाजुभाइले कपडा, नगद, फलफूल, सेलरोटी सबै मिलाएर प्रत्युत्तरमा स्नेह र सम्मान साटासाट गर्छन् । भाइटीका दिदीबहिनी टीका पनि रहेको छ । यो एकोहोरो चाड होइन । दोहारै चाड हो । दाजुभाइले दीदीबहिनीका निधारमा टीकाटाला गर्छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ ०७:५४