सिमकोट । नेपालीहरुको महान चार्ड दशैं सकिएर तिहार शुरु भएसँगै कर्णालीका किसान खेतबारीमा लगाएको बाली भित्र्याउने चटारोमा छन्।
माथिल्लो हुम्लामा गाईवस्तु जथाभावी छोड्न नपरोस् भनेर किसान बाली चाँडै भित्र्याउने चटारोमा छन्। जिल्लाको मध्ये र तल्लो क्षेत्रका किसानले यसपाली दसैँ चाँडै परेकाले बाली थन्क्याउन सजिलो भएको अनुभव गरेका छन्।
हुम्ला लगायत कर्णाली प्रदेशको मुगु, जुम्ला, कालिकोट, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, दैलेखका किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन्।
दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ। हिमाली क्षेत्रका किसानले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन्। उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सर्केगाड ८ रोडिकोटमी बाँचकली जैशीले बताइन् । दसैँ अवधिभर यहाँका किसानले सबै बालीनाली घरमा भित्र्याइ सकेका छन्। अब घाँस काट्न मात्रै बाँकी रहेको भनाई जैशीको छ ।
जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन्। माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ। चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी प्रगति रोकायाले बताए। समयर्म बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताए।
यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ। बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ। कामको चाप दसैँ सकिए लगतै बढेको छ। बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट–२ की गौरी बोहराले बताए।
“पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौँ। ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ”, मुगुको शोरु गाउँपालिका ३ बैनागाउँका रामु कार्मीले नेपालवोटसँग भने ठूला चार्डको लहरसँगै बाली भित्र्यमउने कामको चटारो शुरु हुने गर्छ । त्यसैले हामीलाई वर्षभरी खाने बाली भित्र्याउने कामकै बिचमा दशैं तिहार मनाउनु पर्ने बाध्यता छ ।'
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ ०८:२५