हस्त बुढा
जुम्ला २२ मंसिर । पुल साढे तीन वर्षमा दुई पिल्लर मात्रै बनेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर जुम्लाको तिला नदीमाथिको पक्की पुल त्यस्तै भएको छ ।
निर्माण शुरु भएको साढे तीन वर्षमा दुुई पिल्लर मात्रै बनेको तिला गाउँपालिका स्थित तिला नदीमाथिको पक्की पुल अहिले अलपत्र परेको छ ।
निर्माण शुरु भएको २३ महिनामा सम्पन्न गर्ने गरी २०७३ साल असार ५ गते काम थालिएको पक्की पुल अहिलेसम्म निर्माण भएको छैन । ठेक्का अवधि सकिएको १८ महिना बितिसक्दा पनि पुलका दुईवटा पिल्लर मात्रै निर्माण भएर काम रोकिएपछि पुल अलपत्र परेको हो ।
तत्कालिन जिल्ला प्राविधिक कार्यालयले हिराचन्द अञ्जली जेभी पुतली सडक काठमाडौसँग २०७५ जेठ मसान्तमा पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर शुरुमा ३ करोड ९६ लाख ८० हजारबाट निर्माण थालिएको उक्त पुलको काम बीचमै रोकिएपछि कहिले बन्ने हो भन्ने बारेमा अनिश्चित बनेको तिला गाउँपालिका स्थानीय शान्तिनाथ योगीले जानकारी दिए । उनले भने, ‘अहिले पुलको रेखदेख गर्ने जिम्मा प्रदेशको भौतिक पूर्वाधार कार्यालयले मातहत गएको भए पनि पुलको निर्माण कार्य कहिले सकिने हो भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।’
तर भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाका योजना अधिकृत लक्ष्मणप्रसाद पाण्डेले पुलको ठेक्का सम्झौताको म्याद सकिएकाले म्याद थप्ने प्रक्रियामा रहेकाले केही अन्यौलता जस्तो देखिएको बताए । ‘संघीयता पछि कार्यालय फेरबदल पनि विकास निर्माणका काम प्रभावित भएको साँचो हो ।’ योजना अधिकृत पाण्डेले भने, ‘पुल निर्माणका लागि गतवर्ष ४७ लाख बजेट आएको थियो यस्तै अन्योलताले कामै नभएर बजेट फ्रिज भयो । तर यो वर्ष अहिलेसम्म कुनै बजेट आएको छैन ।’
तिला गाउँपालिकाको त्रिवेण–ताम्ती–टोप्ला हुदै जाजरकोट–छिन्चु–सुर्खेत जोड्ने सडक अन्तरगत उक्त पक्की पुल निर्माण हुन थालेको हो तर अहिले पुल कहिले कसरी निर्माण सम्पन्न हुने हो भन्ने अवस्था अन्योल भएपछि समयमा पुल नबन्दा अहिले त्यो सडकमा सवारी साधान सञ्चालनमा आउन नसकेको तिला गाउँपालिका–३ का वडा अध्यक्ष सिंहबहादुर बुढाले बताए । उनका अनुसार पुल अलपत्र परेपछि तिला गाउँपालिकाको केही वडा र तातोपानी गाउँपालिकाका ७ र ८ नम्बर वडाका स्थानीय यातायातको पहुँचभन्दा बाहिर रहेका छन् ।
समयमा पुल नबनेपछि गाउँका बिरामी र सुत्केरी महिलालाई स्वास्थ्य चौकी आवतजावत गर्नसमेत समस्या परेको ताम्ती स्वास्थ्य चौकी इन्चार्ज भूपेन्द्र पाण्डेले बताए । ‘तातोपानी गाउँपालिकाका ७ र ८ का स्थानीयलाई हिडेर स्वास्थ्य चौकी आउन ४/५ घण्टा लाग्छ ।’ पाण्डेले भने, ‘पक्की पुल बन्न शुरु नगरिएको भए स्वास्थ्य चौकी आउन अन्य विकल्प हुन्थ्यो तर साढे तीन वर्ष पुग्दा पनि न त पक्की पुल बन्यो न अन्य विकल्प नै तयार भयो ।’
लामो समयसम्म पुल नबन्दा सवारी साधन सञ्चालनमा समस्या भएकोले बिरामीलाई स्वास्थ्य चौकी लिन र ल्याउनमा निकै समस्या भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । ‘ठूला आयोजना सम्पन्न गर्न हाम्रो (गाउँपालिकाको) बजेटले पुग्दैन ।’ उनले भने, ‘यो पुल केन्द्रबाट आएको बजेटको ठूलो हो । निर्माण शुरु भएको यत्रो समय भैसक्यो । तर पनि पुल निर्माण भएको छैन ।’